PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विपी राजमार्ग अवरुद्द, ​सुख्खा पहिरोले सडक भासियो



पहिलोपोस्ट

विपी राजमार्ग अवरुद्द, ​सुख्खा पहिरोले सडक भासियो

काठमाडौं : सुख्खा पहिरोका कारण सडक भासिदा बीपी राजमार्गमा सवारी आवागमन बन्द भएको छ। सिन्धुलीको सितलपाटी गाविस खाल्टेमा झण्डै ५० मिटर सडकमा सुख्खा पहिरोले क्षति पुर्‌याएको छ। 

गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। सम्भावित जोखिमका कारण आइतबार उक्त सडक खण्डमा ठूला सवारीका यात्रु ओरालेर मात्र प्रहरीले सवारीसाधन चल्न दिएको थियो। 



पहिरो गएको स्थान खुर्कोटबाट करिव दुई किलोमिटर नजिक तामाकोशी र सुनकोशी नदीको संगमस्थल नजिक पर्छ।

सडक सुचारुको प्रयास भइरहेको छ। 

अत्याधिक भार भएका ठूला सवारीका कारण सञ्चालनको छोटो समयमा नै बीपी राजमार्गका विभिन्न खण्डको सडक जीर्ण बन्दै गएको छ।

राससका अनुसार राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको छ।  गएरातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन् । विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका छन् । रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा नै थन्किएर बसेका छन् । 

सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । 

यस्तै महोत्तरी हुँदै सिन्धुली भएर राजधानी आउने सवारीसाधन नपठाउनसमेत महोत्तरीलाई जानकारी गराइएको बताइएको छ । राति देखिको सवारी आवागमन ठप्प भएको र वैकल्पिक व्यवस्था गर्न सडक विभागसँग आग्रह गरेको प्रजिअ ताराबहादुर कार्कीले बताए। राजमार्ग भत्किएर तल खसे पनि सवारीसाधनलाई गन्तव्यमा पुर्‌याउन आफूले पहल थालिरहेको उनको भनाइ छ। 

वैकल्पिक सडक कतिबेला निर्माण हुन्छ यसै भन्न नसकिए पनि अलपत्र परेका सवारीसाधन तथा यात्रुलाई चाँडै गन्तव्यमा पुर्‌याउन लागिपरेको उनले बताए। 

सडकको जग बलियोसँग नबनाइनु, भूकम्पका कारण चर्किएको र सुनकोसीले बर्सातको समयमा जग खोलिदिँदा सडक भत्केको हुन सक्ने स्थानीयवासीले आङ्कलन गरेका छन् ।

तस्बिर @bp_koirala को ट्विटरबाट
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell