काठमाडौं: एसएलसी परीक्षाका लागि तयारी गरिरहेका दुर्इ छात्रालार्इ एसिड आक्रमण गरेको २५ अौं दिन प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका अभियुक्तले फोटो खिच्ने क्रममा बेहोस भएको नाटक गरे।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरीको माथ्लो तलाबाट तल झार्दा अभियुक्त जीवन बिकले हुडको टोपी र मास्क लगाएका थिए। उनलाई कार्यालयको प्रांगणमा ल्याएर फोटो पत्रकारले फोटो खिच्न थालेपछि अचानक उनी बेहोस भए।
उनी अचानक बेहोस भएपछि प्रहरीले उनलाई झ्याइँकुटी पार्दै गाडीतिर दौडाए। प्रहरीले बोकेर दौंडाउँदा उनी आँखा चिम्लेर हाँसिरहेका थिए। प्रहरीले बिहीबार टोखास्थित उनको डेराबाट पक्राउ गरेपछि दिएको बयानमा उनले एसिड आक्रमणपछि पत्रिकामा आएका समाचार देखेर 'एसिड आक्रमण ठूलो घटना हुनेरहेछ' भन्ने थाहा पाएको बताएका थिए।
उनले एसिड आक्रमण ठूलो भएको त थाहा पाए तर आज उनलाई टेलिभिजन र स्टील क्यामेराले घेरिँदा यो घटना कति ठूलो रहेछ भन्ने झन् प्रष्ट भएको देखे। पहिला अँध्यारो अनुहार लाएका उनी फोटो खिच्दाखिच्दै हाँसेका थिए। त्यसको केही समयमै उनी बेहोस भए। उनलाई प्रहरीले भ्यानमा राखी अस्पताल लगेको छ।