PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु



रासस

फलेवास (पर्वत) : पछिल्लो समय लोप हुँदै जान थालेका मगर समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु भएको छ।

३५ औँ मगर दिवसको अवसरमा पर्वतमा क्रियाशील पुन युवा क्लबको आयोजनामा आइतबारदेखि महोत्सव सुरु भएको हो। पछिल्लो समय लोप हुँदै जान थालेका मगर संस्कृति, सोरठी, सालैजो, यानिमाया, सुनिमाया, ठाडो भाकालगायत मगर वेषभूषा, मगर समुदायमा प्रचलित खानाका परिकार, पहिरन तथा पोसाकको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो। पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित उक्त महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुने भएको छ। 

महोत्सवमा लोपोन्मुख सोरठी नृत्य प्रतियोगिता, सालैजो भाका प्रतियोगिता, विभिन्न मगर संस्कृति र परम्परागत नृत्य प्रतियोगिता, प्रौढ भलिबल, प्रौढ बास्केटबल, पुरुष भलिबल, महिला भलिबलजस्ता खेलकूदका प्रतियोगिता आयोजना गरिएको छ। त्यस्तै मगर संस्कृतिका खानाका परिकार, वेषभूषा, पहिरहनको प्रदर्शन, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर छममाया पुन र सागर पुनद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पुन युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहने भएका छन्। आइतबारदेखि सुरु भएको महोत्सवका कारण सदरमुकाम कुश्माबजारमा चहलपहल बढेको छ। गाउँगाउँमा रहेका मगर समुदाय आ–आफ्नो गाउँको पहिचानसहित सदरमुकाम कुश्मा बजारमा ओर्लिएका छन्।
 
महोत्सवको उद्घाटन सांसद अर्जुनप्रसाद जोशीले गरेका छन्। कार्यक्रमको उद्घाटन गर्दै सांसद जोशीले सबै जातजाति, समुदाय, वर्ग, लिङ्ग र जातजातिका अधिकार सुनिश्चित नभएसम्म देशमा विकासको सपना पूरा नहुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell