PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​कुनैदिन नेपालमा फुटबल खेलाडी नहुन सक्छन् -अनिल गुरुङ



गोविन्दराज नेपाल

​कुनैदिन नेपालमा फुटबल खेलाडी नहुन सक्छन् -अनिल गुरुङ

काठमाडौं : गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले सोलिडारिटी कप विजेता नेपाली फुटबल टीमलाई नगदसिहत सम्मान गर्ने कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले प्रधानमन्त्रीलाई माग राखे ‘फुटबल खेल्न लायक रंगशालको व्यवस्था होस्।’

गुरुङको मागमा प्रचण्डले छिट्टै खेलकुद मन्त्रालय र सम्बन्धित निकायलाई दशरथ रंगशालाको पुनर्निर्माण गर्न निर्देशन दिने बताए।
रंगशाला निर्माणका लागि सरकार प्रमुखले गरेको प्रतिवद्धता यो पहिलो थिएन।

यसअघिको सम्मान कार्यक्रममा पनि प्रचण्डले नेपालमा एउटा छुट्टै रंगशालको अवश्यकता रहेका भन्दै त्यसको लागि काम अगाडि बढाउन पहल गरिसकेको बताएका थिए।

तर, वास्तविकता एकै थियो –भएको दशरथ रंगशाला पुनर्निर्माण भएको छैन। सरकारसँग रंगशाला निर्माणका कागजी योजना त छन् तर, व्यवहारमा अघि बढेका छैनन्। जिम्मेवार निकायसँग इच्छाशक्ति छैन। 


रंगशाला बनाउँन बारम्बार झगझकाउँदा पनि न सरकारबाट पहल भएको छ, न त अन्य कुनै निकायबाट नै। राखेपको निर्देशनमा मर्मत–सम्भार भइरहेको दशरथ रंगशालमा काम पनि सुस्त गतिमा छ।

भौतिक पूर्वाधार अभाव र सुस्त तयारीमा नेपालले लागतार तीन ट्रफी जित्यो। तर, नेपाली फुटबलको भविष्य कता जाने हो थाहा छैन भन्छन् कप्तान गुरुङ।

‘यदि अहिले लिग हुने हो भने पनि १२ वटा क्लबलाई खेलाडी पुर्‌याउन गाह्रो छ,’ अनिल भन्छन’, ‘अहिले खेलाडी नै छैनन्।’
 

होम म्याच कहाँ खेल्ने ? 

एसियन कप छनोट अन्तर्गत फिलिपिन्स, ताजिकिस्तान र यमनसँगै नेपाल समूह एफमा छ। होम एण्ड अवे गरी नेपालले कुल ६ खेल खेल्नेछ। त्यसमध्ये ३ खेल घरेलु मैदानमा खेल्न पाउँछ।
 
तर अहिलेको अवस्था हेर्दा नेपालले घरेलु मैदानमा म्याच खेल्ने सम्भावना कम रहेको अनिल बताउँछन्। ‘हामी मार्च २८ मा फिलिपिन्समा गएर अवे म्याच खेल्छौँ तर होम म्याच नेपालमा कहाँ खेल्ने?’ उनी चिन्ता व्यक्त गर्छन, ‘सकेसम्म नेपालमै खेल्न पाए राम्रो हुन्थ्यो। नेपालमा खेल्न पाएन भने नेपाली फुटबलप्रेमीले लाइभ म्याच कहिले हेर्ने? गेट मनीबाट संकलन हुने रकम पनि पाउँदैन।’
 
नेपालमा फुटबलको क्रेज कति छ भनेर खेलप्रेमी सबैलाई थाहा छ। विभिन्न खालका प्रतियोगिता हुँदा त नेपालको रंगशाला भरिन्थ्यो भने अन्तर्रा्ष्ट्रिय म्याच हुँदा झनै दर्शकको उपस्थिति हुन्थ्यो। तर यो अवसरबाट वन्चित हुने सम्भावना रहेको अनिलले बताए।


एएफसी एसियन कप(२०१९ को छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलायो। जसमा गत नोभेम्बरमा एएफसी सोलिडारिटी कप जितेको २३ खेलाडी यथावत् थिए भने बाँकी १३ खेलाडी थपिए।
 
नेपालले आगामी मार्च २८ फिलिपिन्ससँग मनिलामा पहिलो खेल खेल्दै छनोटको यात्रा सुरु गर्दैछ। नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ भने पहिलेको तुलनामा अहिले थोरै खेलाडी मात्र राष्ट्रिय टोलीको प्रशिक्षणमा परेकोमा गुनासो गर्छन्।
 
‘हामीले पहिले खेल्दा राष्ट्रिय टोलीको प्रशिक्षणका लागि ६०/७० खेलाडीलाई बोलाइन्थ्यो। तर अहिले ३६ जना मात्र त्यो पनि बल्लबल्ल’, उनी भन्छन्।
 
नेपालमा तीन वर्षयता ए डिभिजन लिग हुन सकेको छैन। राष्ट्रिय लिगलाई पनि भूकम्पले असर पार्यो। त्यसपछि नेपालमा लिग भएन। एन्फा आफैँले कुनै पनि ठूलो फुटबल प्रतियोगिता गर्न सकेको छैन। त्यसलै पनि भएका खेलाडी पलायन हुने र नयाँ खेलाडी पनि आउन सकिरहेका छैनन्।
 
मोफसलमा हुने विभिन्न गोल्डकप फुटबल प्रतियोगिताले नै अहिलेको नेपाली फुटबल धानिरहेको अवस्था छ। राष्ट्रिय टोलीको प्रशिक्षणमा थपिएका खेलाडी पनि त्यहि गोल्डकपले नै सम्भव बनाएको हो।
 
गोल्डकप पनि नभएको भए खेलाडी पाउन झन् गाह्रो हुने अनिलको बुझाइ छ। ‘अहिलेकै अवस्थामा नेपाली फुटबल चल्ने र यसरी नै अगाडि बढ्ने हो भने एक दिन नेपालमा फुटबल खेलाडी नै हुँदैनन’, अनिल त्यो अवस्था आउनेसम्म संकेत गर्छन्।
 

नयाँ प्रतिभा जन्माउन जिल्लादेखि लिग ?

फुटबल खेलाडी उत्पादन गर्न नयाँ प्रतिभा जन्माउन र राष्ट्रिय टीम बलियो बनाउन अब तल्लो लेभलदेखि नै प्रतियोगिता गर्नुपर्ने बताउँछन् अनिल।

अन्य खेलाडीजस्तै अनिल पनि हरेक वर्ष जिल्लामा लिग हुनुपर्नेमा जोड दिँदै आएका छन्। ‘स्कुलस्तरीय फुटबल टुर्नामेन्ट हुनुपर्छ किनकि फुटबल प्लेयरहरु भनेको नै स्कुल लेभलदेखि नै आउने हुन्’, उनको यो सुझाव पनि हो’, ‘स्कुलबाट खेल्दा जिल्लामा पुग्छन्। जिल्लाबाट राम्रो खेलेपछि राष्ट्रिय लिगमा आँउछन्। त्यसपछि मात्र न राष्ट्रिय टीममा पर्ने हो।’
 
नेपालको सन्दर्भमा १२ ए डिभिजन क्लब हुनुपर्ने र समयमै लिग हुनुपर्नेमा उनको जोड छ। क्लबहरुले आफ्ना प्लेयरहरुलाई ट्रेनिङ दिने ग्राउण्डको व्यवस्था गर्ने र क्लबमा २०/२५ खेलाडी राख्ने प्रबन्ध मिलाउन सकियो भनेमात्र भविष्यमा राम्रा खेलाडी उत्पादन हुने देखेका छन् उनले।
 
‘१२ क्लबले २५ जनाका दरले खेलाडी राख्न सक्यो भने मात्र पनि तीनसय जनाले खेलेरै रोजगार पाउँछन्। पहिले यस्तो हुने गरेको भए पनि अहिले यो अवस्था छैन’, उनी निराश पनि छन्।
 

लिग नहुँदा खेलाडी पलायन ?

यहाँ रंगशाला छैन। रंगशाला नभएपछि खेल्ने स्थान हुँदैन। खेल्ने ठाउँ नभएपछि लिग हुँदैन। लिग नभएपछि खेलाडीले के गर्ने?
समयमा लिग हुन नसक्नु र खेलाडीको भविष्य सुनिश्चित नहुनु नै खेलाडी पलायनको मुख्य कारण मान्छन् अनिल।

लिग नभएपछि क्लबहरुले पनि खेलाडी कन्ट्रयाक्टमा राख्न सक्दैनन्। ’लिग नहुनाले नेपाली फुटबलमा आउने चाहने प्रायोजन पनि रोकिएको छ। खेलाडीहरु अन्योलमा छन’, उनी समस्या सुनाउँछन’, ‘नेपालमा खेलाडीहरुले यति दु:ख पाइरहेका छन् कि पढ्ने बेलामा केही गर्छु भन्ने बेलामा फुटबलमा लागियो तर फुटबल नै नियमित नभएपछि के गर्ने?’

यही अन्योलका कारण कतिपय फुटबल खेलाडी टिक्न नसकेर विदेशिएको उनको भनाइ छ।
 

लिग नहुनुको कारण रंगशाला ?

रंगशालामा फुटबल खेल्न लायक नहुनु नै नेपालमा लिग हुन नसक्नुको प्रमुख कारण मान्छन् अनिल।

‘एन्फाले पहल गरिरहेको छ, नेपाली लिग गराउनुपर्यो् भनेर दौडधूप गरिरहेका छन’, उनी भन्छन’, ‘तर यस्तो भयो कि हामीसँग एउटा मात्र स्टेडियम छ र त्यसको हालत पनि खराब छ।’
 
धेरै क्लब राजधानी केन्द्रित भएकाले पनि पूर्वाधार व्यवस्थापन गर्न समस्या भएको अनिल बताउँछन्। जति पनि क्लब छन् ती सबै काठमाडौंका छन्। क्लबहरु काठमाडौंमा सीमित हुनु र एउटा रंगशालमा हुनुको समस्या अनिलजस्ता खेलाडीको मात्र नभई क्लबका अन्य खेलाडीको पनि हो।
 
पछिल्लो एक दशक रंगशालमा लिग खेलेका अनिल रंगशाला व्यवस्थित भएको भए लिग भइराख्न सम्भव हुने उनी बताउँछन्।


 
रंगशालाको सट्टा अहिले एन्फा कम्पलेक्स सातदोबाटोमा रहेको मैदानलाई नेपालले प्रयोग गरिरहेको छ। भूकम्पपछिको राष्ट्रिय लिगका बाँकी खेल त्यहीँ भएको थियो भने यु-१९ साफ च्याम्पियनसिप, यु-१८ फुटबल प्रतियोगिता लगायतक खेल त्यहीँ भए। नेपालको ट्रेनिङ पनि त्यहीँ हुने गरेको छ।
 
अनिल त्यसलाई लिग खेल्नभन्दा पनि ट्रेनिङ गर्नको लागि मात्र उपयुक्त हुने ठान्छन्। ‘हामीलाई त्यहाँ लिग खेल्दा फिल नै आउँदैन। त्यो ट्रेनिङ सेन्टर जस्तो मात्र हो’, उनले बाध्यता सुनाए।
 
रंगशाला बनाउनका लगि एन्फाले मात्र नभई सरकारले पनि पहल गर्नुपर्ने अनिल बताउँन्। ‘अब सरकारले पनि यस विषयमा पहल गर्नुपर्छ। फुटबल मात्र होइन हरेक खेलकुदको लागि भौतिक पूर्वाधार चुस्त हुनैपर्छ’, उनले भने।
 
क्लबहरुको पनि आफ्नो स्टेडियम हुनुपर्ने, ट्रेनिङ गर्ने स्थान हुनुपर्ने भन्दै उनले सुनाए, ‘अहिले बालुवामा ट्रेनिङ गर्नुपरिरहेको छ।’

यस्तो विडम्बना छ नेपाली खेलाडीहरुको। के यही तरिकाले हामी अन्तर्राष्ट्रिय लेभलमा पुग्न सक्छौं?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell