PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले लागू गर्‍यो स्वास्थ्य बिमा, जनता अनभिज्ञ



पहिलोपोस्ट

विनोदसिंह बिष्ट 
बैतडी :
सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमाबारे अनभिज्ञ रहेका छन्। 

स्वास्थ्य बिमाबारे आफूलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका–१ की रमिता साउदले बताइन्।

शिवनाथ गाउँपालिका–१ कै पदमसिंह चांडलाई पनि स्वास्थ्य बिमाबारे थाहा छैन। 'स्वास्थ्य बिमा, स्वास्थ्य बिमा भनेर भन्छन् के हो भनेर बुझ्न सकेको छैन,' उनले भने। 

गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन यसको बारेमा प्रचारप्रसार गर्नुपर्ने भए पनि त्यसो नभएको पाइएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य बिमा कार्यकर्ता गाउँगाउँमा पठाएको भए पनि आफूकहाँ कोही पनि नआएको शिवनाथका स्थानीय रुपसिंह साउदको भनाइ छ। 

सरकारले गत वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि बैतडीमा भने यो वर्ष मात्रै सञ्चालनमा आएको हो। गरिबका लागि उपचार गर्न समस्या नहोस् भनेर ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको हो। 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले स्वास्थ्य दर्ता सहायक जिल्लाभरि नै खटाएको बताए। 'ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको र यसका लागि पहल गरिरहेका छौं,' उनले भने, 'ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य बिमाको बारेमा ज्ञान दिइन लागिएको छ।' 

सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ। गत वर्ष कैलाली, बागलुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो। 

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीका सदस्यले प्रतिव्यक्ति रु ५०० एक वर्षका लागि बिमा गर्नुपर्ने, सोही वर्ष कोही सदस्य बिरामी भएमा रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ। 

बैतडीमा हालसम्म ७३१ महिला र ७२४ महिला गरी १,४५५ जनाले स्वास्थ्य बिमा गरेका छन् भने ३२ जनाले बिमा पछि सेवा लिएका छन्। यो वर्ष स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सरकारले रु दुई अर्ब ५० करोड बजेट विनियोजन गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell