PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बनेपामा जम्यो साहित्य-उत्सव



पहिलोपोस्ट

बनेपामा जम्यो साहित्य-उत्सव

काभ्रे (बनेपा) : काभ्रेको बनेपामा पहिलोपटक बृहत् साहित्य सम्मेलन– २०७३ सम्पन्न भएको छ। दुई दिने सम्मेलन शनिबार सकिएको हो। नेपाली साहित्यका विविध विधा, साहित्यिक पत्रकारिता, कलासंस्कृतिका साथै गीतसंगीत लगायतका सेसनमा बहस चलेको थियो।
 
सम्मेलन उद्घाटनमा उपस्थित ९७ वर्षे संस्कृतिविद् सत्यमोहन जोशीले नयाँ पुस्तालाई ऊर्जा थपिदिए। बुढ्यौलीमा पनि उनको जोशमा कुनै कमी देखिएन। अनुहारमा देखिएका चाउरीका रेखा पन्छाउँदै जोशीले कत्ति पनि नकाँपेको आवाजमा आफूले भोगेको दुई युगको तस्विर झल्कने गरी बोले। आफूले भोगेको साँघुरो र अहिलेको बृहत् पठन संस्कृतिको फलकबारे लामो समय अनुभव सुनाए।
 
बृहत् साहित्य सम्मेलनको उद्घाटनपछि ‘बदलिँदो पठन संस्कृति’ विषयमा उनले सुरु गरेको सम्भाषण सुन्न धैर्यसाथ बसिरहेका दर्शकलाई एक घन्टासम्म एक सय वर्ष अगाडिको नेपाल र अहिलेको नेपालबारे तुलना गरिदिए। ‘साहित्यमा नोबेल पुरस्कार पाएको हर्ने इच्छा छ,' संस्कृतिविद् जोशीले भने, ‘विश्वका सबै देशलाई चिनाउने मुख्य माध्यम साहित्य नै हो  त्यसैले साहित्यको विकासले देशकै अनुहार देखाउँछ।’
 
सम्मेलनको दोस्रो सत्र थियो ‘काभ्रेली साहित्यिक संस्थाको अवस्था र गतिविधि’। यस सत्रमा मोहन दुवाल, छविरमण सिलवाल, सूर्यप्रसाद लाकोजू र रामसुन्दर देउजाले काभ्रेको साहित्यका विगत र बर्तमान अवस्थाबारे टिप्पणी गरे। कार्यक्रममा हाम्रो साहित्यक संस्थाको उदय र अवसानबारेको बहस चलेको थियो।

'कविताको उज्ज्वल अनुहार'

‘नेपाली कविताको समकालिन अनुहार’ विषयक छलफलमा कविहरु हरि अधिकारी, निभा शाहा, रेशम विरही, रमेश श्रेष्ठ वक्ता थिए, प्रस्तोता थिए पत्रकार दीपक सापकोटा। समकालीन नेपाली कविताको अनुहार उज्जवल र वर्तमान समयसापेक्ष रहेको कुरामा सहभागीहरुले बहस गरेका थिए। ‘अहिलेको कविताको अनुहार उज्जवल छ’, कवि रेशम विरहीले भने, ‘युवा पुस्तामा फरक चेतना र शैली बोकेर कवितामा आइरहेकाले नेपाली कवितालाई धनी बनाउनेछन्।’ अहिलेको युवापुस्ता फिक्सन, नन–फिक्सनभन्दा बढि कवितामा आकर्षित भएको हरि अधिकारीको जिकीर थियो। ‘मार्क्सवादी कविहरुको उपस्थितिले नेपाली कवितालाई बलियो बनाउँदै लगेको छ’, निभा शाहले भनिन्, ‘उनीहरुको कवितामा कला र विचार सँगसँगै आएको देखिन्छ।’
 
'नेपाली बाल साहित्यको प्रवृत्ति’ सत्रमा बालसाहित्यमा लामो समयदेखि क्रियाशील लेखकहरू अनन्त वाग्ले, गंगा पौडेल, डा. सुमनराज ताम्राकार र हरिहर तिमल्सिनाले वर्तमान समयमा लेखिइरहेका बालकथा, तिनको शैली, पात्र र प्रवृत्तिमाथि छलफल गरे। ‘अहिले बालकथा लेखनमा निकै ठुलो आकर्षण छ, लेखकहरू वृद्धि भइरहेका छन’, तीन दर्जनभन्दा बढी बालकथासंग्रहका लेखक वाग्लेले भने, ‘बालसाहित्य लेखेर लेखकहरूले राम्रो आम्दानी गर्ने वातावरण सिर्जना भएको छ।’

यसपछि ‘साहित्यिक पत्रकारिता हिजो र आज’ विषयमा साहित्यकार मोहन दुवाल, रेशम विरही र सूर्यप्रसाद लाकोजुलाई पत्रकार दीपक सापकोटाले बहसमा उतारे। वक्ताहरुले अहिलेको साहित्यिक पत्रकारिताले ठिक दिशा पक्रिरहेको र यो साहित्यिक पत्रकारिताको युग भएको बताए। लामो समयदेखि साहित्यिक पत्रिका प्रकाशन गरिरहेका दुवाल, विरही र लाकोजुले मूलधारभन्दा बाहिर रहेर गरिने यो कर्मको आफ्नैखाले विशेष दुःख भएको स्वीकारे। ‘पत्रिका सुचारु रुपमा सञ्चालन गर्न विज्ञापन चाहिन्छ, तर विज्ञापन माग्न गयो, विज्ञापनदाता अर्कोतिर फर्किन्छ। यस्तो अवस्थामा साहित्यिक पत्रिका चलाउनु निकै ठुलो टेन्सन र चुनौती हो’, विरहीले भने।
 
सम्मेलनमा ‘संस्कृतिका विविध आयाम’ विषयमा संस्कृतिविद डा. पुरुषोत्तम लोचन श्रेष्ठ र विनोदराज शर्मासँग राजाराम कर्माचार्यले गम्भीर बहस गरे। ‘हाम्रा संस्कृति र सहरहरुबारे गम्भीर अध्ययन भएको छैन,’ श्रेष्ठले भने।
 
‘गीत संगीतको पीडा’ विषयमा गायकहरू मच्छेश्वर सापकोटा, सुरेन्द्र श्रेष्ठ र रामहरि न्यौपानेले बहस गरे। यस सत्रलाई मोडरेट गरेका थिए कवि रामगोपाल आशुतोषले। हाम्रा गीतका गेडाहरू कसरी फेरिँदै गए र गीतहरु जनताका दुःखका कुराभन्दा बाहिर हुँदै गए भन्ने विषयको बहस गरम थियो।
 
सम्मेलनमा कथाकार विजय सापकोटाको कथासंग्रह ‘अनावरण’ र रामसुन्दर देउजालिखित ‘काभ्रेली स्रष्टा परिचय कोष’को पनि विमोचन गरियो।
अन्तिम सेसनमा नवराज पराजुली, अभय श्रेष्ठ, हरिहर तिमल्सिना, सापकोटा, नरेन्द्रकुमार नगरकोटी, रामगोपाल आशुतोष, अविरल ओझेल, लक्ष्मी रुम्बा, निर्भिकजंग रायमाझी लगायतले कविता वाचन गरेका थिए। कवितालगत्तै काभ्रेली युवा गजलकारले गजल बाचन पनि गरेका थिए ।

सम्मेलन पाइला फाउन्डेसनले काभ्रे जिल्लामै पहिलोपटक भएको हो। अर्को वर्ष पनि यस्तै सम्मेलन आयोजना गरिने सम्मेलनका संयोजक नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell