PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'अल्पविराम' लिएर आइन् कवि समा श्री



पहिलोपोस्ट

'अल्पविराम' लिएर आइन् कवि समा श्री

काठमाडौं : साहित्यकार समा श्रीको कवितासंग्रह 'अल्पविराम' शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। 
 
कवि तथा साहित्यकार चेतन कार्की, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कवि निभा शाहले पुस्तक सार्वजनिक गरे।
 
संग्रहमाथि आफ्नो धारणा राख्दै साहित्यकार कार्कीले छन्द वा मुक्त जुनसुकै भए पनि कविको अभिव्यक्तिले नै कविताको सामर्थ्य पुष्टि हुने बताए। जहाँ बसेर लेखे पनि मानवीय संवेदना एकै हुने भएकाले डायस्पोरिकले अर्थ नलाग्ने भन्दै उनले तर्क गरे, 'यो झुटो प्रेम भनेजस्तो हो। प्रेम कहिल्यै झुटो हुँदैन।'
 
अल्पविरामको अर्थ खुट्याउँदै उनले कविले साहित्य यात्रामा सानो बिसाइ चाहेको हो कि भन्ने जिज्ञासा राखे। 'त्यो विराम चिन्तनमनन गर्न वा नवसिर्जनाको रुपरेखा खोज्नका लागि पनि हुन सक्छ,' उनको भनाइ थियो।
 
कवि निभा शाहले अल्पविराममा प्रेम र नारीवादको कुशल संयोजन रहेको धारणा राखिन्।  विम्ब चयनका साथै शालीन शैलीको प्रशंसा गर्दै उनले समकालीन लेखनमा समा श्रीको उपस्थिति दर्बिलो रुपमा देखिएको बताइन्।
 
पत्रकार फूलमान बलले नेपाली डायस्पोरा कोरिया, इजरालय र हङकङमा सशक्त भए पनि युरोप, अमेरिकामा सतही देखिएको टिप्पणी गर्दै अल्पविराममा तीभन्दा भिन्न र अब्बल रुपमा आएको बताए। 'नारीवादको कुरा गर्दा अहिले नारा र आक्रोशको खतरा हुन्छ तर अल्पविरामभित्रका कविता ती भन्दा निकै माथि छन्,' उनले भने। कतिपय कविता स्पर्शले अनुभूत गर्ने खालका रहेको भन्दै बलले  तेस्रो मुलुकको मनोविज्ञान बुझाउन पनि संग्रहभित्रका कविताहरु सक्षम रहेको भनाइ राखे।
 
समाको कवितामा राजनीतिको प्रभाव रहे पनि ती आगोका रुपमा नभई सौम्य रुपमा देखिएको पाठकीय मन्तव्यमा विपुल सिजापतिले बोले। 'अल्पविराम पढ्नुअघि मैले तीन प्रश्न राखेर पढ्न थालेँ- कविताले अभिव्यक्तिमार्फत संवेग प्रवाह गर्न सक्छ कि सक्दैन? उठाइएको विषयमा कविको चिन्तन पाठकमा प्रभाव पर्छ कि पर्दैन? संरचना र प्रस्तुतिको शेलीले आकर्षित गर्छ कि गर्दैन?' उनले भने, 'यसभित्र पोखिएका संवेदनालाई वास्तवमै द्रविभूत पार्छ। सोच्न बाध्य बनाउँछ। मेरा प्रश्नको जवाफ कविताले दिएका रहेछन्।'

कविताकृतिलाई प्रकाशन संस्था इन्डिगो इन्कले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell