PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अप्रेसन साइलेन्ट सर्च : के थियो रानीबारी हत्याकान्डको कारण?



अप्रेसन साइलेन्ट सर्च : के थियो रानीबारी हत्याकान्डको कारण?

  • अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२ वर्षअघि भएको चर्चित रानीबारी हत्याकाण्डको पर्दाफास गरे पनि मुख्य अभियुक्तका बारेमा अझै अनुसन्धान भइरहेको छ। ब्यूरो प्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार यो अनुसन्धान 'डाउन टु टप' अनुसन्धान भएकोले हत्याको 'सुपारी' दिनेका बारेमा अझै अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुईजना अभियुक्तहरुले 'कन्ट्र्याक्ट'मा हत्या गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ।

ब्यूरोले असोजबाट यो हत्याकाण्डको अनुसन्धान सुरु गरेको थियो। 'अप्रेसन साइलेन्ट सर्च' नाम राखेर अनुसन्धान सुरु गरेको ब्युरोले गत असोज ७ गते अभियुक्तको 'रि-स्केच' गरेको थियो।

ब्यूरोका अनुसन्धान अधिकृतहरुले हत्याका लागि 'सुपारी' दिने व्यक्तिका बारेमा केही नबताए पनि गीता खड्काको सम्पतिको 'हकवाला'हरु यसमा संलग्न रहेको हुनसक्नेमा ढुक्क छन्। तत्कालीन अवस्थामा खड्काले प्रशस्त सम्पति आर्जन गरेको र उनका कोही पनि सन्तान नभएकोले सम्पतिकै लागि उनको हत्याको योजना बुनिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीको अनुसन्धानले खड्काका तत्कालीन पतिको संलग्नता अनुमान गरेको देखिन्छ। ब्यूरो प्रमुख तथा अनुसन्धान अधिकृतहरु 'टप लेभल'का योजनाकारहरुका बारे अनुसन्धान जारी नै रहेकोले अहिले नै सबै कुरा खोल्न नमिल्ने बताउँछन्। ब्यूरोका अनुसार घटनाका बखतमै खड्काका दुई जनासँग सम्बन्ध रहेको देखिएको छ। अभियुक्त सार्वजनिक गर्दै ठकुरीले 'सुपारी दिने मान्छे विदेशमा रहेको' बताएका थिए। खड्काका तत्कालीन समयका पति भनिएका एकजना हाल बेलायत र अर्का एकजना अमेरिकामा छन्। प्रहरी अनुसन्धानले खड्काका यी दुई बाहेक अरुसँग पनि सम्बन्ध रहेको देखाएको छ।

ब्यूरोका अनुसन्धान अधिकृतले प्रत्यक्षदर्शी र हत्याका योजनाकारका बारे केही बताउन नमिल्ने बताउँदै 'हकवाला'को संलग्नताको संकेत भने गरेका छन्। 

यसरी भएको थियो घटना

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार घटना घट्नु एक साता अघि अभियुक्तहरू रानीबारीस्थित गीता खड्काको घरमा भाडामा कोठा चाहियो भनी गएको र उक्त घरको भुई तलामा बस्ने मृतक अञ्जली श्रेष्ठसँग कुरा गरेका थिए। अभियुक्तहरु भाडाको कुरा गर्न गएको समय गीता खडका बाहिर रहेको देखिएको छ। उनीहरुले 'हामी जति पनि भाडा तिर्छौं, हामी विद्यार्थी हौं। बुबा स्विजरल्याण्डमा र आमा दार्जिलिङमा हुनुहुन्छ भनेका' थिए।

अभियुक्तहरु दोस्रोपटक घटनाको अघिल्लो दिन साँझ उक्त घर एरियामा गई अवलोकन गरी फर्किएका थिए। घटनाको दिन २०५९ असार ३१ गते बिहान अभियुक्तहरुले घटनास्थल नजिकैको पसलमा चिया खाएर गीता खड्काको घर गएका थिए। खड्काको घरमा भाडामा बस्ने मृतक अञ्जलीसँग निजको भुईंतलाको सिटिंङ रूममा बसी घर धनीको बारेमा उनीहरुले सोधपुछ गरेका थिए। उनीहरुले बारम्बार फोन गरी घरधनी खड्कालाई तल आउन भनेका थिए।

सूचना चुहिने डरले पहिला भाडावालाको हत्या

कुराकानीको सिलसिलामा घरधनी (गीता खड्का) घरमै भएको यकिन गरेपछि ओछ्यानमै पल्टिरहेका हेमन्त श्रेष्ठलाई अभियुक्त मनराज गुरुङले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। श्रीमानलाई गुरुङले खुकुरी प्रहार गरिरहँदा चौेहानले अञ्जलीको कपालमा समातेर नियन्त्रणमा लिएका थिए। श्रीमानको हत्यापछि गुरुङले नै अञ्जलीको पेटमा खुकुरी प्रहार गरेका थिए। 

घटना भएका बखत साथमै रहेकी ७ वर्षीया छोरीको घाँटीमा अभियुक्तले खुकुरी प्रहार गरेका थिए। बालिका भागेर बाथरुम भित्र छिरेर लुकेपछि उनी बाँच्न सफल भएकी थिइन्।

त्यो घरको बनौट अनुसार माथिल्लो तलामा जान श्रेष्ठ दम्पतिको फ्ल्याट भएरै जानुपर्ने भएकोले पहिला उनीहरुको हत्या गरेर मात्र खड्काको हत्या गर्न प्रयास गरेको देखिन्छ। दम्पतिको हत्यापछि अभियुक्तहरुले मुख्य 'टार्गेट' गीता खड्काको हत्या गर्न माथिल्लो तल्लामा गएका थिए। तर गीता खड्का बाथरुम भित्र लुकेर बसेका कारण उनीहरु हत्या नगरी भागेका थिए।

उनीहरुले बाथरुम भित्रै छिरेर हत्या गर्ने प्रयास गरेको तर हल्ला फैलिन सुरु भएपछि उनीहरु भागेको ब्यूरोले जनाएको छ। गीता खड्काको हत्या गर्ने प्रयास असफल भएपछि अभियुक्तहरुले घटनास्थलबाट लगभग सय मिटर पर खुकुरी फालेका थिए। त्यसपछि उनीहरु सामाखुसी चोकको धारामा हात धोएर कपडा फेरेर ट्याक्सी चढी फरार भएका थिए।

प्रहरी अनुसन्धान अनुसार खड्काको हत्या गर्न मुख्य योजनाकारले उनीहरुलाई दुई लाख रुपैयाँको 'सुपारी' दिएका थिए।  

को हुन् अभियुक्त?


मनराज गुरुङ दोलखाको खारे घर भई हाल काठमाडौंको सामाखुसी टाउन प्लानिङमा बस्दै आएका उनी साल्सा डान्स बार सञ्चालक हुन्। उनी २०६० साल जेठ १७ गते गोलढुंगामा म्यानपावर संचालिका लीलामाया गिरीलाई उनकै श्रीमान्‌ले ६ लाख रुपैयाँको सुपारी रकम दिई हत्या गरेको घटनाको प्रमुख अपराधी भई जन्मकैदको सजाय भोगेका व्यक्ति हुन्। उनी २०६९ सालमा सुविधा पाई जेलबाट मुक्त भएका थिए।

पक्राउ परेका अर्का अभियुक्त प्रमेश चौहान रामेछापको फुलासी घर भइ हाल जोरपाटी नयाँ बस्ती निवासी हुन्। उनी एम्पिज क्याफे रिसोर्टको संचालक पनि हुन्। गुरुङसँगै चौहान पनि गोलढुंगा हत्याकाण्डका दोषी हुन्। चौहानले अदालतमा लीलामायाको हत्याको सबै जिम्मेवारी लिएका थिए। त्यसैको बदलामा गुरुङले चौहानका लागि ३ लाख रुपैयाँमा एम्पीज क्याफे किनिदिएका थिए। 

ब्यूरोको टोलीले गुरुङलाई सामाखुशी र चौहानलाई जोरपाटीबाट गत शुक्रबार पक्राउ गरेको थियो। प्रहरीले उनीहरुको पोलिग्राफ टेस्ट (झुटो बोले/नबोलेको परीक्षण) पनि गरेपछि हत्या गरेको यकिन गरेको थियो। घट्नाको अनुसन्धानका क्रममा घट्नास्थलको गहन विश्लेषण, सबुद प्रमाणको विश्लेषण, घटना तथा व्यक्तिको बारेमा जानकारहरूसँग बयान, हुलिया तथा पहिचान गरेको थियो। 

घटना भएको समयमा अभियुक्तहरुको उमेर जम्मा १८ र २० वर्ष मात्र थियो। ब्यूरोले अनुसन्धानका क्रममा पहिलेका अनुसन्धानबाट सार्वजनिक गरेका स्केचहरुलाई रि-स्केचिङ समेत गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले कन्ट्र्याक्ट किलरहरु, घटनामा संलग्न व्यक्तिहरुसँग बयान लिने तथा अभियुक्तहरुले हतियार प्रहार गर्ने तरिकाका बारेमा पनि अनुसन्धान गरेको थियो।

(*यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख हेमन्त मल्ल ठकुरी हुनुपर्नेमा पल भएकोमा सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell