PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजधानीमा थपिए ठूला सवारी, माकलबारी रुटमा बाबा गोकर्णेश्वरका बस



राजधानीमा थपिए ठूला सवारी, माकलबारी रुटमा बाबा गोकर्णेश्वरका बस

  • दिनेश खड्का/पहिलोपोस्ट  
काठमाडौँ : लामो समयदेखिको निलो रङको साना माइक्रोबसको एकाधिकार रहेको माकलबारी क्षेत्रमा समेत ठूला बस भित्रिएका छन्। जय बाबा गोकर्णेश्वर नाममा यो क्षेत्रमा २० ठूला बस चल्न लागेका हुन्। मंगलबार विशेष कार्यक्रम गरेर बस सेवा सुरु गर्ने कम्पनी अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए। यी बस माकलबारीलाई केन्द्र बनाएर विभिन्न रुटमा चल्नेछन्। माकलबारीबाट गौरीघाट र जोरपाटी दुई वटा बस चल्ने श्रेष्ठले जानकारी दिए।
 
१० वटा बस माकलबारीबाट नारायणटार-गौरीघाट-मित्रपार्क-गौशाला हुँदै कोटेश्वर पुगेर चक्रपथ परिक्रमा गर्ने र चाबहिलबाट पुन: मित्रपार्क आएर सोही रुटबाट फर्कनेछन्। बाँकी बस भने माकलबारीबाट नारायणटार-जोरपाटी-बौद्ध-चाबहिल-धुम्बाराही हुँदै चक्रपथ परिक्रमा गर्ने र फेरि चाबहिल पुगेर सोही रुटबाट माकलबारी फर्कनेछन्। 
 
थप पाँच बस समेत तत्काल थपिने कम्पनी अध्यक्ष श्रेष्ठले बताए। ती गाडी चलाउन फाइनान्सिङको काम भइरहेको र साताभित्र सञ्चालनमा ल्याइने उनको भनाइ छ।
 
ड्राइभर सहित ३५ सिट क्षमताका बसमा नि:शुल्क वाइफाइ सुविधा हुने कम्पनीले जनाएको छ। अरु बसभन्दा फराकिलो रहेको कारण उभिएर यात्रा गर्न समेत सहज हुने अध्यक्ष श्रेष्ठले बताए। सिट पनि अरु गाडीभन्दा सुविधायुक्त रहेको उनको दाबी छ। 
 
स्थानीयबासीले कामबाट बेलुका घर फर्कंदा माकलबारी जाने गाडी नपाइने गुनासो गर्दै आएका थिए। बेलुका छ बजेपछि हरियो माइक्रोबस समेत नपाइने कारण नारायणटारबाट माकलबारीसम्म लगभग एक किलोमिटर हिड्नु पर्ने विडम्बना रहेको स्थानिय रामहरी श्रेष्ठले बताए। ठूला यी बस सञ्चालनमा आएपछि यो समस्याको हल हुने उनको विश्वास छ।
  
नारायणटारदेखि माकलबारी सडकखण्डमा यसअघि ग्यासबाट चल्ने ३५ बढी निलो रङका माइक्रोबस चल्दै आएका थिए। यी माइक्रोबस बाग्मती किनारको रुटबाट नारायणटार-गौरीघाट-मित्रपार्क-गौशला-पुरानोबानेश्वर-मैतीदेवी-पुतलीसडक हुदै रत्नपार्क जान्छन्।
 
निलो माइक्रोबस चलाउँदै आएका यातायात व्यवसायीले भने ठूला बसको विरोध गरेका छन्। आफूहरुसँग छलफल नै नगरी ठूला बस हालेर विस्थापित गर्न खोजेको उनीहरुको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell