PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

मुलुकभरी बाढीको चपेटा, ५३ को मृत्यु, ७५ बेपत्ता



मुलुकभरी बाढीको चपेटा, ५३ को मृत्यु, ७५ बेपत्ता

अपडेट :  गृह मन्त्रालयले दिएको आधिकारिक जानकारी अनुसार शुक्रबार रातिसम्म देशभर बाढीपहिरोका कारण ५३ जनाको मृत्यु भएको छ भने ७५ जना बेपत्ता छन्। सुर्खेतमा सबैभन्दा बढी २० जनाको मृत्यु भएको छ। देशभर कहाँ कतिको मृत्यु भयो ? तलको नक्सामा हेर्नुस्
अपडेट: सुर्खेतका विभिन्न ठाउँमा गरी १५ जनाको शव भेटिएको छ। हिजोदेखि परेको अविरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरो तथा बाढीमा मृत्यु हुनेको संख्या १५ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए। बस्नेतका अनुसार भेरी आसपासका कतिपय गाउँ नै बगाएकोले मृतकको संख्या अझै बढ्ने सम्भावना छ। 'सुर्खेत सदरमुकामबाट पश्चिममा पर्ने विभिन्न गाउँमा कतिपय बस्ती नै डुबानमा परेको देखिएको छ। सेनाको हेलिकोप्टर उद्दारको लागि घटनास्थल तर्फ गइसकेको छ', बस्नेतले भने।

काठमाडौं : गएका केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले मुलुकका विभिन्न भागमा डुबान हुनुका साथै ठूलो मात्रामा धनमाल क्षति भएको छ।

केन्द्रीय दैवीप्रकोप उद्दार समितिको विवरण अनुसार बाढी पहिरोबाट १४ जनाको मृत्यु भएको छ। यो बिहीवारदेखिको विवरण हो। बाढी पहिरोबाट देशभर १८ जना घाइते भएका छन् भने ११ जना बेपत्ता भएका छन्। २३ घरमा पूर्ण क्षति पुगेको २४ घरमा आंशिक क्षति पुगेको छ। 

रुकुममा पहिरोबाट तीनजनाको मृत्यु भएको छ। रुकुमका प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलका अनुसार चुन्वाङ ८ सिन्चौरमा नन्दराम घर्तीको घर पहिरोले पुर्दा ७ वर्षीय विजय घर्ती र १० वर्षिय विमला घर्तीको मृत्यु भएको छ। पहिरोमा १४ वर्षिय पुर्णिमा घर्ती र रुकुमकोटबाट पाहुना आएकी ६ वर्षिय कमला मल्ल घाइते छन्। यस्तै  स्यालापाखा गाविस १ बतासेडाँडामा पहिरोले हिरालाल वस्यालको घर पुरेको छ। पहिरोबाट वस्यालकी १० वर्षिय छोरी कल्पना वस्यालको ज्यान गएको छ। बिहीवार मध्यरातमा आएको पहिरोले घर पुरेको हो। 

कैलालीको मसुरीयामा कान्द्रा नदीले बगाउँदा दुईजनाको ज्यान गएको छ। शुक्रवार बिहान पानीको बहाव बढेपछि दुईजनालाई खोलाले बगाएको हो। प्रहरीले उनीहरुको शव फेला पारेपनि सनाखत भएको छैन। बाढीका कारण कैलाशपुर, महुलीय, मनकापुर र इन्द्रपुर जाने बाटोमा पर्ने कटैनी नालाको पक्की पुल भत्किएको छ। पुल भत्किएपछि आवागमन बन्द भएको छ। त्यस्तै लिक्मा कटैनी नदीको किनारामा रहेको मसुरीया-१ अण्डैयाको बालुवाटार बजार र त्यससँगै जोडिएको मुक्त कमैया शिविर तथा लालीगुँरास सुकुम्बासी शिविर नदीकटानको उच्च जोखिममा परेका छन्।

डडेलधुरामा लगातारको अविरल बर्षाले स्थानीय खोलामा पानीको बहाब बढेपछि तीन बालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बिहान विद्यालय जाँदै गर्दा असीग्राम-८ का १६ वर्षीया मन्जु देउवा, १५ वर्षीया सावित्री देउवा र  भागरथी देउवा रुवाखोलाले बगाएर बेपत्ता भएका छन्। बेपत्ता भएका तीनै जना स्थानीय असिग्रामा उच्च मावि रुवालखोलामा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। उनीहरुको प्रहरी र स्थानीयद्वारा खोजी कार्य जारी रहेको छ। 

उदयपुरमा तीन दिनदेखि भएको निरन्तर वर्षाका कारण सिद्धिपुर गाविसको वीरेन्द्र बजारस्थित दिनेश राईको घर बिहीवार द्वारखोलाले बगाएको छ।

राईको घर बगाउँदा करिब रु १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। द्वारखोलामा आएको बाढीका कारण वीरेन्द्र बजार नै डुबानको खतरामा छ।

वीरेन्द्र बजारको दक्षिणपट्टिको वाइचङु डाँडाबाट पहिरो खसेर द्वारखोला थुनिन थालेपछि बजार डुबानको खतरामा रहेको स्थानीय विष्णु मगरले बताए।

खोटाङमा लगातारको वर्षाले ठाउँ–ठाउँमा पहिरो जान थालेपछि जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ। तीनदिनदेखि लगातार परेको वर्षाले ठूलो मात्रामा क्षति गर्न थालेपछि सम्भावित दुर्घटनाबाट जोगाउन दुर्घटनाग्रस्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको हो।

जिल्लाको फेदी, पाथेका, बास्पानी, खार्मी लगायत पहिरोको उच्च जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार पहिरोका कारण विस्थापित फेदी २ का ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

कञ्चनपुर जिल्लामा बाढीका कारण दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

बाढीबाट दुई करोड ३६ लाख, ५६ हजार ३३० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बाढीले दोधारा–चाँदनी क्षेत्रका ४५ घर पूर्ण विस्थापित भएको प्रहरीले जनाएको छ।

जाजरकोट– पहिरोका कारण जाजरकोटमा तीनवटा विद्यालय भवन भत्किएका छन्। जिल्लाका उत्तरपूर्वी क्षेत्रमा रहेका ढिमे, सक्ला, डाँडागाउँ गाविसका रहेका दीपेन्द्र माध्यमिक विद्यालय सक्ला, नेरा प्राथमिक डाँडागाउँ चिउरी  र दुर्गा प्राथमिक विद्यालय नारे ढिमेको विद्यालय भवण पूर्ण रूपमा पहिरोका कारण भत्किएका हुन्।

जाजरकोट उद्योग वाणिज्य सङ्घले पहिरो पीडितका लागि राहतकोष स्थापना गरेको छ। 

पहिरोमा सक्ला र रामीडाँडामा चारजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । घर ध्वस्त भएर विस्थापित हुनेको सङ्ख्या अझै यकिन नभएको प्रहरीले बताएको छ। 

सल्लीबजार सडकखण्डको जगतिपुरको दारेगैरामा पहिरोले सडक भत्किएपछि यसखण्डमा चल्ने यातायातका साधन शुक्रवार बिहानैदेखि अवरुद्ध छन्।

बर्दियामा बुधबारदेखि अविरल परेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन्।

बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायत मुर्गौवा, छेदिया, प्रेमनगर, शङ्करपुरवस्तीलगायतका गाउँहरु डुबानमा परेका हुन्। गएको वर्ष पनि राजापुर क्षेत्रका विभिन्न क्षेत्रमा बाढीले हजारौँ परिवार प्रभावित भएका थिए।

यसैगरी बबई नदीमा पानीको सतह बढेपछि गुलरिया क्षेत्रका केही गाउँलगायत मनाउ, दौलतपुर, पाताभार, मोहम्मदपुर, नेउलापुर, शिवपुर, ठाकुरद्वारा बगनाह गाविसका विभिन्न वडा डुबानमा छन्।

बाढीका कारण कुसुम्वा घाटमा नवनिर्मित झोलुङ्गेपुल बग्ने खतरा रहेको छ। डुबान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

बाँके जिल्लाको कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार, नदीको जलस्तर ८ मिटर ३० सेमि पुगेको छ। नदीमा पानीको सतह ५ मिटर ४० सेमि पुग्यो भने खतराको चिह्नमा पुगेको मानिन्छ। विगत तीन दिनदेखि के जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षापछि राप्ती नदीमा जलस्तर बढेर गाउँमा बाढी पसेपछि स्थानीयवासीको भागाभाग भएको छ।

जलस्तर बढेर नदी क्षेत्रका टेपरी, पिप्रहवा, होलिया, बेतहनी, लक्ष्मणपुर, नरैनापुर, फत्तेपुरलगायतका गाउँमा बाढी पसेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ।
 
सिरहा कमला नदीको पूर्वी तटबन्ध भत्केर गाउँमा पसेको बाढीले सिरहाका–९ गाविस र सिरहा नगरपालिकाका केही भाग जलमग्न छन्। बाढीबाट नौ गाविसका करिब ५ सय परिवार घर छाडेर सुरक्षित स्थानमा भोकै रात बिताउन बाध्य भएका हुन्।

भेडियाको सिसौघारी नजिक कमला नदीको बाढीले पूर्वी तटबन्ध बिहीबार बिहान भत्काएको थियो। उक्त तटबन्धको १५० मिटर भत्काएर नदीको बहाव नै पूर्वतिर फर्किएकाले खतरा बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बताए।

उच्च जोखिममा परेको विष्णुपुर प्रराको जमुवा गाउँका २२१ जना विस्थापित भएका छन्। बाढीले भोक्राहा, चिकना र विष्णुपुर प्रराको जमुवा गाउँ घेरिएको छ भने इटारी प्रसाही, चतरी, बेल्हा, सारस्वर, मल्हनिया गम्हरिया, मडार गाविस र सिरहा नगरपालिकाको ३, ४, ५, ६, ७, ८ वडा प्रभावित पारेको छ।

गाउँमा बाढीको पानी २/३ फिटसम्म जमेकाले फुसका घरहरु भत्किन थालेका छन्। बाढी प्रभावितहरु गाउँमा रहेको पक्की घर र कमला नदीको तटबन्धमा आश्रय लिएर बसेका छन्। बाढीको पानीले सिरहा मिर्चैया सहायकमार्गको सिरहा नगरपालिका २ र सारस्वर गाविसको दुई ठाउँमा भत्काएपछि सडक अवरुद्ध भएको छ। अहिले पश्चिमवर्ती एक दर्जन गाविस सिरहा सदरमुकामसँग सम्पर्क विच्छेद भएका छन्।

नदीको बहाव कम नभएकाले तटबन्ध मर्मत कार्य सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी खाँले बताए।

डोल्पामा वर्षायामको सुरुवातसँगै सदरमुकाम दुनै उच्च जोखिममा रहेको छ ।

साउन महिना सुरु भएलगत्तै ठूलो भेरीमा पानीको बहाव औसतभन्दा धेरै बढे पछि सदरमुकामवासी त्रसित रहेका स्थानीय हरि कार्कीले बताए।
नदीले हरेक वर्ष आफ्नो मार्गलाई फराकिलो बनाउँदै लगेकाले नदी आसपासका खाली जमिन भासिँदै गएको र यसको रोकथामका लागि कुनै पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासे गुनासो गरेका छन्।

म्याग्दीमा चार दिनदेखिको लगातारको वर्षाका कारण बरन्जा गाविसमा पर्ने दुईवटा खोलामा बाढी आउँदा झोलुङ्गे पुल बगाएको छ।

अविरल वर्षाका कारण बरन्जा–४ नैदीखोलामा बिहीवार राति आएको बाढीले करिब २५ मिटर लामो झोलुङ्गे पुल बगाएको छ भने बरन्जा–८ र ९ नम्बर वडाको सिमाना न्युखोलामा रहेको पुल पनि बाढीले बगाएको छ।

चार दिनदेखिको लगातारको वर्षासँगै खोलामा आएको बाढीले बिहीबार साँझ न्युखोलामा रहेको काठेपुल बगाएको हो।
पुल बगाउँदा स्कुल बालबालिकालाई विद्यालय जानबाट वञ्चित भएका छन् ।  बरन्जाका साथै भकिम्ली र बागलुङको अर्गल हिल, ताराखोलाका बासिन्दालाई पनि पुल बगाएपछि आवतजावत गर्न समस्या भएको छ । 

बागलुङमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण जिल्लाभरको यातायात प्रभावित बनेको छ।

मध्यपहाडी लोकमार्गलगायत जिल्लाभर रहेका ग्रामीण सडक अवरुद्ध बनेका छन् । सडकलाई प्रभावित पार्ने गरि दर्जनौँ स्थलमा पहिरो गएको छ । 

नवलपरासीमा तीन दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा पाँच घर पुरिएका छन्। स्थानीयबासी हुमनाथ पाण्डेका अनुसार शुक्रवार बिहान ९ बजे आएको पहिरोले पुरानो नरमका भीमबहादुर माकिम, हुमानसिंह माकिम, नरबहादुर माकिम, होमबहादुर माकिम र प्रेमसिंह गेलाङ मगरको घर पुरेको हो।

पहिरो जाँदा घरभित्रै रहेकी भीमबहादुर माकिमकी श्रीमती ३५ वर्षीया रेखीमाया भने निस्कन नसकेको पाण्डेले जानकारी दिए। पहिरोका कारण धनजनको क्षति भए पनि मानवीय क्षतिबारे एकीन विवरण आएको छैन।

सदरमुकाम परासीबाट पूर्व उत्तर १२० किलोमिटर टाढा रहेको त्यस ठाउँमा उद्धारका लागि कुनै पनि टोली जान सकेको छैन।

दाङको देउखुरी क्षेत्रका सिसहनिया, लालमटिया सोनपुर गाविसका विभिन्न गाउँ डुबानमा परेका छन्। स्थानीय दोलही खोला, सिगै खोलामा आएको बाढीका कारण ती गाविसका सयौँ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीवार राति घरमा पानी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्नलगायतका सामग्री सबै बगेको भए तापनि मानवीय क्षति भने कुनै नभएको प्रहरीले जनाएको छ।

चितवनको माडी, पूर्वी चितवनको सौराहा र भरतपुर पश्चिम चितवनका विभिन्न क्षेत्र डुबान भएको चितवन प्रहरीले जनाएको छ। नारायणी नदी खतरानजिक रहेकाले सतर्क हुन जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शिवराम गेलालले आग्रह गरेका छन्।

पूर्वी चितवनको कयर खोलाले बगाएर एकजना बेपत्ता भएको छ। बिहीबार साँझ ७ बजे जबर्जस्ती खोला तर्न खोज्दा शक्तिखोर–८ अजिङ्गरेका ३४ वर्षीय च्याङवा प्रजालाई कयर खोलाले बगाएको जुटपानी प्रहरीले जनाएको छ।

उद्योग व्यवसायीद्वारा पहिरो पीडितलाई सहयोग

नेपाल चेम्बर अफ कमर्सले आज सिन्धुपाल्चोकका पहिरो पीडितलाई आठ लाख ५० हजार रुपैयाँ बराबर नगद तथा जिन्सी सहयोग गरेको छ।
कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटरमा भेटेर सहयोग प्रदान गरेको हो।

उद्योग व्यवसायीले सिन्धुपाल्चोकमा गएको भीषण पहिरोले निम्त्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अवरुद्ध सडक यथाशीघ्र खुलाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell