PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

काठमाडौंमा अब सौर्यबत्ती मात्रै, सडकमा प्रयोग बिजुली 'सिटी लाइन'मा



काठमाडौंमा अब सौर्यबत्ती मात्रै, सडकमा प्रयोग बिजुली 'सिटी लाइन'मा

दिनेश खड्का
काठमाडौं :
लोडसेडिङमुक्त भएपछि उज्यालिएको काठमाडौं महानगरपालिकाका सडकहरुमा अब पूर्ण रुपमा सौर्य बत्तीमात्र बाल्ने तयारी भइरहेको छ।

अझै पनि केही ठाँउमा पुराना विद्युतीय बत्तीहरु बलिरहेकोमा अब सबैतिर  सौर्यबत्ती बाल्ने लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच सडकहरुमा सौर्य विद्युत प्रयोग गर्ने सहमति भएसँगै पुराना सडक बत्तीहरु विस्थापित हुने भएका हुन्।  सडक बत्तीका रुपमा प्रयोग भएको विद्युत सिटी विद्युत लाइनमा जोडिने गरी विद्युत प्राधिकरण र महानगरपालिकाबीच सहमति भएको सहरी विकास विभागका प्रमुख उत्तर कुमार रेग्मीले जानकारी दिए। उनले अहिले सडकमा बत्तीका लागि प्रयोग भइरहेको विद्युत सिटी विद्युत लाइनमा जोडेको बताए।

अहिले महानगरमा ७ सयको हाराहारीमा पुराना सडक बत्ती छन्। कोटेश्वर सडकखण्ड, एयरपोर्ट, गौशाला, दरबारमार्ग, रत्नपार्क, पानीपोखरी लगायतका स्थानहरुमा यस्ता बत्तीहरु बाल्ने गरिएको थियो। यी स्थानहरुमा पनि सौर्य बत्ती जडान भइसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले अहिले पुराना बत्तीहरु बाल्न छोडिसकेको छ। महानगरमा सौर्य बत्ती जडानअघि यिनै विद्युतीय बत्तीहरु सडकमा बालिन्थे।

अघिल्लो आर्थिक वर्षबाट सुरु भएको जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम अन्तर्गत महानगरपालिकाका मुख्य सडकमा दुर्इ हजार बत्ती जडान भएको थियो।

महानगरपालिकाले यो वर्ष सौर्य बत्तीको संख्या बढाएर पाँच हजार बनाउने लक्ष्य लिएको छ। आउँदो पाचँ वर्षभित्र महानगरका सबै सडकमा उज्यालो बनाउन ५० देखि ६० हजार सौर्य बत्ती जडान गर्ने योजना छ। सार्क सम्मेलनको समयमा १७ सय सौर्य बत्तीहरु जडान भएका थिए।

एउटा सौर्य सडक बत्ती पोल सहित राख्नका लागि १ लाख २० हजारसम्म खर्च हुने महानगरपालिकाले जनाएको छ।

सौर्य बत्तीको आयु कति?

महानगरपालिकाका अनुसार सौर्य बत्तीको आयु पाँच वर्षको हुन्छ, जसमा २ वर्ष ग्यारेन्टी र थप ३ वर्षको वारेन्टी हुन्छ। पाँच बर्षसम्म समस्या आएमा त्यसको समाधान हुन्छ। सौर्य बत्तीले सहर उज्यालो पार्ने मात्र होइन सडक सुरक्षा कायम राख्न समेत मद्दत पुर्याीउँछ।

तर विस्थापन गर्न लागिएका पुराना बत्तीहरुलार्इ के गर्ने भनेर महानगरसँग कुनै योजना छैन।

महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र जिल्ला विकास समितिले सौर्य बत्ती जडान गरेका छन्। यदि बत्तीहरु बल्न छाडे तथा समस्या देखिएमा जहाँबाट जोडिएको हो त्यहाँ गएर निवेदन दिन सकिनेछ। जस्तो महानगरपालिकाबाट जोडिएका हुन् भने महानगरपालिकामा गएर निवेदन दिन सकिन्छ। निवेदनका आधारमा मर्मत गरिने महानगरपालिकाले जनाएको छ।

सौर्य बत्तीमा समस्या देखिएमा दुर्इ करोड रुपैयाँसम्म मर्मत सम्भार बजेट रहेको महानगरपालिकाका सहरी विकास विभाग प्रमुख उत्तर कुमार रेग्मीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell