PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चिना च्यातेपछि जोडिएको सम्बन्ध : पूर्व-डिआइजी हेमन्तको प्रेमयात्रा



पहिलोपोस्ट

चिना च्यातेपछि जोडिएको सम्बन्ध : पूर्व-डिआइजी हेमन्तको प्रेमयात्रा

केपी ढुंगाना/ सविन ढकाल


काठमाडौं : सविता शाह।
 
दिल्लीमा रहेको होस्टलमा नाम बोलाइएपछि उनी गइन्। सहयोगीले चिठी पो दिए। नेपालमा रहेका उनको परिवारका कसैले चिठी पठाउँदैनथे! छक्क परिन् उनी।
 
खाममा नाम हेरिन्, हेमन्त मल्ल। सुनेको तर देखादेखा नभएको नाम।
 
चिठी खोलिन्। लामो पत्रसँगै फोटो पनि रहेछ। उनले पत्रलाई एकातिर पन्छाइन् र फोटोमा आँखा दगुराइन्।
 
हैट!
 
उनले फोटोमा युवकको अनुहार होइन कान र नाक मात्रै देखिन्। उछिट्टिएका गालाका हड्डी। पुलिसको युनिफर्म लगाएका च्याँसे, दुब्लो युवक।
 
पत्र हेरिन्। बढो भावुक। शब्दशब्दमा प्रेमभाव छाताछुल्ल पोखिएका थिए। सायरीले शब्दलाई थप स्वादिलो बनाएको थियो।
 

सविताको चिठी आएको होस्टलमा हल्ला फैलिइसकेको थियो। होस्टलभरिका युवतीका माझ उनले आफ्नो नाममा आएको पहिलो प्रेमपत्र पढिन्।
 
'चिठी निक्कै लामो थियो। भावनाले भरिएका,' आफ्नै घरको आँगनमा प्रेमका भावना फुकाउँदै उनले भनिन्, 'तर फोटोले आकर्षण गरेन। बिचरा लाग्यो।'
 
सविताले बिचरा भन्दा हेमन्त छेउमै थिए। उनले सविताको मुहारमा पुलुक्क हेरे र मुस्कुराए। दुवैको नजर जुध्यो। माहोल रोमान्टिक बन्दै थियो।
 
'प्रहरीको तालिम सक्किए लगत्तै खिचेको फोटो कहाँ ह्यायान्डम हुन्छ त,' हेमन्तले भने, 'त्यो बेला जे फोटो थियो त्यही पठाएँ।'
 
दुवै हाँसे।
 

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙


'नेपाल प्रहरीका पूर्व डिआइजी मल्लको प्रेमयात्रा रमाइलो छ नि।'
 
फेब्रुअरी १४ का लागि प्रेम कहानीको खोजी क्रममा ठोक्किन आएको सूचना भेरिफाई गर्नैपर्‍यो। तर शंका थियो मनमा। सधैं सुरक्षाबारे गफिने व्यक्ति नितान्त व्यक्तिगत पाना पल्टाउन राजी होलान् र!
 
ट्राई मारौं न! टेलिफोन सम्पर्कमा आएका उनीसँग सुरक्षाबारे सामान्य गफगाफपछि मुल विषयमा प्रवेश भयो।
 
'एउटा व्यक्तिगत प्रश्न सोधौं?'
 
'हुन्छ!'
 
'तपाईंको लभम्यारिज कि एरेन्ज?'
 
'दुवै होइन। मेरो त चाइल्ड लभ र एरेन्ज।'
 
चाइल्ड लभ र एरेन्ज?!! विषय पक्कै रोचक हुने नै भयो।
 
उनी पहिलोपोस्टसँग आफ्नो प्रेमयात्रा साट्न राजी भए। हामी हुइँकिइहाल्यौं उनले दिएको लोकेसन विशालनगर।
 
निवासमा पुग्दा उनी ट्रयाकमा थिए।
 
'यो त भएन। भ्यालेन्टाइनको स्टोरी हो। रोमान्टिक ड्रेस लगाउनुपर्‍यो।' हामीले यसो भनेपछि उनी 'हो त' भन्दै हौसिए र कोठाभित्र छिरे।
 
केही मिनेटको अन्तरालमा आँखा मिच्दै ढोकामा देखिइन्, सविता।
 
'अफ डेमा सुत्न पनि नदिने!'
 
हामी मुस्कुरायौं मात्र। दुवै राजी भएसँगै सुरु भयो प्रेम संवाद।
 

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙


१९६७ अगस्ट।
 
नेपालगन्जको शाह परिवारमा नयाँ सदस्यको आगमन हुँदै थियो। परिवारको त्यो खुसीमा कैलालीका मल्ल परिवार सँगै थियो।
 
उज्याली नवजात बालिकाको मुहार देख्नासाथ मल्ल परिवारका सदस्यले हकदाबी गर्दै भने, 'यी त हाम्री बुहारी हुन्छिन्।'
 
ती उज्याली बालिका उनै सविता थिइन्।
 
बाल्यकाल सकिएसँगै सविता पढाइका लागि भारतको लखनउ गइन्। हेमन्त भारतको नैनीताल।
 
हेमन्तको घरमा सविताबारे कुरा भइरहन्थ्यो। उनकी आमाले 'मैले बुहारी छानिसकेकी छु है' भनिरहन्थिन्। सविता आफ्नै दुनियाँमा थिइन्। घरमा भइरहने कुराकानीले किशोर उमेरका हेमन्तको मनमा भने सविताप्रति प्रेम अँकुराइसकेको थियो। त्यसैको परिणाम थियो त्यो प्रेमपत्र।
 
इन्सपेक्टरको तालिमबाट पासआउट भएर लहान पुगेका बेला उनले प्रेमपत्र पठाएका रहेछन्। तर आँट एक्लैले जुटाएका थिएनन्।
 
चिठी पठाएपछि हेमन्त त्यसको जवाफ कुर्न थाले। पक्कै सविताले प्रत्युत्तर दिनेछिन्। र, प्रेमले कोरिएका शब्दहरु स्पर्श गर्दै पढ्न पाउनेछु।
 
'बहिनी कल्पनाले उक्साएर आफैंले मेरो नाममा पत्र लेखेकी हुन्,' पहिलो प्रेमपत्रको राज खोल्दै उनले भने, 'फोटो पनि पठाउनुपर्छ भन्दै उनले नै पासआउट हुँदा युनिफर्म लगाएको फोटो खाममा हालिदिइन्।'
 
हेमन्तलाई आशा रहेछ पक्कै पत्रको जवाफ आउनेछ। तर आएन। उनले चिठी लेख्न भने छाडेनन्। पटक-पटक लेखिरहे। जवाफको प्रतीक्षामा।
 
'मेरो यो सुनसान क्वाटर तिम्रो प्रतीक्षामा छ, म व्यग्रताका साथ तिम्रो बाटो हेरिरहेको छु।'
 
करिब तीन महिनापछि पत्र आयो। जसमा प्रेम प्रस्ताव स्वीकार गरिएको थिएन र अस्वीकार पनि। पत्रका शब्द डिप्लोम्याट थिए।
 
'धेरै पत्र लेखेपछि बिचराले कति दु:ख गरेको होला भन्ने लाग्यो। त्यसपछि मात्रै मैले पत्रको जवाफ दिएँ,' सविताले पत्रको किस्सा सुनाइरहँदा हेमन्तले बीचैमा कुरा काटे, 'कहाँ त्यस्तो हुनु, होइन है।'
 
सविताले थपिन्, 'एक-दुई लाइन मात्र हुन्थ्यो र पेजैपेजको पत्र आउँथ्यो। 'हेन्डराइटिङ पनि खराब। पढ्नै गाह्रो हुने।'
 
हेमन्त सवितालाई हेरेर हाँसिरहे।
 
पत्र आदानप्रदानको क्रम दुई वर्ष जारी रह्यो। हेमन्त आफ्नै सबै भावना पोख्थे पत्रमा। बिचरा भन्दै उत्तर फर्काएकी सविता पनि बिस्तारै खुल्दै गइन् पत्रमा। साडी लगाएको तस्बिर समेत पठाइन्। प्रत्यक्ष भेट नभए पनि दुवै एकअर्काको आनीबनीप्रति परिचित भए।
 

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙


पत्र मार्फत भावना साटासाट भए पनि सविताको परिवारले विवाहका लागि अरु नै केटा देखाइरहेका थिए। तर कसैसँग कुरा मिलेन।
 
यता हेमन्त भने उनकै प्रतीक्षामा थिए।
 
'परिवारमा हाम्रो विवाहबारे कुरा चलेपछि नै उनी मेरो मनमा बसिसकेकी थिइन्,' रोमान्टिक मुडमा हेमन्तले भने, 'उनलाई देखेको पनि थिइनँ। तर खोइ के भयो-भयो, अबको जीवनसाथी उनै हुन् भन्ने थियो।’
 
परिवारमा यी दुवैको विवाहको चर्चा भने जारी थियो। हेमन्तकी आमा आफूले छानेकी सवितालाई नै बुहारी बनाउने पक्षमा थिइन्। सविताको परिवारले भने उनलाई कर गरेका थिएनन्।
 
परिवारमा विवाहको चर्चा भए पनि दुवैबीच भेटघाट र देखादेख समेत भएको थिएन।
 
‘एकपल्ट हेमन्त हाम्रो घरमा आएको थियो। 'हेमन्त आयो है तँलाई हेर्न' भनेर अरुले भन्दैथे तर मैले त्यतातिर वास्तै गरिनँ,’ सविताले यसो भन्दा हेमन्त कर्के नजर लगाएर उनलाई हेरिरहेका थिए।
 

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙


२०४७ माघमा सविता दिल्लीबाट नेपाल फर्किइन्। नेपालगन्जमा रिक्सा चढेर घर जाँदै गर्दा बाटामा भाइसँग भेट भयो।
 
'दिदी तेरो त बिहेको टुंगो लागिसक्यो नि।'
 
'ए हो र' भनेर उनले वास्तै गरिनन्। केही पर पुगेपछि पो झसङ्ग भइन्। रिक्सा रोक्न लगाएर भाइलाई सोधिन्, 'कोसँग?'
 
'त्यही क्या, हेमन्त।'
 
∙∙∙
मल्ल र शाह परिवारमा यी दुवैको विवाह गराउन चिना हेराइयो। तर दुवैको चिना मिलेन। चिना नमिली कसरी विवाह गर्ने!
 
हेमन्तले चिना च्यातेर फालिदिए। विवाह तय भयो तैपनि अझै भेट भएको थिएन दुवैको।
 
सविता विवाहको सपिङका लागि परिवारसँगै बजार निस्केको बेलामा हेमन्त देखिए। 'ऊ नै हो कि होइन भनेर सुरुमा त शंका लाग्यो। फोटोमा उसको तालु थियो, भेट्दा त कपाल भएकै देखेँ,' पहिलोपटक हेमन्तलाई देख्दाको क्षण सम्झिइन् उनले।
 
उनलाई परिवारले हेमन्तसँग कुरा गर्छ छाडिदिए। उनी केही बेरमै फर्किइन्। छोरी चाँडै फर्किएको देखेर आमाले सोधिन्, 'कस्तो लाग्यो छोरी हेमन्त?'
 
'बोरिङ्' सविताले हाँस्दै त्यो बेलाको जवाफ सुनाइन्।
 
२०४७ माघ २४ मा सविता हेमन्तकी भइन्, हेमन्त सविताको।
 

∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙∙


दुवैको भिन्न स्वभाव देखिइरहेको थियो एक घन्टाको बसाइमा। हुन पनि ठ्याकै उल्टो रहेछ दुवैको स्वभाव र रोजाइ।
 
हेमन्तलाई दालभात मन पर्ने, सवितालाई चिनियाँ खाना। हेमन्त एकान्त प्रेमी, सविता पार्टीमा जान, फिल्म हेर्न र रमाइलो गर्न मन पराउने।
 
हेमन्तले साथ नदिँदा धेरै पटक उनी एक्लै घुम्न गएकी रहिछिन्। हलमा गएर एक्लै फिल्म हेरेको उनी सुनाउँदै थिइन्।
 
दुवै एक भएको साढे दुई दशक बितिसकेको छ। र, दुवैखुसी छन् भन्ने उनीहरुको व्यवहारले देखाइरहेको थियो।
 
'हामीबीचको धेरै स्वभाव मिल्दैन, यही फरक स्वभावले नै एकापसमा बाँधेको छ,' दुवैको फरक आनीबानी खोतल्दै हेमन्तले भने, 'हामी पतिपत्नीकै दायरामा मात्र बसेको भए सम्बन्ध यस्तो हुँदैनथ्यो। अहिले पनि हामी साथी जस्तै छौ, सम्बन्धमा कुनै औपचारिकता छैन, हामी जस्तो छौ त्यस्तै व्यवहार गर्छौं।'
 
कचकचविहीन नै चलिरहेको छ त जीवन!
 
‘श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा उतारचढाव त हुन्छ नै। हामी कचकच नगरी  एक छिन पनि बस्न सक्दैनौं,' हेमन्तले हाँस्दै भने, 'एक छिन कचकच भएन भने त खानै रुच्न छाडिसक्यो।'
 
फरक स्वभाव भए पनि दुवै निक्कै खुसी छन्। चकचके व्यवहार अझै उस्तै छ।
 
कसरी?
 
'एकअर्कोलाई अरुसँग तुलना नगर्ने, एकअर्काको पेसाको सम्मान गर्ने र दुवैको कमजोरीलाई स्वीकारेर असल बानीलाई प्रोत्साहन गर्ने,' सविताले कुराकानीको बिट मारिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell