Apr 27, 2024 | १५ बैशाख २०८१

पर्दापछाडिका हिरो : न नाम, न दाम

स्वेच्छा राउत/पहिलोपोस्ट

आनन्द बहादुर मगर। नेपाली फिल्म निर्माण युनिटहरुका लागि 'नन्दु'। ३० वर्ष भयो उनले नेपाली फिल्महरुको सुटिङ युनिटमा 'स्पट ब्वाय'को काम गरेको। सङ्ख्यामा गन्दा सयभन्दा बढी फिल्ममा काम गरे। ठ्याक्कै कति? उनले हिसाब राखेकै छैनन्। आफू पनि पर्दामा देखिएका केही फिल्महरु सम्झन्छन् र औंला भाँच्दै भन्छन्- दर्पणछायाँ, करोडपति, सक्कली नक्कली, छोरी...
 
नन्दु मगर सुनाउँछन्,'भर्खर हलमा लागेको फिल्म दर्पणछाँया दुईमा त लामै रोल छ।'
 

स्पटम्यान बनेरै आफूले नाम, दाम र सन्तुष्टि कमाएको उनको दाबी छ। दाम? कति ?? २८ वर्ष लामो यात्रा। फिल्म स्पटब्वायबाट स्पटम्यान बने। तर, उनले सबैभन्दा ठूलो रकम बुझेकै २५ हजार।

फिल्मको सानोतिनो भूमिकामा देखिन पाउनुको खुशी एउटा ठाउँमा छ। उनको मुख्य काम भने अभिनय होइन। सुटिङ स्पटमा सामान ओसारपसार गर्नु, खाना खाजा सर्भ गर्नु यस्तै-यस्तै जति पनि सानातिना कामहरु हुन्छन्, ती सबै उनको जिम्मेवारीमा पर्छन्।

काम गर्दागर्दै कुनै सानो भूमिकाको लागि पात्र भेटिँदैनन् र पर्दा पछाडिका अन्य क्रुले फिल्ममा देखिने मौका पाउँछन्। त्यसैमा रमाउँछन् नन्दु जस्ता पात्र।
 
भन्छन्,'डाइरेक्टर, प्रोड्युसर सरहरुले मलाई जति माया अरु कसैलाई गर्नु हुन्न। राम्रो एक्टिङ त जान्दिन तर पनि फिल्म खेलाउनु हुन्छ।' 
स्पटम्यान बनेरै आफूले नाम, दाम र सन्तुष्टि कमाएको उनको दाबी छ। दाम? कति ??
 
उनकी श्रीमतीले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्,'पैसाभन्दा ठूलो इज्जत हो। फिल्म बनाउनेदेखि खेल्ने सबैले उहाँलाई माया गर्नुहुन्छ।'
 
२८ वर्ष लामो यात्रा। फिल्म स्पटब्वायबाट स्पटम्यान बने। तर, उनले सबैभन्दा ठूलो रकम बुझेकै २५ हजार। २०७३ मै दुबईमा सम्पन्न भएको नेफ्टा अवार्ड सम्झँदै भन्छन्, 'म काम गरेर कमाएको पैसा लिँदा पनि औंठाछाप गर्नपर्ने अनपढ मान्छेलाई दुबई लानु भयो। सम्मानस्वरुप २५ हजार दिनुभयो। त्यो बेला कति खुसी भएँ बखान गर्नै सक्दिन।'

आफूले पाएको मायाकै कारण लामो समय फिल्म उद्योगमै बिताएको बताउँछन् उनी। 'सुरुमा पैसा नकमाइनुले असंन्तुष्ट बनायो पछि मान्छे कमाउनुले खुसी दियो।'
 
२०३७ सालदेखि नेपाली फिल्म निर्माण युनिट, कलाकारदेखि अन्य टेक्निसियनलाई खाना खुवाउँदै आएका अर्का पात्र हुन् कुलबहादुर महत। उनले पनि नेफ्टा अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड पाए।
 
६० वर्षीय महत सो खुशी शब्दमा यसरी व्यक्त गर्छन्,'हामी खाना बनाएर खुवाउनेले पनि कलाकार सरहै विदेश जान पायौं।' 

कालिम्पोङमा फिल्म 'बाँसुरी'को सुटिङ हुँदै थियो। निर्देशक तुलसी घिमिरेले सुटिङ युनिटका लागि खाना बनाउने नयाँ मान्छे खोज्दै थिए। बेरोजगार भएकाले सुटिङ हेरेरै समय बिताउने कुलबहादुर महतसँग घिमिरेको भेट भयो। 'हिरोहिरोइनका लागि खाना पकाउने भनेको सुन्दै दङ्ग परेँ।'
 
न कुनै ट्रेनिङ, न ठूलो समूहलाई पकाएर दिने ज्ञान। तर पनि त्यहीबाट उनको 'कुक' यात्रा सुरु भयो। त्यसपछि कालिम्पोङ र वरपर हुने सुटिङमा उनी फाईफुई गर्दै खाना बनाउन थाले। केही समयपछि अन्याय फिल्म युनिटसँगै काठमाडौं आएका  उनी 'जेठा दाइ' भए। त्यसयता सयौं फिल्ममा उनको नाम 'भान्से' भनेर देखियो। 

'सँधै जस पाइँदैन। सबैले मिठो मानेर खाइदिंदैनन्', उनी अनुभव सुनाउँछन्,'मिठो भनेर तारिफ गर्नेहरुपनि धेरै हुनुहुन्छ। र त यत्रो वर्ष काम गरें।' 

यो क्षेत्रमा पैसा भने एक्लो ज्यान पाल्न सक्ने मात्र कमाइने उनको अनुभव छ। मिहिनेत धेरै गर्न परेर पनि पुग्दो कमाउन नसकेको सुनाउँछन्। 

'तर पनि गुनासो केही छैन। मिठो मसिनो खान पुगेकै छ। एक्लो ज्यान किन पर्‍यो धेरै कमाउन', उनी सकारात्मक बनेर प्रस्तुत भए। 
 

सुरुसुरुमा हिरो, हिरोइन, क्यामेरा देख्दा निकै रमाएर काम गरे। 'तर हिरो हिरोइन नाम कमाएर माथि पुग्दा हामी जहीको त्यहीँ', उनी आफ्नो कुरा यसरी राख्छन्,'ड्रेसम्यान त बनियो तर भविष्य बनेन।'

फिल्म निर्माण युनिटदेखि कलाकारसम्मले 'जेठा दाइ' नचिन्ने कमै होलान्। 'यही सम्बोधनले मलाई नेपाली फिल्म लाइनसँग निकट बनायो', काम गरेको सबै फिल्म नहेरे पनि फिल्महरु बारे बताए,'जुन हिरोहिरोइनलाई खाना बनाएर खुवाउँछु उनीहरुको फोटो पोस्टरमा देख्दा आफ्नो मान्छे देखेजस्तै हुन्छ।' 

भान्से जेठा दाइ र स्पटम्यान नन्दु हिरो हुन् पर्दा पछाडिका। पर्दामा पनि देखिए दुबैजना तर केही सेकेन्डको दृश्यमा न उनीहरुको मिहिनेत देखाइयो, न पसिना। त्यसैले दर्शकले यी पात्रलाई  चिन्ने वा सम्झने मौका पाएनन्।

करार एेन, २०५६ अन्तर्गत यी पात्रहरुले फिल्म निर्मातासँग कामको सम्झौता गर्छन्। केही वर्षअघिसम्म बढीमा ६० घटीमा ५० दिनमा सुटिङ सकिन्थ्यो। अहिले ४० र ४५ दिनमा प्याकअप हुने गरेको बताउँछन् निर्माता माधव वाग्ले। वाग्लेका अनुसार कुक, स्पटम्यान, लाइट्स म्यान, ड्रेसम्यान लगायत सम्पूर्ण टेक्निसियनसँग निर्माताको कन्ट्र्याक्ट हुने गरेको छ। 'कागजमा तोकिएको सुटिङ अवधि, रकम र नियम अनुसार काम गर्ने हो', वाग्लेले जानकारी दिए। 

सुटिङ अवधिभर दैनिक सेटमा पुग्ने र सबैले आ-आफ्नो जिम्मेवारीको काम गर्ने। छायाङ्कन सकिएपछि पैसा बुझ्ने र पुनः अर्को छायांकनस्थललाई आफ्नो कार्यालय बनाउने, यति लामो अवधिसम्म उनीहरुले गर्दै आएको काम यसरी नै हो। 

पर्दा पछाडि रहेर काम गर्नेको स्तर र जीवनशैलीमा भने परिवर्तन नआएको महसुस गर्छिन् मेकअप आर्टिस्ट विपना थापा बस्नेत। 

पर्दामा हिरो हिरोइनलाई चिटिक्क बनाएर प्रस्तुत गर्ने मेकअप आर्टिस्टहरुको जीवनको रङ्ग नमिलेको पाटो बारे बोलिन् उनी। भन्छिन्, 'कलाकारहरुको रेट ह्वात्तै बढ्यो, तर हामी नदेखिई फिल्ममा काम गर्नेहरुले न नाम कमायौं, न दाम।' 

केही सेकेन्डको सानोतिनो भूमिकामा अभिनय गर्ने अवसर त उनले पनि पाइन् तर चिनिने अवसर पाइनन्। 

असन्तुष्टि यसरी व्यक्त गरिन्,'हाम्रो कामको मूल्याङ्कन नै हुँदैन। स्क्रिनमा देखिनेहरुको मात्र मूल्याङ्कन हुन्छ। परिश्रम त हामीले ज्यादा गर्नुपर्छ। तर यो कुरा नेपाली फिल्म इन्डस्ट्रीमा बुझ्ने निकै कम छन्।' 

२०५३ सालदेखि फिल्म उद्योगमा काम गरेकी उनलाई ब्याकस्क्रिन काम गर्नेहरुको कमाईसँग हो चित्त नबुझेको। विपनाले भनेको 'मूल्याङ्कन' शब्दले सायद व्यवसायिक मूल्याङ्कनको अर्थ राख्छ। उनका अनुसार मेकअप, लाइट्स, स्पट, भान्सा, ड्रेस, संगीत, क्यामेरामा काम गर्नेले मेहनत अनुसारको रकम पाउँदैनन्।

२० वर्ष अगाडिको समय र अहिलेको अवस्था तुलना गर्दै भनिन्,'२० रुपैंया किलोमा आउने चामल ८० र ९० पर्ने भयो। तर हामी ब्याकस्टेज क्रुको कमाई उस्तै रह्यो। हिरो हिरोइनलाई ५०% बढी रकम बढाउँदा पनि हाम्रो कमाई ५%, १०% ले बढ्यो।' 

केही सेकेन्डको दृश्यमा न उनीहरुको मिहिनेत देखाइयो, न पसिना। त्यसैले दर्शकले यी पात्रलाई चिन्ने वा सम्झने मौका पाएनन्।


अभिनेत्री रिश्ता बस्नेतकी आमा हुन् विपना थापा बस्नेत। पहिले त रिश्तालाई आमा फिल्म युनिटका लागि मेकअप आर्टिस्ट भन्न गर्व महसुस हुन्थ्यो। तर आफू स्वयं सेटमा पुगेर फर्कन थालेपछि रिश्ताले आमालाई काम छोड्न लगाइन्। 

भनिन्,'कमाईको के कुरा गर्नु, सम्मान नै नहुँदो रहेछ।'

छोरीले नै चित्त नबुझाएपछि विपनाले पनि अभिनय अङ्गालिन्। उनी नक्कली हिसिला यमी बनेर चर्चित टेलिसिरियल तीतो सत्यमार्फत् देखिएपछि मेकअपको काम पूरै छोडेर स्टेज कार्यक्रममा व्यस्त रहन थालिन्।
 
भन्छिन्,'अभिनय गर्नेलाई धेरै फाइदा होला भन्ने सोच्थें मात्र। तर आफै अभिनयमा होमिएपछि कन्फर्म भयो पहिचान र पैसा दुबै हिसाबले टेक्निसियनलाई भन्दा कलाकार धैरै फाइदा।'
 

फिल्म सुटिङ सुरु भएदेखि सेटमा काम गर्ने उनीहरुको नाम फिल्मको पर्दामा त्यतिबेला मात्र देखिन्छ, जतिबेला दर्शकलाई हलको सिटबाट उठेर घर फर्कन हतार भइसकेको हुन्छ।

कलाकार र अन्य ब्याकस्टेज क्रुको फिल्म बन्न सबैको उत्तिकै आवश्यकता हुन्छ। सबैले आ-आफ्नो काम गर्नै पर्छ। तर सबैलाई उस्तै सम्मान र मेहनत अनुसार कमाई होस् भन्ने उनको मान्यता रहेको छ। 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पहिलोपोस्टसँग भने,'हामी फिल्मका हरेक क्रुलाई समान व्यवहार होस् भन्ने चाहन्छौं त्यही अनुरुप प्रावधानहरु बनाउदैछौं।'
 
उनले हरेक टेक्निसियनको बिमा गराउनका लागि काम भइरहेको जानकारी समेत दिएका छन्। 

ड्रेसम्यान भोजराज पौडेलको २२ वर्ष लामो फिल्म उद्योगको यात्रा पनि चित्त बुझ्दो रहेन। चिनो, झुमा, दर्पणछाँया १,२, आफ्नो मान्छे जस्ता फिल्ममा काम गरेका उनी सुरुसुरुमा हिरो, हिरोइन, क्यामेरा देख्दा निकै रमाएर काम गरे। 'तर हिरो हिरोइन नाम कमाएर माथि पुग्दा हामी जहीको त्यहीँ', उनी आफ्नो कुरा यसरी राख्छन्,'ड्रेसम्यान त बनियो तर भविष्य बनेन।'
 

'हाम्रो कामको मूल्याङ्कन नै हुँदैन। स्क्रिनमा देखिनेहरुको मात्र मूल्याङ्कन हुन्छ। परिश्रम त हामीले ज्यादा गर्नुपर्छ। तर यो कुरा नेपाली फिल्म इन्डस्ट्रीमा बुझ्ने निकै कम छन्।'

हरेक दिन सुटिङमा पुग्नु लुगा आइरन गर्नु, रोल र सिन अनुसार लुगा मिलाउनु, छुट्याउनु, खोजेर दिनु र सम्हालेर राख्नु। यही जिम्मेवारी वरिपरी उनको दुई दशक बित्यो। केही निर्माताले समयमै भनेजति पैसा दिने तर केहीले समयमा नदिने, दिएपनि भनेजति नदिने। धेरै यस्ता अस्तव्यस्तता महसुस गरे पौडेलले फिल्म उद्योगमा।

तर पनि कुनै काम सुरु गरेपछि छोड्न गाह्रो हुने उनको विचार छ। भने,'दर्शकले पो हाम्रो दु:ख, अनुहार केही देख्दैनन्। फिल्म क्षेत्रकाले त देखेका हुन्छन्। फेरि काम, अवसर दिने उनीहरुनै हुन्छन्।'
 
नन्दु, जेठा दाइ, विपना र भोजराज यी सबै फिल्म उद्योगका पर्दा पछाडि काम गर्ने क्रुको प्रतिनिधी पात्र हुन्। बाहिर देखिदैनन् तर देखिनेहरुमा यिनीहरुको मेहनत मिसिएको हुन्छ। कमाउनकै लागि आआफ्नो काममा रमाएका छन् यी पात्र। खुला चौर, कृत्रिम सेट, सुन्दर ठाउँहरु उनीहरुका लागि 'अफिस' हो। 

फिल्म सुटिङ सुरु भएदेखि सेटमा काम गर्ने उनीहरुको नाम फिल्मको पर्दामा त्यतिबेला मात्र देखिन्छ, जतिबेला दर्शकलाई हलको सिटबाट उठेर घर फर्कन हतार भइसकेको हुन्छ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell