PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिराहामा हिमालय चिनी मिल सञ्चालनमा आएपछि किसान उत्साहित



रासस

लहान : केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिन्छन्। चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनी उखुखेती गर्न उत्साहित भएका हुन्।

विगतमा नजिकमा चिनी मिल नभएका कारण उनलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो। मिलबाट उचित मूल्य नपाएका कारण पनि उनी निराश थिए। 'कष्ट खेपेर उखु चिनी मिलसम्म पुर्‍याए पनि मिलले समयमा रकम दिँदैनथ्यो,' महतोले भने।

गाउँमै चिनी मिल खुलेपछि अब उनलाई उखु अन्यत्र पुर्‍याउनुपर्ने बाध्यता छैन। 'उखु ढुवानी गर्न सहज भएको छ,' उनले भने। हिमालय चिनी मिलबाट समयमै उखुको मुल्य पाउन थालेकाले उखुखेती गर्न उत्साह बढेको उनको भनाइ छ।

जिल्लामा चिनी मिल नुहँदा महोत्तरीको एभरेष्ट चिनी मिलसम्म उखु पुर्‍याउँदै आएका बिष्णुपुरका सन्तलाल शाह पनि गाउँ नजिकै चिनी मिल खुलेपछि खुसी छन्। 'मिलले समयमा उखुको मूल्य नदिँदा उखुखेती नै छाड्ने अवस्थामा पुगेको थिए,' उनले भने।

आफ्नै गाउँमा चिनी मिल खुलेपछि उखुको ढुवानी सहज र सस्तो भएको चन्द्रअयोध्यापुरका सोभित महतोको भनाइ छ। चन्द्रयोध्यापुरमा हिमालय चिनी मिल सञ्चालनमा आएपछि सिरहा र सप्तरीका उखु किसान हर्षित भएका छन्। सो मिलले गत मङ्सिर २० गतेदेखि चिनी उत्पादन थालेको हो।

उक्त मिलले करिब ३५० जनालाई रोजगारी दिएको छ। मिल सञ्चालन भएको दुई महिनाकै अवधिमा २० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गरेको मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिए। किसानलाई समयमा उखुको सुपथ मूल्यसँगै बीउ तथा सिँचाइ सुविधामा अनुदान दिँदै आएको उनी बताउँछन्। सो मिलले अहिले उखु प्रतिक्विन्टल रु ५१७ मा खरिद गर्दै आएको छ।

सिरहासहित सप्तरी, धनुषा, सर्लाहीका साथै छिमेकी मुलुक भारतका कतिपय ठाउँबाट समेत उखु मिलसम्म ल्याउने गरिएको छ। जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखु खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell