
- अनन्त कोइराला/पहिलोपोस्ट -
केन्द्रीय अनुसन्धान ब्युरोले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पक्राउ परेका मध्ये ३० वर्षीय मनराज गुरुङ दोलखा घर भई सामाखुशीमा साल्सा डान्सबार सञ्चालक हुन् भने ३२ वर्षीय प्रमेश चौहान रामेछाप घर भई जोरपाटीमा एम्पिज क्याफे सञ्चालक हुन्।
दुवै अभियुक्त घटनाभन्दा ९ महिनापछि गोलढुंगामा भएको हत्यामा दोषी देखिइ जेल सजाय भोगेका थिए।
किन भयो हत्या ?

अभियुक्तहरु घरमा कोठा चाहियो भन्दै गएका र गीता खड्का घरमा नभएको बेला अञ्जलीसँग कुरा गरेको प्रहरीले जनाएको छ।
घटना बिहान ६ बजेतिर भएको थियो। हेमन्तलाई मनराजले खुकुरी प्रहार गरेको र प्रमेशले अञ्जलीको कपाल समातेको अनुसन्धानले देखिएको प्रहरीले बतायो। घटनामा सात वर्षकी छोरीमाथि पनि खुकुरी प्रहार भएको थियो। तर उनी बचेकी थिइन्।
प्रहरीका अनुसार २ लाख रुपैयाँमा कन्ट्रयाक्ट किलिङ गरेको देखिन्छ। यिनीहरुलाई कन्ट्र्याक्ट गर्ने मान्छे विदेशमा भएको र त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘हत्याराहरुले उनीहरुलाई मारेपछि माथिल्लो तलामा रहेकी गीता खडकालाई मार्न गएका तर गीता बाथरुममा लुकेको र हत्याराले प्रयास गर्दा नसकेको र हल्ला भइसकेको कारण भागेको देखिन्छ,’ केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख हेमन्त पल बताए।
'त्यो घरको बनौट अनुसार माथिल्लो तला (गीता खडकाको) मा जान श्रेष्ठ दम्पतिको फ्ल्याट भएरै जानुपर्ने भएकोले पहिला उनीहरुको हत्या गरेर मात्र खड्काको हत्या गर्न प्रयास गरेको देखिन्छ,' प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले जनायो।
यसरी भएको थियो हत्या
प्रहरी घटनास्थलमा पुग्दा लाजिम्पाटको रानीबारीस्थित गीता खड्काको घरमा डेरा गरी बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ (३७) र अञ्जली श्रेष्ठ (३९) को क्षतविक्षत शव भेटियो। उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
सात वर्षकी घाइते छोरी छटपटाइरहेकी थिइन्। त्यतिबेला घाइते भएकी छोरी आज्ञाश्री अहिले १९ वर्षकी भइन्।
घटना विवरण
माथिल्लो तलामा बस्ने घरधनी गीताले भने आफू बाथरुमको जाली काटेर भागेको बयान दिएकी थिइन् । घरबाट भागेर बाहिरबाट अरूलाई भनेर प्रहरी कन्ट्रोलमा खबर गर्न लगाएकी थिइन् । खबर गरेको करिब आधा घन्टामा प्रहरी घटनास्थलमा पुगेको थियो, जतिवेला श्रेष्ठदम्पतीको मृत्यु भइसकेको थियो भने छोरी छटपटाइरहेकी थिइन् ।
घटनास्थलबाट प्रहरीले नौ इन्च लामो खुकुरी बरामद गरेको थियो। प्रत्यक्षदर्शीको बयानबाहेक प्रहरीसँग हत्याराबारे कुनै सूचना थिएन।
घटनामा संलग्न भएको शंकामा प्रहरीले हेटौँडाका प्रकाश लामा र ईश्वर गुरुङको स्केच बनाएर फरार अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो। तर हत्या किन भयो भन्ने बारे कुनै पनि जानकारी प्रहरीले पत्ता लगाउन सकेको थिएन।
अनुसन्धानमा असफलताको शृङ्खला
अनुसन्धानका लागि प्रहरीले झण्डै दुई दर्जन छानबिन समिति गठन गरे पनि कुनैले पनि सफलता पाउन सकेन। पछिल्लो समयमा यसको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गर्दै आएको थियो।
असफलता १
घटनापछि तत्कालीन अपराध महाशाखाका प्रमुख एसपी रामचन्द्र खनाल संयोजकत्वको बनेको समितिले घरधनी गीता खड्कालाई भेट्ने बहानामा हत्यारा घरमा प्रवेश गरेको, तर खड्कालाई भेट्न नदिएको आवेगमा श्रेष्ठदम्पतीको हत्या भएको हुन सक्ने सम्भावना इंगित गरे पनि कुनै निष्कर्ष भने दिन सकेको थिएन।
असफलता २
अपराध महाशाखका तत्कालीन प्रमुख एसपी विनोद सिंहले इन्स्पेक्टर केपी शर्माको संयोजकत्वमा अनुसन्धान गराउँदा सो टोलीले वैदेशिक रोजगार व्यवसायमा गीता खड्काको दिल्लीमा रहेका पूर्ण गुरुङसँग साझेदारी रहेको र हत्यामा उनको संलग्नता हुन सक्ने औंल्याएको थियो।
असफलता ३
अपराध अनुसन्धान विभागका तत्कालीन प्रमुख एआइजी गोविन्दप्रसाद थापाका सुपरिवेक्षणमा भएको अनुसन्धान टोलीले घटनामा संलग्नको आशंका गरिएका दुईजनाको स्केच सार्वजनिक गर्यो। प्रत्यक्षदर्शी छोरी आज्ञाश्रीले स्केचको सनाखत गरेकी थिइन्।