PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टायरको धुवाँबीच मगमगाएको प्रदीप-एन्जिलाको प्रेम



रमेश वाग्ले

टायरको धुवाँबीच मगमगाएको प्रदीप-एन्जिलाको प्रेम

काठमाडौं : एन्जिला न्यौपाने राजनीतिमा एक असल कार्यकर्ता थिइन् प्रदीप पौडेलको। दुवै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिए थिए। सम्बन्धको सेतु विद्यार्थी संगठन थियो।
 
पौडेल नेविसंघ सभापति हुँदा न्यौपाने पद्यकन्या क्याम्पसको स्ववियु उपसभापति थिइन्। एक-अर्कालाई नजिक बनाउने र बुझ्ने माध्यम विद्यार्थी राजनीति नै थियो।
 
नेविसंघको नेतृत्वमा प्रदीप हुँदा एन्जिला प्रदीपका विषयमा बाहिर के कस्ता टिप्पणी भइरहेका छन्, उनका कुन काम र व्यवहारले अध्यक्षका रुपमा राम्रो भएको छ, कुन कुरा सुधार्न आवश्यक छ; त्यो कुरा सुझाउने गर्थिन्। एउटा असल कार्यकर्ता जसले नेतृत्वलाई हरेक गतिविधिमा रचनात्मक सुझाव दिन्छ, त्यो भूमिकामा थिइन् एन्जिला।
 
कालान्तरमा यो ‘केयर’ प्रदीपका लागि राजनीतिक सहानुभूति मात्र रहने एन्जिलाप्रतिको आकर्षण पनि बन्यो।
 
तर, एन्जिलाले भने एउटा असल व्यक्तिका रुपमा प्रदीपको मूल्यांकन गरिसकेकी थिइन्। विगतलाई स्मरण गर्दै उनी भन्छिन्, ‘उहाँलाई म अगाडिदेखि नै चिन्थेँ  एउटा असल व्यक्तिका रुपमा। मैले अध्यक्षमा पनि उहाँलाई नै मतदान गरेँ।'
 
यो जोडीबीच प्रेमको अँकुर कहिलेबाट टुसाउन थाल्यो होला? दुवैलाई याद नै छैन। त्यसो त प्रेम कहिलेदेखि सुरु गर्ने या कहिलेबाट सुरु भयो भनेर तिथिमिति हेर्ने कुरा पनि होइन।
 
तर, राजनीतिक वृत्तमा चलेको हल्लाको हावासँगै प्रदीप-एन्जिलाको प्रेमको सुगन्ध फैलँदै गयो। कहिलेकाहीँ विद्यार्थी संगठनबीच झडप हुन्थ्यो। सडकमा प्रदर्शनसँगै टायर जल्थ्यो। तर यही टायरको धुवाँबीच पनि प्रदीप-एन्जिलाको प्रेम कसरी मगमगाइरहन्थ्यो; उनीहरुलाई मात्रै थाहा छ।
 
‘म उहाँलाई रेस्पेक्ट गर्थे, उहाँले पनि मलाई रेस्पोन्स गर्नुहुन्थ्यो, कुरो त्यति नै थियो,’ एन्जिला सम्झिन्छिन्, ‘तर विवाहसम्म चाहिँ हामीलाई बाहिरी हल्लाले पुर्‍यायो।'
 
हल्लाले समेत हुर्किएको आफ्नो प्रमेबारे प्रदीप भन्छन्, ‘हल्ला दुई प्रकारले चले। एउटा त हामी दुईलाई एक बनाउन चाहने शुभचिन्तकका हल्ला थिए। अर्को चाहिँ हाम्रो सम्बन्धलाई राजनीतिक इस्यु बनाउन पनि हल्ला चलाइए।’
 
झागिँदै गएको अव्यक्त प्रेम सम्बन्धले राजनीतिक इस्युको मोड लिएपछि प्रदीपले एन्जिलाई सोध्ने निधो गरे- के तिमी मलाई मन पराउँछौं?
 
एन्जिलाको जवाफ थियो, 'मलाई त तपाईं ठिक लाग्छ, तपाईको खोजी कस्तो हो म फिट हुन्छु/हुन्न?'
 
एन्जिलाको यही सकारात्मक जवाफ नै प्रदीपका लागि ग्रिन सिग्नल थियो। ‘दबाबमूलक ढंगले म मन पराउँछु, छोड्न सक्दिनँ भनेको भए हामी दुई एक हुन असम्भव पनि हुन सक्थ्यो। तर उनले दबाब दिने अडान राख्ने कुरा गरिनन्। उनको त्यही स्वभाव मलाई मन पर्‍यो।' यसपछि प्रदीप शतप्रतिशत ढुक्क भए कि एन्जिलाबाहेक मेरो लागि अर्को जीवनसाथी हुनै सक्दैन।
 
रामेछापकी एन्जिलाको पूरै परिवार राजनीतिमा थियो। पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति नानु न्यौपाने एन्जिलाकी दिदी। प्रदीपभन्दा सिनियर नानुले प्रदीपलाई जुनियरका रुपमा माया गर्थिन्। उनको स्वतन्त्र विद्यार्थी युनियन सभापति रहेकै बखत दुर्घटनमा निधन भयो। जब प्रदीपले एन्जिला नानुको बहिनी भनेर चिने, एन्जिलाप्रति सहानुभूति बढ्यो।
 
०००
प्रदीप-एन्जिला अहिलेको जस्तो प्रेमको परिभाषा र गतिविधिमा थिएनन्। प्रदीप भन्छन्, ‘हामीसँग विशुद्ध भावना मात्र थियो। मैले केही नभनी उनमा अव्यक्त प्रेम हुर्किएको महसुस गर्न थालेँ।’
 
बाहिर हल्ला पनि चले। हल्लालाई व्यवस्थापन गर्न र दुई एक हुन आवश्यक ठाने।  दुवै ‘पब्लिक फिगर’ भएकाले जहाँ पनि भेट्ने र अफेयर्सका कुरा चलाउने छुट थिएन उनीहरुलाई। 'त्यसैले पनि राजनीतिक गतिविधिमा सहकार्य मात्रै हाम्रो प्रेमको माध्यम बनिदिन्थ्यो,' प्रदीप ती क्षणहरु सम्झन्छन्।
 
प्रदीपको बुझाइमा आफू लजालु छन्। एन्जिलाको स्वभाव भद्र छ। भद्रता र लजालु स्वभावले अफयेर्समा पनि हरेक कुरा सिधा विषय प्रवेशमात्र हुन्थे।
 
०००
जब प्रदीपले बिहेको कुरा निकाले एन्जिलाले नै सोच्न आग्रह गरिन्। कारणबारे उनले प्रदीपलाई भनिन्, ‘जब मैले बिहेको कुरा गरेँ उनले मलाई सोच्न भनिन्। मभन्दा तपाईं करियरिस्ट हुनुहुन्छ तपाईं सोच्नुस् भनिन्। त्यसपछि हामीले सोच्दैमा पनि लामो समय गुजार्‍यौं।’
 
पछि प्रदीपले नै 'म तयार छु। तिम्रो अरु कुनै सोच भए त्यता लाग हैन भने विवाह गरौं' भनेपछि मात्र एन्जिला अलि हतारिइन्।
 
कलेजको राजनीतिमा एन्जिलाले प्रगति नै गरे पनि पदका लागि अडान कस्ने स्वभावकी थिइनन्। प्रदीप भन्छन्, ‘कतिपय अवस्थामा मेरै कारण उनको अवसर समेत गुम्यो तर पनि उनी मसँग असन्तुष्ट हुने असहयोग गर्ने गरिनन्।’
 
विवाहपछिको राजनीतिक भविष्यबारे दुवैले छलफल गरेका छैनन्। प्रदीपले कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भइसकेर विवाह गरेकाले उनी राजनीतिमा सक्रिय छन्। तर एन्जिला राजनीतिक गतिविधिमा एकादुई मात्र देखिन्छिन्। त्यसलाई प्रदीप स्वाभाविक मान्छन्।
 
एन्जिलाको राजनीतिक भविष्यबारे प्रदीप भन्छन्, ‘विद्यार्थी राजनीतिबाट फेजआउट हुनुपर्ने परिस्थिति भइसकेको र अर्को राजनीतिमा प्रवेश नगरेको अवस्थामा मसँग विवाह नगरेकै भए पनि उनी अहिले यही अवस्थामा हुन्थिन्।’
 
प्रदीपको भविष्य भने एन्जिलाले उज्ज्वल देखेकी छन्। ‘अहिलेको व्यस्तता लगाव र जनसम्पर्क हेर्दा उहाँको भविष्य राम्रो छ भन्ने लाग्छ। बाँकी त अब भविष्यलाई नै छोडौं,’ एन्जिला भन्छिन्।
 
पार्टी काममा व्यस्त भएका कारण आफू जानुपर्ने ठाउँमा सँगै लैजाने गरे पनि एन्जिलाले बिहेपछि हनिमुनका लागि प्रस्ताव गरेका कुनै पनि ठाउँ लान सकेका छैनन्।
 
‘मैले रारा जाऊँ, अन्नपूर्ण बेसक्याम्प जाऊँ र स्विटजरल्याण्ड जाऊँ भनेँ’, एन्जिला भन्छिन्, ‘हामी दिल्ली गयौं। पोखरा पनि गयौँ अन्त पनि गयौँ तर हनिमुन होइन।’
 
आफूलाई बुझेकाले हनिमुन लैजान नसक्दा पनि गुनासो नभएको बताउँछन् प्रदीप। ‘पहिलो त विवाह भनेकै कम्प्रोमाइज हो। त्यसमाथि पनि हामी जस्तासँगको विवाह थप कम्प्रोमाइज हो,’ उनी भन्छन्, ‘उनले भनेको समयमा ती ठाउँमा पुग्न नसकिएला तर मेरो यात्राको दौरान उनलाई पनि पुग्न गाह्रो चैं छैन।’
 
प्रदीपलाई राम्ररी बुझेरै विवाह गरेकी एन्जिलालाई एउटा कुराले भने कहिलेकाहीँ इरिटेसन गराउँछ। 'प्रेम र बन्धनका मिठा कुरा गर्न समय हुँदैन,' भन्छिन्, 'सँगै बसेर कुरा गरौँ भन्यो आफूसँग भन्दा अरुसँग फोनमा ज्यादा कुरा हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell