PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्वाचन केन्द्रमै मतगणना गर्न पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीको सुझाव



पहिलोपोस्ट

निर्वाचन केन्द्रमै मतगणना गर्न पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीको सुझाव

काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न सुझाव दिएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको निर्वाचनका चुनौतीहरु विषयक कार्यम्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्। उनले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताए। उनले मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुने र मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नु नहुने धारणा राखे। यसो गर्दा ३ घण्टाभित्रै निर्वाचनको परिणाम आउने उनले बताए।

उनले विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेश गर्दै भने,‘हाम्रो देशमा पनि अब यसलाई लागु गर्नुपर्छ।’ चुनाव आउन अब जम्मा ५० दिन बाँकी रहेकोले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नको लागि थुप्रै चुनौति भएको बताउँदै उप्रेतीले भने,‘पहिलो र प्रमुख चुनौति भनेको दलीय सहमति कायम गर्नु हो, निर्वाचन सबैलाई चाहिएको छ, यसको लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु चुनावमा भाग लिन जरुरी छ।’

धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यो निर्वाचन ऐतिहासिक हुने बताउँदै उनले भने,‘८५ लाख नयाँ मतदाता छन्, त्यसैले कुनै पनि स्थानमा निर्वाचन रोक्नुहुँदैन, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरा पनि आउँदैन।’

उप्रेतीले दलहरुले चुनाव गराउन नचाहेको पनि आरोप लगाए। उनले स्थानीय तहको निर्वाचन भएको ५ वर्षभित्रै अर्थात ५ वर्ष पुग्न दुई महिना बाँकी रहँदै फेरि निर्वाचन हुने सुनिश्चितता हुनु अत्यन्तै सकारात्मक कुरा भएको टिप्पणी गरे।

उनले निर्वाचनको वातावरण बनाउनको लागि दलहरु गाउँमा जानुपर्नेमा जोड दिए। उनले थपे,‘काठमाडौं र सिंहदरबारमा बसेर हुँदैन, निर्वाचनको वातावरण तय गर्नको लागि त गाउँमै जानुर्छ।’

उप्रेतीले निर्वाचन अत्यन्तै खर्चिलो हुने समेत बताए। उनले थपे,‘यो निर्वाचन अत्यन्तै खर्चिलो हुन्छ, कतिपय उम्मेद्धवारले पैसा छैन, खर्चका आफ्नै सीमा छन्, एउटा बाहिरी सीमा र अर्को भित्री सीमा छ।’

अहिले निर्वाचनको माहोल तयार भएको स्पष्ट पार्दै उनले भने, ‘अहिले निर्वाचनको माहोल तयार हुँदैछ, असुन्तुष्ट दलहरु पनि अलि नरम बनेका छन्।’

निर्वाचनको लागि समय भने अत्यन्तै थोरै भएको गुनासो पोख्दै उनले थपे, ‘मतपत्र छाप्नमात्रै पनि ४५ दिन लाग्छ, निर्वाचन आयोगलाई हात समातेर एकै दिनमा निर्वाचन गराउन सरकारले हात बाँध्ने काम गर्यो।’

उनले ७४४ वटा स्थानीय सरकारको निर्वाचन एकै चरणमा गर्नुभन्दा पनि दुई वा तीन चरणमा गर्दा राम्रो हुने थियो भन्दै सरकारले यसमा नराम्रो काम गरेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell