PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सेमिफाइनल जित्ने मनाङ र टिसी स्पोर्ट्सको दावी



पहिलोपोस्ट

सेमिफाइनल जित्ने मनाङ र टिसी स्पोर्ट्सको दावी

चितगोङ : शेख कमल इन्टरनेशनल क्लब कप–२०१७ को सेमिफाइनल खेलहरु सोमबारबाट शुरु हुँदैछ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लबले माल्दिभ्सको टि सी स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
टि सी स्पोर्ट्सबाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले समेत खेलेका छन्। खेल नेपाली समयअनुसार सोमबार साँझ ६:१५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुरु हुनेछ।

मनाङ समूह ‘बी’ को उपविजेता तथा टिसी स्पोर्टस् समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अन्तिम चारमा स्थान बनाउन मनाङले 'हेड टु हेड' का आधारमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पारेको थियो।

सेमिफाइनलअघि आइतबार चिगोङमा भएको प्रिम्याच कन्फ्रेरेन्समा दुवै क्लबका प्रशिक्षाकले सेमिफाइनलका लागि तयार रहेको र आफुहरुले जित्ने दावी गरे।

मनाङ मर्स्याङदी क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टिसी स्पोर्टस् क्लब केही विदेशी खेलाडीहरुको साथले राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउँदै मनाङ पनि कमजोर नरहेकाले टिसी स्पोर्ट्सलाई हराउने लक्ष्यका साथ मैदान उत्रने बताए।

‘टिम शारीरिक र मानसिक रुपमा टिसीविरुद्ध खेल्न तयार छ। हामी नियमित समयमै जित निकाल्ने लक्ष्यका साथ मैदान ओर्लने छौं।’ प्रशिक्षक लोप्साङले भने, ‘हामीले यसअघि समूह चरणमा पनि राम्रै खेलेका थियौं। तर, हामीले सेमिफाइनल प्रवेशका लागि अर्को खेलको नतिजा कुर्नुपर्‌यो। दुवै टोली समान रहेकाले जसले मौकालाई सदुपयोग गर्न सक्छ त्यही टिम नै अघिल्लो चरणमा प्रवेश गर्दछ।’

यस्तै टिमका कप्तान अनिल गुरुङले मनाङको टिमवर्क राम्रो रहेको र मिहेनत गरेर खेले टिसी स्पोर्ट्सलाई हराउने क्षमता रहेको बताए। ‘हामीसँग आठ जना राष्ट्रिय खेलाडी, तीन विदेशी र केही युवा खेलाडीको समिश्रण छ। पक्कै पनि टिम राम्रो बनेको छ’, कप्तान गुरुङले भने। ‘खेलाडीहरुले सोमबार टिसी स्पोर्ट्स्विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलमा पुर्‌याउनेछन्।’

टिसी स्पोर्टस् पनि राम्रै टिम रहेकाले सोमबारको खेल प्रतिस्पर्धात्मक हुने कप्तान गुरुङले बताए।

यता टिसी स्पोर्ट्सका प्रशिक्षक निजम मोहम्मदले मनाङलाई सहजै जित्नेमा आशावादी रहेको बताए। 'मनाङ र हाम्रो खेल एकै स्तरको भएपनि सोमबार मनाङलाई सहजै जित्नेछौं'।
 
मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेनलाई २-० ले पराजित गरेको थियो। दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मायीसँग ३-१ ले पराजित भएको मनाङ समूह चरणको अन्तिम खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि हेड टु हेडमा मोहमोदेनलाई पछि पार्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

यता माल्दिभ्सको टिसी स्पोर्ट्सले पहिलो खेलमा ढाका अवहनी लिमिटेडलाई १-० ले तथा दोस्रो खेलमा किर्गिस्तानको एफसी आल्गालाई २-१ ले पराजित गरेको थियो भने तेस्रो खेलमा दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। 

यस्तै दोस्रो सेमिफाइनलमा मंगलबार समूह ‘बी’ को विजेता चितगोङले समूह ‘ए’ को उपविजेता दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीसँग खेल्नेछ।

फाइनल खेल मार्च ३ तारिख शुक्रबार हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार अमेरिकी डलर तथा उपविजेताले १५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell