PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दुर्गा तिवारी हत्या प्रकरण : हत्यारा नखुलेपछि छानबिन समितिले लुसुक्क प्रतिवेदन बुझायो



पहिलोपोस्ट

दुर्गा तिवारी हत्या प्रकरण : हत्यारा नखुलेपछि छानबिन समितिले लुसुक्क प्रतिवेदन बुझायो

काठमाडौं : युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न गठन गरिएको छानबिन समितिले लुसुक्क प्रतिवेदन बुझायो।

अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको समितिले एक महिना लगाएर छानबिन गर्दासमेत हत्यामा को संलग्न हो ठोस प्रमाण केही पेला नपरेपछि उसले गृहमा चुपचाप प्रतिवेदन बुझाएको हो।

स्रोतका अनुसार हत्यारा को हो? प्रतिवेदनमा उल्लेख छैन।

घटना भएको केही घन्टामै प्रहरी र प्रमुख जिल्ला अधिकारीले हत्यामा संलग्नको पहिचान भइसकेको पक्राउ गर्न मात्र बाँकी रहेको दाबी गरेका थिए। उनीहरुले तिवारीको हत्यामा मनोज पुनलाई जोडेका थिए। प्रतिवेदनमा पुनबारे उल्लेख भए पनि उनले हत्या गरेको हो या हैन किटान नगरिएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो।

छानबिन समितिका सदस्य एसएसपी मनोज न्यौपानेले अनुसन्धानको नजिक पुगे पनि हत्याराको पहिचान नभएको स्वीकार गरे। ‘प्रमाणसहित हत्यारालाई पक्राउ नगरी यही व्यक्तिले हत्या गरेको हो भन्ने अवस्था छैन’ उनले भने।
 
संविधानको दोस्रो संशोधनमार्फत प्रदेशको सीमाङ्कन हेरफेर गर्ने सरकारी प्रस्तावको विपक्षमा बुटवल लगायतका क्षेत्रमा आन्दोलन चर्किएको बेला तिवारीको हत्या भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यसलाई राजनीतिक रङ्ग दिने प्रयास गरेको थियो। एमालेले राजनीतिक रङ्ग दिने प्रयास गरेपछि प्रशासनले यसलाई आपराधिक घटनासँग लगेर जोड्दै पुनलाई मौखिक आरोपी बनाएको थियो।
 
मनोजले फोन गरेर घटनाको जिम्मेवारी लिएको दाबी गर्दै आए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।
 
घटनाको अनुसन्धानमा संलग्न प्रहरी अझै तिवारीको हत्यामा पुननै संलग्न रहेको दाबी गर्छन्। पुन भारतमा भएको र पक्राउ गर्न नसकिएको उनीहरुको दाबी छ।
 
रुपन्देही प्रहरी कार्यलयका डिएसपी बेलबहादुर पाण्डेले भने, 'अनुसन्धान प्रगतिमा नै छ।'

प्रहरीका अनुसार पुनसँग आबद्ध व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउने प्रयाससमेत सफल भएको छैन। मनोज नेपाल बाहिर भए पनि हत्यामा संलग्न अन्य २ जना को हुन् भन्ने प्रहरीले खुलाउन सकेको छैन।
 
पुनले हत्यामा भाइबरबाट कल गर्ने भएकाले पुनको खोजी गर्न केही ग्राहो भएको डिएसपी पाण्डेले दाबी गरे।
 
'भारतमा भएका आशंकमा भारत प्रहरीको समन्वय गरेर पुनको खोजी गरिरहेका छौ' उनले भने।
 
निकट युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीमाथि पुस ४ मा रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो। देब्रे कोखामा गोली लागेका उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell