PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चार बोरा सुर्तीजन्य पदार्थ नष्ट



पहिलोपोस्ट

काठमाडौँ : सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ।

जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको हो। सरकारले यही चैत १ गतेदेखि निश्चित तोकिएको स्थानबाट मात्र सुर्तीजन्य पदार्थ बेच्न पाउने र त्यसका लागि बिक्री अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रजिअ तथा अनुगमन टोलीका संयोजक प्रेमप्रसाद लुइँटेलले सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न बनेको ऐन, २०६८ को कार्यान्वयन, नियमन ऐन, २०७१ र मन्त्रिपरिषद्ले २०७३ साल माघ ६ गते बिक्री वितरण नियन्त्रण गर्न गरेको निर्णय लागू गराउन अनुगमन गरेको बताए।

टोलीले, सुपरमार्केट, खुद्रा र नाङ्ले पसल, अस्पताल क्षेत्रवरपर गरी ६५ वटा पसलमा अनुगमन गरेको थियो। इजाजतपत्र नलिएका, पत्र लिए पनि उपभोग्य वस्तुसँगै बिक्री गरिएको, धेरै चुरोट ९० प्रतिशत चेतवनीमूलक रङ्गिन चित्रअङ्कित स्वास्थ्य सन्देश नराखी बिक्री–वितरण गरेको पाइएको उनले बताए।

सरकारले सुर्तीजन्य पदार्थको अनुगमन गर्नका लागि हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ। स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरणका लागि अन्तः शुल्कमा दर्ता भई राजस्व कार्यालयबाट अनुमतिपत्र लिई तोकिएको स्थानबाट मात्र बिक्री गर्न निर्देशन दिएको थियो। पसलमा १८ वर्ष मुनिका बालबालिकाले बेचेको, छुट्टै ठाउँको व्यवस्था नगरी किराना पसलमा बेचेको, इजाजत नलिएको, मापदण्डअनुसारको बोर्ड नराखी बेचेको फेला पारेपछि नियन्त्रणमा लिई नष्ट गरेको अनुगमन टोलीले जानकारी दिएको छ।

टोलीमा जनस्वास्थ्य कार्यालय, सुरक्षा निकाय र जिप्रकाका बजार अनुगमन अधिकारी र सञ्चारकर्मीको संलग्नता थियो। अनुगमन टोलीले आज कलङ्की, कालीमाटी, बालाजु, नयाँपार्क र चाबहिल क्षेत्रमा अनुगमन गर्ने अनुगमन टोलीका संयोजकसमेत रहेका सहायक प्रजिअ लुइँटेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell