PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चर्चिलले आफ्नो सचिवलाई सोधेका थिए, ‘गोरखाली भनेका कस्ता हुन्?'



पहिलोपोस्ट

  • प्रदीप नेपाल
त्यतिबेलासम्म नेपालमा प्रजापरिषद पछिको अर्को कुनै पार्टी जन्मिएको थिएन। आफैँ पार्टी बनाउने तयारीमा पनि थिएन रामप्रसाद। उतिबेलाको काठमाडौंको साँझ शान्त एवम् शीतल हुन्थ्यो। शहर आठै बजे निदाऊँथ्यो। ओमबहालमा डेरा लिएको थियो रामप्रसादले। शान्त साँझले उसलाई आनन्द दिँदैनथ्यो तर। के अर्को दशरथ चन्द या गङ्गालाल जन्मिदैनन् अब! त्यस्तो भैदिए म तिनको सेनाको कमाण्डर भैदिन्थेँ र नेपालमा प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्न सबैभन्दा जिम्मेवार भूमिका निभाऊँथे।
 
दोश्रो विश्वयुद्ध सकिएपछि रामप्रसादले तीन महिनाको छुट्टी पायो। त्यो छुट्टीलाई उसले आफ्नो ऊद्देश्यमा खर्चिने योजना बनायो। छुट्टी पाउने बित्तिकै कान्छी पत्नी दिलकुमारी र कान्छो छोरा मानबहादुर राईलाई लिएर रामप्रसाद आफ्नो घर, बाँसिखोरा तिर लाग्यो दक्षिणको बाटो भएर।
 
दोश्रो विश्वयुद्धले भौतिक रूपमा बर्मा र मणिपुरलाई सेकेको थियो। बर्मा क्षतविक्षत भएको थियो। युद्धका बाछिटालाई बङ्गालको सीमासम्म छरेर युद्ध फर्किएको थियो। बर्मामा भोग्नु परेको युद्धको बिनाशले बेलायतलाई थर्थर बनाएको थियो।
 
गोर्खा फौज नभएको भए हाम्रो दिल्ली राज सकिने थियो।यो बेलायती मनोभावना थियो।
 
बाँकी भारत एकप्रकारले सुरक्षित नै थियो।
 
तर ऊजाड भएको थियो भारत। धनको खति राज्यको भएको थियो। तर जनको खति त बाउआमाको भएको थियो। थोरै संयुक्त प्रान्त (अहिलेको उत्तर प्रदेश) अनि धेरै बिहारको यात्रामा यो खतिको अनुहार देख्यो रामप्रसाद राईले। धेरै परिवारको कोही न कोही मरेको थियो। नेपालले सहयोगको नाममा दुई लाख पचास हजार पेल्नु परेको थियो भने संयुक्त प्रान्त र बिहार त अङ्ग्रेजकै राजभित्र पर्थे। कति लाखको ज्यान गयो होला ती दुई प्रान्तको!
 
जोगवनीमा रेलबाट ओर्लिएपछि पत्नीलाई अघि लगाउँदै रामप्रसादले भन्यो, ‘माने सानै छ। उसले अहिले देखेको कुरो भोलि बिर्सन्छ। पछि पछि यस्तो यात्रा यसलाई सपना जस्तो लाग्छ। तँलाई भने अनौठो लाग्ला कान्छी, यताको रीतिथिति। जर्सापले यो केटीले जस्तोसुकै दुःख पनि खेप्न सक्छे भनेपछि मैले तँसँग बिहे गरेको हुँ। अब त्यो अप्ठ्यारो भोग्ने समय आयो। कतै लरी भेटियो भने धरानसम्म त्यसैमा जाने हो। त्यसपछि दिनभरिको तेर्सो। अक्करे भीर। त्यसपछि उकालो र ओरालो।
 
पत्नी र छोरालाई एउटा कोठामा बसाले पछि रामप्रसादले भन्यो, ‘तिमेरु आराम गर। म बजार जान्छु। किनमेल गर्नु छ। तीन जना भरिया खोज्नु छ। म काम सकेर बेलैमा आउँछु। भोलि बिहानै हामी बाटा लाग्छौं।
 
बराहक्षेत्रको अक्कर! यात्रीहरूका लागि आतङ्कको एउटा नाम। दर्जनौँ भरियाहरू ऐया पनि भन्न नपाई झुम्लुङ्ग सप्तकोशीको खसेर क्षणभरमै हराउने भीर। र पनि जिन्दगी चल्नै पथ्र्यो। मान्छे मात्र होइन, भरिया पनि हिँड्नैपर्थ्यो।
 
घर पर्खिरहेको थियोरामप्रसाद, दिलकुमारी र मानबहादुर राईलाई। सबैका लागि लडाइँ सिद्धिएको थियो। नेपालभित्रको विश्वयुद्धले कसैलाई मृत्युको पीडा दिएको थियो भने कसैलाई टङटङ बज्ने कम्पनी दिएको थियो।
 
दिलकुमारी सबैको चासो थिई। चासो नै भइरही।
 
पिखुवापारि छिनामखुमा पहिलो बास बसेर काठमाण्डौतिर सोझिएको रामप्रसाद भोलिपल्ट, खार्मी डाँडागाउँको बमबहादुर राईको घरमा बास बस्न पुग्यो। घाम डुबेको थिएन डाँडामा। उज्यालो थियो पृथ्वी।
 
बमबहादुर राई र रामप्रसाद राईले एक अर्कासँग हात मिलाए, अँगालो हाले। अलगअलग पल्टनका भए पनि तिनीहरू बीच चिनजान थियो।
 
बुहारी, जातकी होइनन् कि क्या हो!बमबहादुरले पनि जिज्ञासा पोख्यो।
ठकुरीकी छोरी हो,छोटो उत्तर दिएपछि उसले आफूले सामना गर्नुपरेको घटना जस्ताको तस्तै राखिदियो।
 
बमबहादुर राई !
दोश्रो विश्वयुद्धको बहादुर योद्धा। विश्वयुद्ध सकिएपछि पोहोर मात्रै विदा भएर फर्किएको योद्धा। अब लडाईंतिर लाग्दिन, स्कूल खोल्छु, केटाकेटीलाई पढाउँछु भनेर गाउँमा बसेको योद्धा।स्टालिन र चर्चिलसँग हात मिलाउन पाएको नेपाली योद्धा।
 
रामप्रसादको दिमाग चर्खी जसरी घुमिरहेको थियो।
 
बमबहादुर दाइ, तिम्ले विश्वयुद्धका नेतासँग हात मिलाउन पाएका थियौ रे भनेर मसम्म कुरा आएको थियो।
 
तेही त, चर्चिल त आफूले जाने सुनेकै परे। स्टालिन चाहिँ नचिनेका। छ फुटे। अग्ला न अग्ला। तिनको ठूलो पन्जामा मेरो सानो हात कता हरायो हरायो।
 
...मेरो सानो हातलाई आफ्नो पञ्जा भित्र लुकाएर उनले मसँग केही सोधजस्तो लाग्यो। म एकछिन अलमल्ल परें। पछि हाम्रो दोभाषेले भन्योमहामहिम राष्ट्रपतिले के तपाईंको गाउँमा स्कूल छ? भनेर सोधेका हुन्। म त भुतुक्कै परिहालें। कहाँ आफू १५ वर्ष अगाडिसम्म कालो अक्षर भैंसी बराबर, कहाँ उनी राष्ट्रपति!
 
ती स्टालिन कम्युनिस्ट हुन् भन्ने थाहा पाएका थियौ तिमीले?’
 
अँ भन्थ्यो दोभाषेले। यिनी संसारका सबैभन्दा ठूला कम्निस्ट हुन्। जर्मनहरूलाई धुलो चटाउने तिमी गोर्खा र यिनै स्टालिन हुन् भन्थ्यो।
 
तेसो भए स्टालिनको पढाउनुपर्छ भन्ने सुझावले छोयो तिमीलाई? तिमीले केही जवाफ दिएनौ ?
 
अब पल्टन छाड्छु, गाउँ फर्किएर स्कूल खोल्छु सर,’ भनेँ। एक्कैचोटि यति धेरै कसरी बोलें थाहा नै पाइन। बोलिसकेपछि पो चोट लागेजस्तो भो।
 
एकछिन केही सोचेर बमबहादुरले भन्यो, ‘फर्किन्छु खार्मी, खोल्दछु स्कूल, पढाउँछु केटाकेटी, भनेर त आइयो। यता भने मास्टरै नपार पो सङ्कट पर्लाजस्तो छ। स्कूल खोल्न सकिन भने म त लाजैले मर्छु। त्यत्रा ठूला मान्छेलाई दिएको वचन!
 
मास्टर खोजेनौ कतै?’
 
यो अन्धकारमा कता खोज्नु?’
 
खोटाङमा भाषा पाठशाला छ। अहिलेलाई तिनैबाट काम चलाऊ। पछि तिमीले दार्जिलिङ नगै हुँदैन।
 
तिमी के गर्छौ? तिम्ले पनि मास्टर हुने पढाइ छिचोलेर नाम कटाएर नेपाल फर्किएको भन्थे पल्टनेहरू।
 
हो त। म नेपाल आएँ। नेपालका जर्नेलले तिमी जस्तो पढालेखा मान्छे हामीलाई नै चाहिन्छ, नाम कटाएर आऊ, यताकै मान दिउँलाभनेका थिए। तिनै जर्नेलको विश्वासमा यता आएको हुँ। उनले बोलेको वचन पुरा गरे। अब मन लागुन्जेल यतै काम गर्ने। मन लाग्न छोडेपछि जनसेवा गर्ने।
 
बमबहादुर केही बोलेन। रामप्रसाद के बोल्दैछ भनेर उसले लख काटिसकेको थियो।
 
तर तिमीचाहिँ स्कूल खोल्ने काममा लागिहाल।
 
फर्किने गरी विदामा अनि नफर्किने गरी नाम कटाएर आएका छ जना लाहुरे रहेछन् छिमेकमा। तिनीहरूसँग पनि भेटघाट गरौं भन्ने मन बनायो रामप्रसादले।
 
लाहुरबाट फर्किएका, जे भए नि समय मिलाउन जान्ने हुन्थे। भोलि पल्ट सबै भेला भए।
 
यी हुन् भोजपुर हतुवाका रामप्रसाद राई। पल्टनमा नेपाली मास्टर छ भनेर हामीले सुन्या थियौं नि ! यी तिनै हुन्। अहिले नेपाली पल्टनमा सुवेदार छन्। यसपालि नयाँ पुराना साथीभाइसँग भेटघाट गर्दै काठमाडौँ जानुपरो भनेर यताको बाटो लाग्या रहेछन्।
 
यी बमबहादुर दाइले स्कूल खोल्ने अठोट गर्‍या रहेछन्। काम राम्रो हो। अब तपाईं दाजुभाइले सघाउपघाउ गरेर स्कूल खोल्न पर्‍यो। गाउँका केटाकेटीलाई बाह्रखरी सिकाउनुपर्‍यो। पल्टन जाँदा पनि कालो अक्षर भैंसी बराबर भनेर कसैले नहेपुन्। अथवा भोलि हामीलाई नै बाह्रखरी छिचोलेको मान्छे चाहिने हो कि!
 
राति बमबहादुरको दलानमा सुत्न पल्टिँदा रामप्रसादले भन्यो, ‘मैले धेरै कुरो गर्न मिलेन। तर तिमीले मेरो अभियानमा सहभागी हुनुपर्छ। म नेपाल मुक्तिको सपना देखेर फर्किएको हुँ। स्टालिनसँग हात मिलाएका तिमीले यो सपना देख्नुपर्छ र मातृभूमि प्रतिको जिम्मेवारी पुरा गर्नुपर्छ। यो विश्वयुद्धमा स्टालिन र गोर्खाली सेना हुँदैनथ्यो भने दुनियामा हिटलरको राज चल्थ्यो। त्यसैले  नेपालको मुक्ति, स्टालिनसँग जोडिएको तिम्रा पौरखी हातको जिम्मेवारी पनि हो। यो लडाईं जीते पनि बेलायत सम्पूर्णतामा हारेको छ। गोरखाली सेना हुँदैनथ्यो भने युद्धको आधाऊधिमै बेलायत जर्मनको कब्जामा जान्थ्यो, फ्रान्स गएजस्तै। हिटलरको पूर्वी विजय अभियानलाई पराजित गर्ने स्टालिनको सेना हो भने पश्चिमको विजय अभियानलाई पराजित एकमात्र हाम्रा नेपाली दाजुभाइ हुन्। मैले सुन्याथें, चर्चिलले आफ्नो सचिवलाई सोधेका थिए रे, ‘यी गोरखाली भनेका कस्ता हुन्?
 
...शून्य डिग्रीको चिसोमा युद्धको मोर्चामा उभिएर शत्रुलाई हायलकायल पारेर हाम्रा बेलायती दाजुभाइलाई शान्तिका साथ तातो कफिको स्वाद चुस्न दिने माऊण्ट एभरेस्टको देशका नौजवान हुन्भनेर उसले जवाफ दिएको थियो। त्यसैले विश्वयुद्धको विजय भनेको साँच्चि नै सोभियत सङ्घको सेना र नेपाली नौजवानको संयुक्त विजय हो। त्यसैले सोभियत सेनाका सर्बोच्च कमाण्डरले तिमीसँग हात मिलाउनु भनेको शिक्षित भएर मातृभूमिको कल्याण हुने काम गर भनेको हो। अहिले म काठमाडौं जाँदैछु, तर त्यो मेरो अन्तिम टुङ्गो होइन। म फर्किएर आउने छु दाइ। तिमीहरूकै बीचमा आउने छु र मात्रिभूमिको मुक्तिका खातिर युद्ध गर्नेछु। चाहे जोसुकैसँग किन लड्नु नपरोस्। मलाई यो अठोटबाट कसैले, कहल्यै हटाउन सक्दैन।
 
रातको सन्नाटामा रामप्रसाद साप्सु खोलाको सुसाइमा बोलिरहेको थियो। बमबहादुरले बुझयो रामप्रसादको सपना।
 
तिमी सधैं मलाई आफ्नो दायाँ भागमा पाउँछौ भाइ। यो स्टालिनसँग हात मिलाउने बमबहादुरको वचन भयो।
 
कामरेड स्टालिन भन दाइ, कामरेड स्टालिन। सबैले उनलाई त्यसै भन्दा रहेछन्। कामरेड स्टालिनले विश्वलाई हिटलरको तानाशाहीबाट मुक्त गराए। हामी हाम्रो नेपाललाई राणाशाहीबाट मुक्त गराउनेछौं। मुक्त नेपालको स्थापना नै ती छ फिटे अग्ला स्टालिनका ठूला हातलाई तिम्रो उपहार हुनेछ।
 
(आज सार्वजनिक जननायक रामप्रसाद राईको जीवनीमा आधारित उपन्यास क्रान्तिवीरको सपनाबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell