PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्वाचन नजिकिँदै जाँदा प्रशासनले थाल्यो वैध-अवैध हतियारको खोजी



निर्वाचन नजिकिँदै जाँदा प्रशासनले थाल्यो वैध-अवैध हतियारको खोजी

चितवन : स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा स्थानीय प्रशासनले वैध र अवैध हातहतियारको खोजी कार्यलाई तीव्रता दिएको छ। 

जिल्लामा अहिले २०४ जनाले व्यक्तिगत सुरक्षाका लागि अनुमतिपत्र लिएर हतियार राखेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार ती २०४ हतियारमध्ये ११५ जनाले नवीकरण गरेका छन् भने ८९ जनाले नवीकरण गरेका छैनन्। 

व्यक्तिगत सुरक्षा र विभिन्न प्रयोजनका लागि गृहमन्त्रालयमार्फत अनुमति लिएर हतियार राख्ने गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। अनुमति लिई राखिएका हतियारमध्ये बाह्र बोरको एक नाले र दुई नाले बन्दुक ११७ थान, २२ बोरको एक नाले र दुई नाले बन्दुक ६१ थान, टु-टु राइफल तीन थान, हावादारी १८ थान र क्यालियर रनिङ्टन स्पोट मास्टर टोटावाल तीन थान रहेका छन्। 

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर निर्वाचनलाई लक्षित गरी हतियार बुझाउने कार्यलाई तीब्रता दिएको छ। हालसम्म जिप्रका र मातहतका कार्यालयमा चारजनाले हतियार बुझाएका छन्। निर्वाचनको समयमा हुन सक्ने हिंसाजन्य घटनालाई मध्यनजर गर्दै अनुमति लिएर राखिएका हतियारसमेत प्रशासनले फिर्ता मागेको हो। 

निर्धारित समयमा हतियार नुबुझाए अनुगमन गरी कारबाहीसमेत गर्ने प्रशासनले जनाएको छ। अवैध हतियारको पनि खोजी कार्य तीव्र पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell