PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पाठकीय दृष्टि : सेल्फीको भूत- जय फेसबुक!



पहिलोपोस्ट

पाठकीय दृष्टि : सेल्फीको भूत- जय फेसबुक!

  • अन्जना पौडेल अनुश्रुति
वर्तमान समाजमा बैंक खाता नहुनेका फेसबुक खाता हुनु सामान्य कुरा हो। फेसबुकको यही विश्व व्यापकताबारे कवीन्द्र तिमिल्सिनाले 'जय फेसबुक' पुस्तक सार्वजनिक गरेका छन्।
 
'मानिस लागुपदार्थको लतमा भन्दा फेसबुकको लतमा बढी फस्दैछन्' भनेर उनले फेसबुक विभिन्न ७० भाषामा चलाउन मिल्ने आँकलन गरेका छन्। फेसबुक चलाउनेलाई उनले महत्व र फाइदा हेरेर चलाउनुपर्नेमा जोड दिएका छन्। विषेशतः अहिलेका युवा पुस्ताका विद्यार्थीहरुले फेसबुकमा समय खेर फालेकोमा चिन्ता व्यक्त गर्छन् लेखक। हिजोको आधारभूत आवश्यकता गाँस, बास, कपास जस्तै फेसबुक आजको आधारभूत आवश्यकतामा नपर्ला र? उनको प्रश्न छ।
 
ठाउँ न ठहर बूढीको रहर! अहिले मानिसहरुलाई सेल्फीको भूत यति चढेको छ कि यसले विभिन्न दुर्घटना पनि निम्तिएका छन्। चाडबाड, भोज भतेरमा मात्र नभई मरेका बाबुको जलाउन लागेको लाससँगै बसेर सेल्फी खिचेर 'सेल्फी विथ माई एक्स फादर' भनेर कसैले फेसबुकमा पोस्ट गर्ने दिन त आउँदैन? पुस्तकमा व्यङ्ग गरिएको छ।
 
हातमा पुस्तक लिएपछि पढिरहन मन लाग्ने खालका शब्दहरुले पाठकहरुको मन तरंगित पार्दछन्। १९ वर्षको विद्यार्थीकालमै लेखकले प्रविधिको सकारात्मक र नकारात्मक पाटोलाई उधिन्ने प्रयास गरेका छन्। व्यावहारिक जीवनमा मानिसले विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरेको छ भन्ने कुराहरु साहित्यमा सजिलोसँग भित्र्याएका छन् उनले।
 
जय फेसबुकमा लेखकले नवीन विषयको आयोजना मात्र गरेका छैनन् विषयको गहनतालाई कलात्मक लालित्यद्वारा उत्तुङ्ग पारेका छन्। विदेशी आगन्तुक शब्दले नेपाली भाषामा प्रवेश पाउनु राम्रो कुरा हो तर अत्यधिक आगन्तुक शब्दको प्रवेश र प्रयोगले नेपालीभाषाको मौलिकतालाई ध्वस्त पारी भाषालाई मधुमेह लाग्न सक्छ, फेसबुक चलाउने छोरा छोरीलाई इन्द्रेको बाबु चन्द्रे आए पनि केहि गर्न सक्दैनन् भन्दछन् उनी।
 
फेसबुकको अत्यधिक प्रयोग भएको देख्दा मार्क जुकरवर्गले फेसबुकमा मोहनी मन्त्र हालेछन् कि? सिँचाइ, स्वास्थ्य आदि मन्त्री जस्तै अब फेसबुक मन्त्री र मन्त्रालयको पनि व्यवस्था गर्नुपर्दछ कि? यस्तै यस्तै प्रश्न उठाएर उनी सटिक व्यंग्य गर्छन्।
 
बीचबीचमा कविता र  मुक्तकहरु राखेर अझ आफ्ना व्यङ्ग्यमा रस भरेका छन्। उनी एक सफल व्यङ्ग्यकार मात्र नभई सफल कवि र मुक्तककार हुन सक्ने कुरामा दुईमत छैन।
 
पुस्तकमा १६ वटा शीर्षक र उपशीर्षक छन्। सबैजसो शीर्षकमा फेसबुकको महिमा छ भने तीन शीर्षकमा भने लेखक छुट्टै विषयमा विचारशील देखिन्छन्। जुँगा शीर्षकमा भगवान् शिव र बुद्धका किन जुँगा छैनन्? के भगवान् मर्द हैनन् र? भनी उनी कौतुहल प्रस्तुत गर्छन्। जागिर शीर्षकमा विगत र वर्तमान परिवेशमा विदेश जाने मानिसहरुले ल्याएको मेडल र रेमिट्यान्सले देशको नाम उँचो भएको देख्नेहरुले आफ्नै देशमा काम गरे भने पसिनाको फल यही पाइँथ्यो भन्ने सकारात्मक सोच राख्छन्। के बुढेकालमा मात्र आएर बस्ने वृद्धाश्रम हो र हाम्रो देश? युवा पलायन हुनुमा उनी सरकारप्रति पनि दुखेसो पोख्दछन्।
 
हिजोआज फेसबुकको सही सदुपयोग गर्न नजानेर धेरै साथीहरुले आफ्ना सपना बर्बाद पारेका छन्। लेखकले पुस्तकमा समसामयिक विषयवस्तुलाई टपक्क टिपेर यो जटिल समाजलाई बडो सरल ढंगले उजागर गरेका छन्। व्यङ्ग्य साहित्य जगतमा यो पुस्तकले एउटा नयाँ आयाम थप्नेछ।
 
सम्पादक : प्रा.डा. कृष्णप्रसाद दाहाल
प्रकाशक : गीता तिमल्सिना
मूल्य : २१५ रुपैयाँ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell