PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

२१ हजार जनालाई निर्वाचन आयोगले दिँदैछ एक महिनाको  रोजगारी



रमेश वाग्ले

२१ हजार जनालाई निर्वाचन आयोगले दिँदैछ एक महिनाको  रोजगारी

काठमाडौँ : आसन्न स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले २१ हजार जनालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा रोजगारी दिने तयारी गरेको छ। 

मतदाता शिक्षा कार्यकर्तामा सामाजिक परिचालक, पूर्वप्राथमिक विद्यालयका शिक्षक, निम्नमाध्यामिक विद्यालयका शिक्षक, एसएलसी उत्तीर्ण मातृ स्वास्थ्य कार्यकर्तालाई प्राथमिकतामा राखिनेछ। तिनीहरुबाट नपुग भएमा शिक्षित युवालाई परिचालनको तयारी आयोगले गरेको छ। 

शिक्षित बेरोजगार यति धेरै हुँदाहुँदै किन त रोजगार भएकाहरुलाई नै थप रोजगारी? निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल भन्छन्, 'त्यसरी परिचालित हुने मतदाता शिक्षा कार्यकर्ता भनेका निर्वाचन आयोगका स्थानीय प्रतिनिधि हुन्। गल्ती गरे भने त आयोगले नै गल्ती गरेको ठहर्छ।' 

त्यही कारण कुनै जिम्मेवारीमा रहेका र आयोगले चाहेका बेला कारबाहीको दायरमा ल्याउन सक्ने व्यक्ति छनौट गर्नुपरेको उनलले बताए। 
'आयोगका आयुक्त र कर्मचारीहरु मतदान केन्द्रसम्म पुग्न सम्भव हुँदैन, त्यसैले मतदाता शिक्षा कार्यकर्ताहरु नै आयोगका प्रतिनिधि हुन्' अर्यालले भने।

के हुन्छ काम ?

मतदाता शिक्षा कार्यकर्ताका रुपमा भर्ना हुने ती युवाको काम प्रत्येक मतदान केन्द्रमा पुगेर त्यस केन्द्रभित्रका मतदातालाई मतदानका विषयमा प्रशिक्षण दिने हुनेछ।

आयोगमार्फत् भर्ना हुने मतदाता शिक्षा कार्यकर्ताले प्रत्येक मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिनुपर्ने हुन्छ। 

उनीहरुले प्रचार सामग्री तथा पोस्टरहरु टाँस्ने, स्थानीय तहमा मतदाताहरुलाई भेला गरेर तथा घर घरमा पुगेर मतदान गर्ने तरीका, उम्मेदवारहरुको प्रतिनिधित्व, मतदाताले उम्मेदवार छान्ने तरिका तथा भोट रद्द हुने र नहुने अवस्थाका विषयमा बुझाउने छन्। उनीहरुले भोटको महत्वबारे पनि नागरिकहरुलाई प्रशिक्षित गर्दै भोटको दुरुपयोग भएमा त्यसले ल्याउने गम्भीर परिणाम विषयमा नागरिकलाई सचेत बनाउनुपर्ने छ। 

कार्यअवधि कति?

आगामी चैत २८ गतेदेखि खट्ने ती मतदाता शिक्षा कार्यकर्ताले वैशाख २८ गतेसम्म काम गर्नुपर्नेछ। वैशाख ३१ गते मतदानको मिति तय भइसकेको छ। 

कति पाउँछन् तलबभत्ता?

मतदाता शिक्षा कार्यकर्ताले १२ हजार तलब, तीन हजार भत्ता तथा दुई सय २५ रुपैयाँ पोष्टर टाँस्ने खर्चसहित १५ हजार दुई सय २५ रुपैया पाउने छन्।  

भोलिदेखि क्षेत्रीय प्रशिक्षक प्रशिक्षण

निर्वाचन आयोगले भोलिदेखि सात प्रदेशका १२ ठाउँमा क्षेत्रीयस्तरको प्रशिक्षक प्रशिक्षण सुरु गर्ने भएको छ। काठमाडौँमा ३२ जनालाई केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी गराएर तालिम दिएको आयोगले तीनै केन्द्रीय स्तरको प्रशिक्षक प्रशिक्षणमा सहभागीहरुलाई क्षेत्रीयस्तरको प्रशिक्षक प्रशिक्षणमा पठाएको छ। 

देशका आठ स्थानमा १२ वटा समूहमा सहभागी हुने प्रशिक्षकहरुले जिल्ला जिल्लाबाट आएका कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण दिने छन्। हरेक जिल्लाबाट मतदाता संख्या र मतदान केन्द्रका आधारमा सहभागी हुने चारदेखि आठ जना कर्मचारीलाई प्रशिक्षक प्रशिक्षण दिइने छ। ती प्रशिक्षक प्रशिक्षणमा सहभागीहरुले जिल्ला फर्किएर जिल्लाका कर्मचारीहरु, नागरिक समाजका प्रतिनिधिहरु र जिल्लाले छनौट गरेका २१ हजार मतदाता शिक्षा कार्यकर्तामध्ये आफ्नो जिल्लाभित्रका मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षक प्रशिक्षण दिने छन्। 

त्यसपछि तिनै मतदाता शिक्षा कार्यकर्ता एक मतदान केन्द्रमा एक जनाका दरले हुने गरी गाउँ गाउँमा पुगेर मतदाता शिक्षा दिने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell