PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'७ क' ले बनायो डा. पोखरेललाई निमित्त आइजी



'७ क' ले बनायो डा. पोखरेललाई निमित्त आइजी

काठमाडौं : नेपाल प्रहरीको रिक्त प्रमुखको विवाद सल्टाउन सरकारले नेपाल प्रहरी सम्बन्धी संशोधन गरेको नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको छ।  

राजपत्रमा फागुन २ गते मिति राखी प्रकाशित सूचना अनुसार प्रहरी ऐन, २०१२ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी सरकारले प्रहरी नियमावली संशोधन गरेको हो। प्रहरी निमायवली, २०७१ को नियम ४६ मा संशोधन गरिएको छ। 

प्रहरी नियमावलीको नियम ४६ को उपनियम (७) पछि निम्न उपनियम (७ क) थपिएको हो। 

थपिएको उपनियममा प्रहरी महानिरीक्षकको पद कुनै कारणले रिक्त हुने भएमा वा प्रहरी महानिरीक्षकले कुनै कारणवश सो हैसियतमा काम गर्न नसक्ने भएमा नेपाल सरकारले प्रहरी सेवाको वरिष्ठतम् प्रहरी अतिरिक्त महानिरीक्षकलाई निमित्त प्रहरी महानिरीक्षक भई काम गर्ने गरी तोक्ने र यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी अतिरिक्त महानिरीक्षकको हुने उल्लेख छ। 

सरकारले आइतबार डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्त गर्ने निर्णय गरेको केही घण्टामै सर्वोच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अर्को पेशी फागुन ८ गते तोकेको हुनाले ३० वर्षीय सेवाअवधिका कारण फागुन २ गते आइजी उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि रिक्त स्थानमा कसलाई नियुक्त गर्ने भन्ने बारे अन्यौल भएपछि सरकारले हतारमा नियमावली संशोधन गरी प्राविधिकतर्फका एआइजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त आइजी नियुक्त गरेको हो। 

प्रहरी नियमावलीमा प्राविधिकतर्फका अधिकृतलाई निमित्त दिन मिल्ने या नमिल्ने केही उल्लेख छैन। तर प्राविधक प्रहरीको नियमावलीमा भने प्राविधिक प्रहरीको माथिल्लोतहको पद एआइजी सम्म मात्रै हुने उल्लेख गरेर आइजीपी हुने बाटो रोकेको थियो।

३ वर्ष अगाडि एआइजी नियुक्त नहुँदा आइजीपी उपेन्द्रकान्त अर्यालले प्राविधिकतर्फका एआइजी रामनाथ सिंहलाई निमित्त दिँदा नियमावली संशोधन भएको थिएन।

तर सरकारले आइजीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेसँगै प्रहरीबारे सर्वोच्च अदालतमा रिट पर्ने क्रम शुरु भएपछि निमित्तको विषयसमेत अदालत पुग्नसक्ने देखेर सरकारले बैठकमार्फत् हतारमा नियमावली संशोधन गरेर कानुनी व्यवस्था नै गरेको हो।

निमित्त पदमा आइजीले नियमित काम गरे पनि उनको पद एआइजीनै रहन्छ र उनको सेवा सुविधा एआइजीसरह नै हुन्छ। प्रहरी नियमावली २०७१ अनुसार कायममुकायम नियुक्त गर्ने अधिकार सरकारको हो । निमित्त र कार्यवाहक प्रहरी प्रमुखले नै तोक्नसक्ने कानुनी प्रावधान छ।

यसैबीच प्रहरी प्रधान कार्यालयले नेपाल सरकारको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म फागुन ३ गतेदेखि लागू हुने गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक भई कामकाज गर्न तोकिएको व्यहोरा प्रहरी किताबखाना लगायत सबै प्रहरी कार्यालयमा बोधार्थ पठाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell