PahiloPost

May 27, 2018 | १३ जेठ २०७५

अरुण तेस्रो: एक भारतीय जसले नेपालमा ‘मरिसकेको’ विकास ब्युँताए


पहिलोपोस्ट /पहिलोपोस्ट

अरुण तेस्रो: एक भारतीय जसले नेपालमा ‘मरिसकेको’ विकास ब्युँताए
काठमाडौं : दरबार मार्गस्थित पाँचतारे होटल अन्नपुर्णको तेस्रो तलामा एक विदेशीले कोठा लिएका छन्।

टाइ सुट लगाएका होटल स्टाफ समयमै एयरपोर्ट पुग्नु पर्ने दबावका कारण ब्रेकफाष्ट छिटो लिन अंग्रेजीमा हतार लगाउँदै उनको कोठा ढकढकाउन पुग्छन्। पाहुना नेपालीमा जवाफ दिन्छन्- हुन्छ, आउँदैछु। खाजा लगाइ दिनुहोस् न।

000

आफु कार्यरत कम्पनी एसजेभीएन (सतलज) ले नेपालमा निर्माण गर्न लागेको अरुण तेस्रो जलविद्युत परियोजनाका लागि रमाना दिँदा इन्जिनियर रोशन नेगी ‘होम टाउन’ हिमाञ्चलमै थिए। अप्रिल २०११ को कुनै दिन। कार्यालयको चिठी बुझे लगत्तै ‘नाइट भोल्भो’ चढेर दिल्ली तिर लागे उनी।

एयर इन्डियाको टिकट भइ सकेको थियो। सिधै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगे। काठमाडौँ उत्रेपछि यहिँ रहेका एक जना साथीले ‘रिसिभ’ गरे। लामो अन्तराल पछि भेटेको ‘दोस्त’, रातभर सँगै बसेर भलाकुसारी गर्ने योजनासाथ एयरपोर्टबाट तीनकुने मात्र पुग्दैथिए। एसजेभिएनको काठमाडौं अफिसबाट फोन आइदियो- ‘आजै फिल्ड जानु पर्ने भयो,  तुरुन्त एयरपोर्टको डोमेष्टिक टर्मिनल जानु होला।’ साथीसँग रमाइलो गरेर एक दिन काठमाडौँमा बिताउने रहर समेत ‘सेक्रिफाइस’ गर्नु पर्यो नेगीले।

अरुण तेस्रो परियोजनाको प्रमुखका रुपमा वाइपी सुद नियुक्त भएका थिए। एउटै कम्पनीमा काम गर्ने भए पनि नेगी र सुदको त्यसअघि कहिल्यै भेट भएको थिएन। र, दुबैजना पहिलो पटक साइट भिजिट गर्दै थिए। एयरपोर्ट छिरे देखिनै सुद कता भेटिएलान् भनेर नेगीले आँखा ठूला पारेका थिए। तर, यति काउन्टरमा चेक इन गरेर भित्र सुरक्षा जाँच गर्दासम्म सुदलाई ठम्याउन सकेनन्।

नेगीको मनमा आँधी छुटिसक्यो। कहाँ जाने, कसलाई भेट्ने, कोसँग कसरी कुरा गर्ने केहि ‘आइडिया’ थिएन। पहिलो पटक नेपालको दूर दराज गाउँतर्फ लाग्दै थिए। बोर्डिङको समय सुरु हुन लाग्यो। खिन्न भएर जहाज तर्फ जान बस चढे। बसमा पो आफु जस्तै अन्यौलले भरिएको एक अनुहार देखे- वाइपी सर पक्कै यीनै हुनुपर्छ। छेउमा गएर बोलाए। हो रहेछन्। लामो सास ताने र आफ्नो पनि परिचय दिए। सुदको पनि मुहार उज्यालियो।
000

२०४३ सालमा अरुण तेस्रोको चर्चा सुरु भएर २०५१ सालमा परियोजनाबाट वर्ल्ड बैंकले हात झिक्दासम्म अरुण नदीमा धेरै पानी बगि सकेको थियो। त्यसयता मुलुकमा झाँग्गिएको द्वन्द र राजनीतिक तरलताको कारण संखुवासभाबासीले पनि अरुण तेस्रो सम्झिन छोडेका थिए।

मंसिर २०६३को शान्ति सम्झौतासँगै मुलुकमा दशक लामो युद्दको त्रासदी सकियो। तर , नयाँखाले अँध्यारो सुरु भइ सकेको थियो- लोडसेडिङ। माग बमोजिम आपूर्ति न्युन भएको कारण बिजुली कटौती हुने समय बढ्दै गएपछि २०६४ सालमा सरकारले अरुण तेस्रो फेरि ब्युतायो। अन्तर्राष्ट्रिय टेन्डर मार्फत परियोजनाको बिस्तृत अध्ययनका लागि आह्वाग गरियो।

भारतीय कम्पनी सतलजले उक्त टेन्डर पाएपछि नेगीको नेपाल आउने बाटो तय भएको थियो।

काठमाडौँबाट उडेको ३० मिनेट पछि जहाज जमिनको सतह नजिक पुग्यो। नेगी अगाडी हेर्छन्- घाँसे मैदान मात्र। ‘इमर्जेन्सी ल्यान्डिङ्’ हो की भन्दा पनि पाइलटले केही ‘एनाउन्स’ गरेको थिएन। नभन्दै जहाज त्यही चौरमा अवतरण गर्यो।

जहाजबाट झरेपछि मात्र उनले थाहा पाए- तुम्लिङटार विमानस्थलको रनवे नै घाँसे मैदान पो रहेछ।

 000

खाँदबारी बसेर नौलो ठाउँको वस्तुस्थिती बुझ्दै थिए। पुगेको एक सातामै माओबादीले तात्कालिन (माधव नेपाल नेतृत्वको) सरकारको राजिनामा माग्दै अनिश्चितकालिन बन्द आह्वान गर्यो। के गर्ने, कसो गर्ने! झन् ठूलो अलमलमा परे नेगी र सुद। ‘राती नै गाडी लिएर बिराटनगर पुग्यौँ, उनले सुनाए- त्यहाँबाट बिहान जोगमुनी तर्यौँ र भारतकै बाटोबाट सिलीगुडी पुगियो।’

दुई साता त्यहाँ रहेपछि नेपालमा वातावरण सहज भएको खवर पुग्यो। उनीहरु फर्केर आए। संखुवासभा पुग्दै मात्र थिए। हेड अफिसबाट निर्देशन आयो- अहिलेसम्मको प्रगति विवरण सहित प्रस्तुती दिन आउनु।

अब फर्यो फसाद। नेगी एक पनि साइट पुगेका थिएनन्। माओवादीको डरले १५ दिन भागेँ भन्न पनि मिलेन।

भोलि पल्ट बिहानै उठेर खाँदबारीबाट लागे- अरुण तेस्रोको पावर हाउस बन्ने दिदिङ तिर। जिल्ला सदरमुकाम त १२ महिना गाडी नपुग्ने संखुवासभाको गाउँमा त्यसबेला बाटो पुग्ने कुरै भएन। रुक्स्याक बोकेर हिँडेको तीन दिनमा दिदिङ पुगे। ३ दिन लाग्यो हिँडेर पुग्न। एक दिन पावर हाउस एरिया हेरेर फर्किए। उकालो हिँडेर खाँदबारी पुग्न त चार दिन नै लाग्यो।

फर्केर परियोजनास्थलको अवस्था सहित रिपोर्ट बनाए र दिल्ली गएर प्रस्तुती दिए।


000

परियोजनाको थप तयारीका लागि नेगी फर्केर आए। कहिले काठमाडौं त कहिले संखुवासभा गर्दै प्रकृयागत तयारीमा जुटे। सुद भारत सरुवा भइ सकेका थिए। नेगी ‘टिम लिड’ गरेर परियोजना अघि बढाउन दौडधुपमा लागे।

सबैलाई सहमतिमा लिएर अघि बढ्दै जाँदा परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्ने समय आयो।

इआइएको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सदरमुकाम खाँदबारीमै गर्ने तय भएको थियो। अरु सबै दल सहमत थिए। माओबादी भने मानि रहेको थिएन। उनले माओवादीका जिल्ला नेताहरु बसेको घरमै गएर सोधे- ‘आखिर तपाइँहरुको समस्या के हो?’

‘हामी पनि परियोजना बनोस्, बिकास होस् भन्न् चाहन्छौँ। तर पार्टी केन्द्रको नीति अनुसार अहिले समर्थन गर्न सक्ने अवस्थामा छैनौँ’ नेगीले यही जवाफ पाए।

बिभिन्न तवरबाट सम्झाउने प्रयास जारी थियो। तर, सार्वजनिक सुनुवाइको दिन बिहानै एक माओबादी नेताले कार्यक्रम गर्ने हलमा ताल्चा लगाएर हिँडे। उपस्थित सबै हेरेको हेर्यै गर्न बाध्य भए।

नेगीले एसएनजेभीको हेड क्वार्टरमा खबर गरे। त्यताबाट माओबादीको केन्द्रमा कुरा भयो। ‘माथि’को फोन आएपछि साँचो लगाएर हिँड्ने स्थानीय माओबादी नेता फर्किए। तर, उनी आउँदा दिउँसो तीन बजी सकेको थियो।

उनीहरुले ‘सुनुवाइ गरौँ’ भन्न थाले। तर, भोलीपल्टका लागि नुम (ड्याम एरिया)मा सार्वजनिक सुनुवाइको मिति तय भइ सकेको भन्दै नेगी बाटो लागे।

पाथिभरा र नुम गाविसको दोभानमा बन्ने ड्यामबाट पावरहाउस (दिदिङ)सम्म छ वटा गाविस छन्। त्यसमध्ये चार गाविसमात्र अरुण तेस्रोको प्रत्यक्ष प्रभावित सूचीमा रहे पनि उनीहरुले सबै गाविसका १० स्थानमा सार्वजनिक सुनुवाइ तय गरेका थिए।

सार्वजनिक सुनुवाइमा जाँदा सबै गाउँका सर्वसाधारणले खुलेर सहयोग गरे। उनीहरु जसरी पनि परियोजना बन्नुपर्छ भन्ने पक्षमा थिए। अरुण तेस्रो दुई दशक धकेलिँदा स्थानीयको मनमा गढेको पिर उनीहरुको अनुहारमा झल्झली देखेका छन् नेगीले। सोही कारण सबै गाउँले जसरी पनि अरुण तेस्रो बन्नु पर्छ भन्नेमा थिए। 

एक गाउँबाट अर्को गाउँबीच ठूल्ठूलो जंगल रहेको हुँदा भिर र पहराको बाटो हिँडेका थिए उनीहरु। ‘१० दिनमा त्यस्तो बाटो २१० किलोमिटर हिँडिएछ’ नेगीले सम्झिए।



राजनीतिक दरका नेताले पनि राम्रो सहयोग गरे। कांग्रेस नेता  (हालका स्वास्थ्य राज्यमन्त्री) तारामान गुरुङ कतिपय गाउँमै पुगेर सार्वजिनक सुनुवाइमा सहभागि भए। गाउँबाट फर्किएपछि सदरमुकाममा सार्वजनिक सुनुवाइ भयो। सबै दलका नेता देखि सरोकारवालाको बाक्लो उपस्थिती रह्यो।

परियोजना तयारीको सबैभन्दा अफ्ठ्यारो खुड्कीलो पार गरेपछि नेगीले ठूलै राहत महसुस गरे। सार्वजनिक सुनुवाइ पछि इआइएको प्राविधिक पक्ष सम्पन्न भयो। तर, दुर्भाग्य त्यस लगत्तै २०७१ सालको महाभूकम्प गयो। एकपछि अर्को परकम्प आइ रहेपछि खाँदबारीमा बस्न सम्भव भएन। नेगीको टिम तुम्लिङटारमा टेन्ड ओछ्याएर बस्यो। परकम्प जान छोडेपछि खाँदबारी फर्केर परियोजना परिसरमा पर्ने जग्गाको लगत लिने एवं  विवरण संकलनको काम सुरु भयो।

नेगी र उनको टिमले गरेको त्यही मेहनतको नजिता स्वरुप अहिले अरुण तेस्रो कार्यान्वयनको तहमा पुगेको छ। स्थानीयबासीलाई घर जग्गाको मुआब्जा बापत एक अर्ब २९ करोड रुपैयाँ वितरण भइ सकेको छ भने ड्यामको टेन्डर प्रकृया सुरु भएको छ। भारत सरकारले परियोजनाको लागि ९१ अर्ब रुपैयाँ भन्दा बढि बजेट समेत केहि दिन अघि स्वीकृत गर्यो।
000

काठमाडौंबाट खाँदबारीबारीका लागि यति एयरलाइन्स चढेपछि एयरहोस्टेज स्न्याक्स लिएर आइन्। उनले नेपालीमा सोधेको प्रश्नको नेगीले अंग्रेजीमा जवाफ दिए। उनले असहज मानिन्।

फेरि पत्रिका लिएर आइन्। उनले अंग्रेजी पत्रिका मगाए। एयरहोष्टेजले फेरि आँखा खुम्च्याइन्। पछि मात्र उनले बुझे एयरहोस्टेजले आफुलाई नेपाली नै ठानेर त्यस्तो व्यवहार गरेकी रहिछिन्। ‘हेर्दा नेपाली तर अंग्रेजीमा बोल्ने , अंग्रेजी पत्रिका मगाउने गरेपछि उनले आँखा खुम्च्याएकी रहिछिन्’ उनले सुनाए।

हिमाञ्चलमा जन्मिएका उनको अनुहार नेपालीसँग मिल्दो छ। जहाजमा त एयरहोष्टेजले आँखा मात्र खुम्च्याएकी उनलाई गाउँ छिरेपछि स्थानीयले भन्न थाले- ‘हेर्दा हाम्रै दाजुभाइ जस्तो छ, बढो ठालु भएर नेपाली नजान्ने भइ टोपल्छ।’

भारतको नेपाली भाषी राज्य सिक्किमको रंगीत लगायत परियोजनामा काम गरे पनि उनलाई नेपाली सिक्ने मेसो मिलेको थिएन। संखुवासभाका गाउँलेको भनाइले उनलाई पिरोल्यो।



खाँदबारीमा एक जना पुरोहितसँग भाषा सिक्न थाले। ‘चार महिनामा कुराकानी गर्न सक्ने भएँ, उनले सुनाए- नेपाली जानेको औधि काम लाग्यो।’ परियोजनाको काम सजिलोसँग अघि बढ्नुमा आफुले स्थानियसँग नेपालीमा बोल्नु पनि मुख्य कारक रहेको उनको विश्वास छ। कोही नेपालीले अंग्रेजी या हिन्दीमा बोल्दै आए उनी नेपालीमै जवाफ दिन्छन्। जसरी अन्नपुर्ण होटल स्टाफलाई जवाफ दिए।

अरुण तेस्रोको पुनर्जन्म चर्चा देखि कार्यान्वयनको तहसम्म पुर्याएपछि उनी सधैंलाई जन्मथलो फर्कँदै थिए। त्यसैले अन्नपुर्णका स्टाफ एयरपोर्ट टाइम सम्झाउँदै उनको कोठा ढक्ढकाउन आइ पुगे।

पाँच बर्षको नेपाल बसाइमा नेगी भावनात्मक हिसाबले पनि संखुवासभाको गाउँले जस्तै भइ सकेका थिए। खाँदबारी बजारमा उनलाई नचिन्ने बिरलै मात्र थिए। ‘मलाइ त आफ्नो घर छोडेर बाहिर जाँदैछु जस्तो लाग्दैछ, ढाका टोपी ढल्काएर बिदा माग्न बिजमाण्डू कार्यालय छिरेकी नेगीले भने।

यहाँ आए देखि हरेक ३/४ महिनामा दुई छोरी र श्रीमती भेट्न उनी हिमाञ्जल जाने गरेका थिए। तर, अरुबेला घर जान लाग्दा जुन उत्साह हुन्थ्यो पुष अन्तिम साताको यात्रा त्यस्तो थिएन। परिवार भेट्ने उत्साहलाई यताका साथी भाइको यादले कता कता थिचेको थियो। अनेक विस्मय लिएर पाँच बर्ष अघि काठमाडौँ उत्रिएका उनी भारी मन र अनगिन्ती मित्रताका तरेली बोकेर बाटो लागे।


अरुण तेस्रो: एक भारतीय जसले नेपालमा ‘मरिसकेको’ विकास ब्युँताए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट