PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्मीझैं लाग्ने रियल प्रेम : विवाह तोडेर दीपकसँग यसरी भागेकी थिइन् लक्ष्मी



स्वेच्छा राउत

फिल्मीझैं लाग्ने रियल प्रेम : विवाह तोडेर दीपकसँग यसरी भागेकी थिइन् लक्ष्मी

काठमाडौं : घरमा अभिभावक र आफन्त लक्ष्मी लिम्बुको विवाहको तयारीमा थिए। पाहुनाको भिड, घर सजावट। बिहेको रमझमले घरको माहोल नै बेग्लै।
 
जसको विवाहको तयारी चल्दै थियो उनको मनमा भने एकरति पनि उत्साह थिएन। एकातिर आफूलाई औधी माया गर्ने प्रेमी। अर्कोतिर बुबाआमाको निर्णय।

२०५६ बैसाख २३ गतेको लगन। आफन्तको घर–घरमा बिहेको कार्ड पुगिसकेको थियो। तर, १५ वर्षीया लक्ष्मीको विवाहको कथामा ट्वीस्ट आयो। बैसाख १८ गते स्कुल हिँडेकी लक्ष्मी घर नै फर्किनन्। भागिन् आफ्नो प्रेमीसँग।
 
सुन्दा कुनै फिल्मी कथाजस्तो लाग्ने घटनाको एक पात्र बनिन् लक्ष्मी लिम्बु। जसका प्रेमी थिए– गायक तथा गायन प्रतिभा खोजीको पहिलो नेपाली तारा दीपक लिम्बु।
 
कुराकानीका क्रममा निकै लामो हाँसोपछि दीपक भन्छन्, ‘उसको मागी विवाहमा भिलेन बनेर भागी विवाह गरेको।’
 
दीपक र लक्ष्मीको प्रेमकथामा अर्को रोमाञ्चक पक्ष छ। २०५६ सालमा भागेर विवाह गर्ने निर्णय लिँदा दुवै भर्खर कक्षा ९ मा पढ्थे। उमेरले दीपक १७ वर्षका र लक्ष्मीले १५ मात्र टेकेकी थिइन्।
 
‘केही योजना नै थिएन नि। उसको परिवारले अन्तै विवाह गराइदिने भएपछि हामीले भाग्ने निर्णय गरेका हौं,' विवाहअघि भाग्नुको जोखिम मोलेको घटना स्मरण गर्दै दीपक सुनाउँछन्, ‘म भर्खरको अल्लारे केटो। उसको घरमा माग्नै गएको भए पनि छोरी दिने अवस्था थिएन।’
 
सुनसरीको प्रकाशपुर माविमा सहपाठी थिए दीपक र लक्ष्मी। राम्री लक्ष्मीलाई मन नपराउने र नजिस्काउने कमै थिए स्कुलमा। धेरै मध्येका दीपक एक थिए। सात कक्षामा पढ्दै गरेको घटना स्मरण गर्दै दीपक भन्छन्, ‘कक्षा ७ पढ्दै गर्दा आँट गरेर मैले प्रेम प्रस्ताव राखेँ। उनले पनि स्वीकारिन्।’
 
दीपकले प्रेमको सुरुवाती दिन सम्झँदा छेउमै रहेकी लक्ष्मीले लजाउँदै थपिन्, ‘मलाई पनि मनपर्थ्यो नि त।’
 
सानैदेखि गीतसंगीतमा रुचि राख्ने दीपक स्कुलको कार्यक्रममा पनि गाउँथे। दीपकको स्वरमा लट्ठै परेकी लक्ष्मी फ्यान नै बनिसकेकी थिइन्। दीपकले गाउँदा केही लजाएजस्तो गर्ने लक्ष्मीलाई साथीहरुले दीपकको नाम जोडेर जिस्काउँथे। प्रेम प्रस्तावको प्रक्रियापछि त दुई जनाले नै एकअर्कासँग आफ्नो नाम जोडे। स्वच्छ प्रेमका अघिल्तिर उनीहरु कमजोर हुन चाहेनन्। बिस्तारै साथीभाइले थाहा पाउँदै गए।
 
सुरुमा दुवैले सम्बन्धबारे लुकाउन नखोजेका होइनन् तर केही निकट साथीहरुले थाहा पाइहाले। बरु साथ दिन थाले। भेट्नुपर्दा तिनै साथीहरुको बहाना गरेर घरबाट भेट्न निस्किएको सम्झन्छिन् लक्ष्मी। ‘सम्बन्धमा रहनु भनेको निकै अप्ठ्यारो कुरा थियो। तर एउटै कक्षामा पढ्ने भएकाले पनि भेट्न, कुरा गर्न धेरै असहज भएन।’
 
दुई वर्ष प्रेम सम्बन्धमा रहेका यी दुईको लागि लक्ष्मीको बिहेको कुरा चल्नुले मानसिक द्वन्दमा पुर्‍यायो। सामाजिक संरचना पनि त्यस्तै थियो। आफ्नो सम्बन्धबारे न खुलेर कुरा गर्न सकिने न आमा–बुवाको कुरा काँटेर विवाह गर्दिन भन्न नै सकिने।
 
विवाहको पाँच दिनअघिसम्म पनि मौन रहेकी लक्ष्मीले घरमा खोल्न नसकेको मुख दीपकसँग खोलिन् र दीपकको भाग्ने योजनामा साथ दिने बताइन्।
 

यसरी बन्यो भाग्ने योजना

बिहानको १० बजे स्कुल जाने भनेर लक्ष्मी दीपकसँग हिँडिन्। केही लुगा र सामान बोकेर। तर, योजनाबिनाको भगाइ थियो। दिनभर हिँड्दा पनि कहाँ गएर बस्ने टुङ्गो थिएन।
 
‘घरमा के भयो, कसो भयो भन्ने कुराको अलिकति पनि डर थिएन। जङ्गलै जङ्गलको बाटो कता गएर बस्ने होला भन्ने पिरलो मात्र थियो,’ लक्ष्मी ‘नोस्टालजिक’ भएर सुनाउँछिन्, ‘चाउचाउ खाँदै हिँडेको याद छ। डरले हो कि किन हो दिनभर हिँड्दा पनि थाकिएन।’
 
सुनसरीबाट हिँडेको जोडी रात झमक्क परेपछि उदयपुरको गाईघाट पुगे। दीपकले लक्ष्मीलाई साथीको दिदीको घरमा पुर्‍याए। लक्ष्मीलाई लिएर भाग्ने योजनाबारे दीपकले केही साथी र आफ्‍नी दिदीलाई भनेका थिए रे। यो कुरा लक्ष्मीलाई पछि मात्र थाहा भयो।
 
‘कसैलाई थाहा छैन भन्नुहुन्थ्यो। तर घरको सबैलाई थाहा रहेछ। भोलिपल्ट पनि दिनभर हिँडाएर मामाको छोरीकोमा पुर्‍याएपछि पो थाहा भयो,’ लक्ष्मी भन्छिन्।
 
एक हप्ता उदयपुरमा बिताएपछि दुवै सुनसरी फर्किए। पारिवारिक जमघटबीच विवाह भयो। विवाह गरेको केही महिनापछि उनीहरु पुनः स्कुल जान थाले।
 
घरमा पनि, स्कुलमा पनि। अब दुवै सँगसँगै हुन थाले।
 
लक्ष्मीलाई भगाएको पाँच महिनापछि उनको परिवारले पनि दीपकलाई ज्वाइँ  स्वीकारे। त्यसपछिका दिन भने निकै सहज बन्न थाले।
 
दीपक भन्छन्, ‘युवा अवस्थाको जोस होला। त्यही जोसले निडर बनायो। परिणाम गलत हुन सक्थ्यो किनकि म जिम्मेवारी उठाउन सक्ने थिइनँ। तर हामीलाई परिवारको साथ रह्यो।’
 
२०५७ सालमा एसएलसी दिएपछि दीपक कलेजसँगै संगीत कक्षा भर्ना भए।
 
दीपकको औपचारिक संगीत यात्रा अब सुरु भयो। जीवनमा लक्ष्मीसँगै गायन जोडियो। सुरुवातदेखि नै लक्ष्मीको साथ रह्यो। पहिले गायन रुचि थियो। लक्ष्मीको साथले दैनिकी बन्यो।
 
‘मेरो लागि खुब गीत गाउनुहुन्थ्यो’, दीपकतिर हेर्दै लक्ष्मी भन्छिन्’, अहिले पो स्रोताको लागि गाउनुहुन्छ।’
 
दीपकका अनुसार लक्ष्मीको गुनासो रहन्छ रे, समय नै नदिने। ‘तर व्यस्तताबीच पनि पत्नी, छोरा, परिवार सबैलाई समय दिन कोसिस गर्छु,' कार्यक्रमहरुमा व्यस्त भइरहने दीपक सुनाउँछन्।
 
कलिलो उमेरमै लिएको जोखिम बनेको थियो दीपकका लागि भागी विवाह। तर उनलाई आफ्नाहरुले एक्लै छोडेनन्। परिवार, आफन्त र साथीहरु उनको प्रेमको पक्षमा उभिए। सबैको साथले उनी आफैंलाई बलियो बनाएर उभ्याउन सफल भए।
 
‘सुरुवातमा प्रेम थियो वा आकर्षण मात्र तर समयले मलाई गहिरो मायामा पार्‍यो। विवाहले मलाई जिम्मेवार बन्न सिकायो,' दीपक त्यो जोखिमले नै आफूलाई जिम्मेवार बनाउन सहयोग गरेको ठान्छन्, 'त्यो अवस्थामा सिर्जना भएको हरेक परिणामलाई सम्मान गरेर नै अघि बढिरहेका छौं।'
 

काठमाडौं आगमन र नेपाली तारा

छोरा जन्मिएपछि उनीहरु २०६१ सालमा काठमाडौं आए। दीपक, लक्ष्मी र छोरा दीपेन।
 
२०६२ मा दीपकको जीवनले नयाँ मोड लियो। मोफसलमा गीत सिकेर आएको दीपकले सांगीतिक कार्यक्रम ’नेपाली तारा’मा भाग लिए। खाली समयको उपयोग र सांगीतिक यात्राको लागि अनुभव बटुल्न प्रतिस्पर्धामा उत्रिएका उनले पहिलो नेपाली ताराकै उपाधि हात पारे।
 
‘जित्छु भन्ने थिएन तर पूरै समय, मेहनत खर्चेर प्रस्तुत भए। सिक्नका लागि अवसर थियो। जित्नका लागि ठाउँ पनि। सबैभन्दा बढी मलाई लक्ष्मीको साथ थियो,’ दीपक सुनाउँछन्।
 
उनका वरिपरि गायक बनेर टिक्न र बिक्न सक्ने अवस्था छैन। यो हुटहुटी छोडेर अघि बढ् भन्ने धेरै थिए। लक्ष्मी थिइन् ‘गाउन नछोड्नु’ भन्ने। लिम्बु भन्छन, ‘मेरो पहिलो प्रेम लक्ष्मी दोस्रो गीत। मेरो दोस्रो प्रेमलाई लक्ष्मीले पनि प्रेम नगरेको भए म नेपाली तारा हुन्नथेँ।’
 
खाली समयको उपयोगले उनलाई तारा बनायो। त्यसपछि उनले कहिल्यै खाली बस्न परेन। पछाडि फर्कन परेन। श्रेय दिन्छन् लक्ष्मीको साथ, विश्वास र सहयोगलाई।
 
स्थापित गायक भएपछि स्टेज शो र कार्यक्रम, रेकर्डिङमा व्यस्त हुन थाले दीपक। लक्ष्मी भन्छिन्, ‘सुरुमा त धेरै व्यस्त हुँदा राम्रो लाग्दैनथ्यो। पछि बुझ्दै गएँ, अहिले खाली बस्दा अनौठो लाग्छ।’
 
दीपकका प्रेम र आधुनिक गीतहरु 'मैले त्यै भएर मन पराको', 'नाइँ नभन्नु ल', 'मैले माया गर्न जानिन होला', 'मुटु माग्यौ तिमीले', 'सिम्पल–सिम्पल कान्छीको' निकै सफल भए। गीतको सफलता दीपकको सपनाको सफलता मान्छिन् लक्ष्मी। भन्छिन, ‘आम मान्छेले उहाँको गीत सुन्दा, गुनगुनाएको देख्दा खुसी हुन्छु। उहाँले अझै धेरै गीत स्रोताको बनाउन बाँकी छ जस्तो लाग्छ।’
 
उनले दीपकको संघर्षमा आफ्नो साथ आवश्यकता महसुस गरिन्। दुईबीचको युवा प्रेमले निम्त्याएको अवस्थाले उनलाई पनि कलिलो उमेरमै जिम्मेवारीहरु चिनायो। त्यसैले सुख, दुःख दुवै परिस्थितीलाई दीपक बरावर आफ्नो पनि दायित्वको रुपमा स्वीकारिन्।
 
दीपक भन्छन, ‘हामीले एक अर्काबाट सिक्दै, सिकाउँदै अघि बढ्यौ। असमझदारीहरुले पनि ठाउँ पाएका थिए तर झाँगिन दिएनौं।’
 
फिल्मी लभ स्टोरीको प्लट’जस्तो लाग्ने कथामा केही कमेडी प्लट छन् र केही दुःखद प्लट पनि। दीपक र लक्ष्मीले ‘रिल’ हैन ‘रियल’ सिनहरु भोगे।
 
‘जिन्दगी भोग्न सुरु पनि नहुँदै, १५/१६ वर्षको कलिलो उमेरदेखि जति भोग्यौं सँगसँगै भोग्यौं,' दीपक भावुक बन्छन्, 'हाम्रो प्रेमकथाले केही सन्देश देला–नदेला तर हामीलाई चिनेकाहरुको लागि हामीले गरेको संघर्ष र साथको कथा उदाहरण बन्न सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell