PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रेम, पारिवारिक तनाव र बदला लिन एसिडको सहारा



प्रेम, पारिवारिक तनाव र बदला लिन एसिडको सहारा

  • अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौै:  तीन वर्ष अघि जीवन बिक संगीता मगरलाई ट्युसन पढाउँथे। एउटै घरमा डेरा गरि बसेका संगीता र ट्युसन् पढाउने शिक्षक जीवनबीच सम्बन्ध र हिमचिम बढ्दै गयो। उनीहरुको सम्बन्ध प्रेममा बदलियो। दुवै परिवारको त्यतिन्जेल राम्रो सम्बन्ध थियो।

तर एकदिन संगीताको भाइले गाँजा खाएर आएपछि जीवनले गाँजा गनाएको भनेपछि संगीताका भाइ सन्तोष र जीवनको झगडा भयो। झगडामा सन्तोषले जीवनको घाँटी समाए। सो घटनापछि दुई परिवारको सम्बन्ध बिग्रियो।

बिकले संगीताको परिवारले आफ्नो परिवारलाई अपमान र दुर्व्यवहार गरेको ठहर गरे। छोराछोरीको झगडा परिवारमा भित्रियो। झगडा कतिसम्म ठूलो भयो भने  संगीताका बाबुले जीवनका बाबुलाई हातपात समेत गरे। पारिवारीक झगडा बढ्दै गएपछि संगीता र जीवनको सम्बन्ध पनि बिग्रियो।

बिकका अनुसार संगीताले उनलाई 'तँ काले म जस्ती राम्री केटीसँग संङ्गत गर्न सुहाउँदैन' भन्दै पटकपटक होच्याएर बोल्न थालिन्। संगीताले आफ्नो रुपमाथि नै घमण्ड गर्दै होच्याएपछि जीवनले संगीताको रुपलाई कुरुप तुल्याउने उद्देश्यबाट आक्रमण गरेको प्रहरीले जनाएको छ।  

जीवनले सुरुवातमा संगीता र उसको भाइलाई रडले प्रहार गर्ने योजना बनाएका थिए। तर योजना अनुसार काम नभएपछि भारतीय च्यानलबाट प्रभावित भएर २०७१ जेठबाट एसिड संकलन र खरिदमा जुटे। उनले २०७१ को असोजमा एसिड किने पनि प्लाष्टिकको बोतलमा सार्ने क्रममा पग्लेर नष्ट भयो।

त्यसपछि पुन: उनले दोश्रो पटक ब्याट्री पसलबाट एसिड किने। पहिला उनले बियरको बोतलमा १ सय २५ रुपैयाँको एसिड किने। बियरको बोतलबाट एसिड छ्याप्न अप्ठेरो हुने ठानेर उनले हर्लिक्सको सीसी किने। एसिड राख्न उनले झोँछेमा सिसी किनेको खुलेको छ। एसिड संकलन गरेका जीवनले पटकपटक परिवारलाई नै एसिड प्रहार गर्ने योजना बनाएपनि सफल हुन नसकेको प्रहरीले जनाएको छ। उनले बारम्बार संगीताको घर वरपर निगरानी समेत गरेको प्रहरीले जनाएको छ।

घट्ना विवरण सार्वजनिक गर्दै प्रहरी

प्रहरी अनुसन्धानका अनुसार जीवनले संगीता मगरको परिवारसँग बदलाको भावनाले  गत फागुन १० गते एसिड आक्रमण गरेको जनाएको छ। फागुन १० गते झोँछेबाट बिहान पाँच बजे झोलामा एसिडको बोतल बोकेर उनी टोखाबाट माइक्रो बस चढे। जमल इन्द्रचोक र वसन्तपुर हुदैँ संगीता मगरलाई खोज्न उनको घरतिर लागे। घरबाहिर कसैलाई नदेखेपछि उनी फेरी वसन्तपुर डबलीतिर फर्किए।

संगीता ट्युसन पढ्न जाने कुरा उनलाई थाहा थियो। तर कुन ट्युसन सेन्टरमा पढ्छिन् भन्ने कुरामा जीवन निश्चित थिएनन्। त्यसैले उनी संगीता मगरलाई खोज्न पुन: घरतर्फ जाने क्रममा ट्युसन सेन्टरमा बत्तीको उज्यालो देखे। उनको कुविचारले अर्को रुप लियो। उनी ट्युसन सेन्टर भित्र छिरे। त्यही थिए- संगीता मगर र हेमु मुखर्जी।

उनले त्यहीँ आक्रमण गर्ने योजना बनाए। तर त्यसबीच उनलाई अर्को समस्या आइलाग्यो। उनी कक्षा कोठा भित्र पस्नु अघि नै सीमा बस्नेत कक्षामा प्रवेश गरिन्। केही समय जीवन बाहिरै रोकिए।

केही बेरपछि सीमा, संगीता र हेमु बसेको कक्षामा छिरे जीवन। ढोका खोल्नु अघिनै उनले झोलामा बोकेको बोतल निकालिसकेका थिए। उनले ढोका खोले र संगीता मगरमाथि झण्डै आधा लिटर एसिड प्रहार गरे। एसिड छ्यापेपछि एसिड राखेको बोत्तल कक्षाकोठाबाट बाहिरै फाले र उनी त्यहाँबाट हिँडे। प्रहरीले उनी ठमेलसम्म पैदल हिँडेरै गएको र ठमेलबाट टोखा जान बस चढेको उल्लेख गरेको छ।

कोठामा पुगेपछि उनले नुहाइधुवाई गरे र दिनभरी घरै बसे। साँझ उनले फेसबुक खोले। उनका भाइले उनलाई संगीतामाथि एसिड प्रहार गरेको घटनाका बारे सोधे तर उनले आफूलाई थाहा नभएको भन्दै आश्चार्य प्रकट गरे। 


प्रहरीले बिकको घरबाट बरामद गरेको पत्रिका, उनले एसिड आक्रमणसम्वन्धी समाचार भएका पत्रिका संकलन गरेर राखेका थिए।

घटना घटेको दश दिनपछि अर्थात फागुन २० गते उनी भारत लागे। भारतको सिक्किमको रानीपुलमा उनी करिब आठ दिन बसे। जीवन पहिला पनि भारतीय सेनामा भर्ती हुनका लागि सिक्किम बसेका थिए। तर उनी आठ दिन पछि २९ गते नेपाल फर्किए।

यसबीच प्रहरीले जीवनको खोजी कार्य जारी राखेको थियो। पीडित संगीता मगरले दिएको बयानका आधारमा प्रहरीले घटनाको चुरो पत्ता लगाइसकेको थियो।

२९ फागुनमा संगीताले मिडियामा समेत 'म बस्दै आएको घरको माथिल्लो तल्लाको एक युवकले मलाई पिछा गर्थे तर प्रहरी त्यसको बारेमा अनुसन्धान नै गर्न मान्दैन'  भनेकी थिइन्।

प्रहरीले जीवन फर्किएको एक सातामै चैत ५ गते बिहीबार जीवनलाई रातको सवा ११ बजे टोखा स्थित डेराबाटै पक्राउ गर्‍यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell