PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एएफसी एसिया कप छनौट : फिलिपिन्सलाई उसैको मैदानमा स्तब्ध पार्ने नेपालको लक्ष्य



एएफसी एसिया कप छनौट : फिलिपिन्सलाई उसैको मैदानमा स्तब्ध पार्ने नेपालको लक्ष्य

काठमाडौं : एएफसी एसिया कप २०१९ को अन्तिम चरणको छनौट अन्तर्गत पहिलो 'अवे' म्याच खेल्न नेपाली राष्ट्रिय फुटबल टीम भोलि शनिबार फिलिपिन्स प्रस्थान गर्दैछ। 

समूह 'एफ'मा नेपालले फिलिपिन्ससँग उसैको घरेलु मैदान मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा खेल्दै छनोटको यात्रा थालनी गर्नेछ।
पछिल्लो तीन मैत्रिपूर्ण खेलमा फिलिपिन्सलाई हराउन नसकेको नेपाली टोली यसपटक अनपेक्षित नतिजा ल्याउने तयारीका साथ जाने प्रशिक्षक र कप्तानले बताएका छन्। 

नेपाली टोलीमा मुख्य प्रशिक्षक ग्योतुकु कोजीले यस लेभलमा नेपालले गेम खेल्न पाउनु नै ठूलो विषय रहेको बताएका छन्। 'ठूलो टीमसँग खेल्नु गौरवको कुरा हो, सिक्ने मौका पाउँछौ, राम्रो टीमसँग खेल्दा स्तर वृद्धि हुन्छ,' जापानी मूलका प्रशिक्षक कोजीले भने, 'हामी शतप्रतिशत फिट छौँ भन्दिनँ तर जतिसक्दो मेहनत गरेर जित्नु नै हाम्रो मुख्य लक्ष्य हो।'

कोजीले सम्हालेका पहिलो प्रतियोगितामा नै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। र, उक्त उपाधि नै नेपाललाई एसियन कप छनोट खेल्ने खुड्किलो बनेको थियो।

यस्तै सहायक प्रशिक्षक राजुकाजी शाक्यले सकेसम्म फिलिपिन्सलाई जित्ने नभएपनि एक अंक हासिल गर्ने रणनीति रहेको बताए।

'हाम्रो टार्गेट थ्री एण्ड वन नै हो। पछिल्लो एक साताको तयारी हेर्दा खेलाडीहरुमा निकै परिवर्तन देखिएको छ। उनीहरुमा कन्फिडेन्स पनि देखिन्छ,' शाक्यले भने, 'गेम हो जे पनि हुन सक्छ त्यो दिन जसको भाग्य छ उसैले जित्न पनि सक्छ।'

शाक्यले फिलिपिन्सको कमजोरी पत्ता लगाएर आफ्नो रणनीति बनाउँदै मैदानमा उत्रने पनि बताए। 'होस्ट भएकोले उनीहरुले रणनीति परिवर्तन गर्न सक्छन्, हामी पनि उनीहरुको कमजोरीलाई मुख्य हतियार बनाउनेछौं।' 

उनले यो माथिल्लो लेभलको प्रतियोगिता भएपनि आफूहरु नडराएको प्रतिक्रिया दिए। 

'हाम्रो सर्ट पासेसहरु राम्रो छ, त्यसैलाई राम्रोसँग प्रयोग गर्न सके सफल हुन्छौं। यस्तै सुरुमा एक फरवार्ड राखेर खेले पनि बल पाउँदा तीन जना अगाडि बढेर अट्याकिङ गेम खेल्छौं,' नेपालको स्ट्राटेजीबारे उनले भने।

नेपाल नियमित कप्तान अनिल गुरुङ र मुख्य फरवार्ड नवयुग श्रेष्ठ बिना नै फिलिपिन्स जाँदैछ। उनीहरुको अनुपस्थितिमा कर्ण लिम्बुले टोलीमा स्थान बनाएका छन्। उनको लागि यो आफूलाई प्रमाणित गर्ने अवसर पनि हुनेछ।

अनिलको अनुपस्थितिमा नेपालको आर्मब्याण्ड सम्हाल्न लागेका कप्तान विराज महर्जनले सेट प्लेयरहरु नहुँदा केही मात्रामा प्रभाव पर्ने बताए, 'अलिकति अप्ठ्यारो त पर्छ नै तर हामीसँग जे छ त्यसैलाई प्रयोग गरेर अगाडि बढ्छौं। कसरी हुन्छ उत्कृष्ट खेल खेल्ने र राम्रो रिजल्ट ल्याउने हाम्रो मुख्य लक्ष्य हो।'

महर्जनले डिफेन्स बलियो बनाउँदै अट्याक गर्ने बताए। उनले यस पटकको तयारी पर्याप्त नभएपनि छोटो समयमै धेरै कुरा सिकेर मोफसलको टुर्नामेन्टहरुले पनि सहयोग पुर्याएको प्रतिक्रिया दिए।

कप्तान महर्जनले यसअगाडि पनि फिलिपिन्ससँग खेलिसकेका कारण नेपालको अन्तिम लक्ष्य जित नै हुने बताए।

यसअघि उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद साग गेम्समा फुटबलतर्फ स्वर्ण जितेको थियो।

नेपालको लागि एसियन कप छनोट एउटा उत्कृष्ट अवसर भएको र यो लेभलमा खेल्न पक्कै पनि सजिलो नहुने उनले राम्रोसँग बुझेका छन्।
यता बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले पनि विपक्षी टीम उच्च स्तरको भएकै कारण नेपालले पनि उच्च लक्ष्य लिनुपर्ने बताएका थिए। 'निश्चय नै विपक्षी हामी भन्दा राम्रा छन्, उनीहरु ठूलो टीम भनेर डराउने होइन कि हामीले एउटा प्रतिद्वन्दीकै रुपमा लिनुपर्छ र चुनौती दिनुपर्छ।'

गत वर्षदेखि नै एन्फाले राष्ट्रिय टीमलाई कम्तिमा महिनाको एउटा मैत्रीपूर्ण खेल खेलाउने योजना बनाएको थियो तर त्यो पुरा हुन सकेन। अध्यक्ष श्रेष्ठले पनि विविध कारणले गर्दा मैत्रीपूर्ण खेल खेलाउन नसकेको स्वीकारे। 

'तर पनि हाम्रो तयारी जारी रहनेछ। यसपछि पनि हाम्रो खेलहरु हुनेछन्। त्यसैले हामी अर्को खेलअगाडि निश्चय नै मैत्रिपूर्ण खेलहरुको अवसर मिलाउनेछौं।' 

यता युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले नेपाली टोलीलाई शुक्रबार एन्फा कम्प्लेक्समा बिदाइ गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु विश्वस्त रहेको बताए। 'खेलमा हार जित हुन्छ नै, तर खेलाडीले देशको प्रतिष्ठाको लागि निडर भएर खेल्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell