PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गेमकै बीचमा प्रपोज : इन्चोनमा टुसाएको फुटबलर असिम र स्वीमर सोनिराको प्रेम



गोविन्दराज नेपाल

गेमकै बीचमा प्रपोज : इन्चोनमा टुसाएको फुटबलर असिम र स्वीमर सोनिराको प्रेम

काठमाडौं : सन् २०१४।
 
सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म दक्षिण कोरियाको इन्चोनमा हुँदै थियो एसियन गेम्स। त्यहीँ पुगेका थिए अन्य खेलाडीसँगै फुटबलर असिमजंग कार्की र पौडीबाज सोनिरा विष्ट।
 
एसियन गेम्सको भिलेजमा बस्दा नेपालका सबै खेलाडीलाई एउटै बिल्डिङमा बस्ने व्यवस्था मिलाइएको थियो। असिम र सोनिराको बस्ने ठाउँ दुई फ्लोर तल-माथि थियो। यही गेम्सको सन्दर्भले भेट गराइदिएको थियो उनीहरुलाई।
 
'मैले पहिलोपटक सोनिरालाई इन्चोन भिलजेमा भेटेको हुँ, त्यसअघि नेपालमा हाम्रो भेट भएकै थिएन,' भ्यालेन्टाइन्स डे'को पूर्वसन्ध्यामा दरबारमार्गस्थित बज्र क्याफेमा गफिँदै असिमले तीन वर्षअघिको त्यो भेट सम्झिए।
 
***
फुटबल र पौडी। यी दुई खेलबीच के सम्बन्ध होला?
 
झट्ट सुन्दा त्यस्तो सम्बन्ध नदेखिएला। तर, यही फरक खेलमा जमेका असिम-सोनिरालाई एकै ठाउँमा भेटाइदियो एसियन गेम्सले। इन्चोनबाट परिचित बनेको यो जोडी अहिले दाम्पत्य जीवनको सुखद यात्रामा छ।
 
दक्षिण कोरियाको इन्चोनबाट सन् २०१४ देखि मौलाएको प्रेमलाई उनीहरुले दुई महिनाअघि मात्र विवाहमा परिणत गरेका छन्।
 
इन्चोनमा चिनजान भएपछि उनीहरु जोडिए, फेसबुकमा। च्याटमा सामान्य कुराकानी हुन थाल्यो। 'सुरुमा त म उहाँलाई दाइ भनेर बोलाउँथेँ,' पहिलो भेटलाई यसरी सम्झिइन् सोनिराले।
 
एसियन गेम्स सकिएपछि उनीहरु नेपाल फर्किए। यतिन्जेलमा उनीहरुको निकटता निकै बढिसकेको थियो। फेसबुकमा नियमितजसो गफ हुन थाल्यो। 'बीचमा एक वर्षचाहिँ ग्याप भयो, हामी कन्ट्याक्टमा त थियौं तर धेरै क्लोज हुने अवसर मिलेन,' असिमले भने।
 
भौतिक रुपमा नजिक नभएपछि उनीहरुबीच भर्चुअल प्रेम अँकुराइसकेको थियो। एकापसमा मनका कुरा शेयर हुन थालिसकेको थियो।
 
नेपाल फर्केपछि उनी फेसबुकमा गफ गर्न थाले। 'बीचमा एक वर्ष ग्याप भयो, हामी सम्पर्कमै थियौं तर धेरै क्लोज हुन पाएनौं,' असिमले भने।
 
गएको भ्यालेन्टाइन्स डे को अवसर पारेर असिमले नै सोनिरालाई प्रपोज गरे। प्रणय दिवसले उनीहरुको प्रेमलाई अझ गाढा बनाइदियो।
 

गेमकै बीच प्रपोज

भारतको गुहाटीमा हुने साग गेम्सका लागि सोनिरा त्यसतर्फ लागिन्। असिम भने नेपालमै थिए।
 
गेमका लागि गुहावटी रहँदा पनि दुईबीच फेसबुकमा कुरा हुन छाडेन। 'त्यति बेला हामीबीच क्याजुअल्ली गफ हुन्थ्यो। मैले नै सुरुमा विवाहको प्रस्ताव गरेँ,' असिमले फेसबुकबाटै राखेको प्रस्तावलाई विवाहमा परिणत गर्न ८/९ महिना लाग्यो।
 
असिमले विवाह प्रस्तावको कुरा गर्दै गर्दा सँगै रहेकी सोनिरा भने लजाइरहेकी थिइन्।
 
आखिर सोनिराको कुन कुराले प्रभावित बनायो त असिमलाई?
 
'मान्छे चिन्न धेरै टाइम लाग्दैन भन्छन्। तर त्यो मलाई गलत जस्तो लाग्छ। कसै न कसैलाई चिन्न/बुझ्न केही समय त लाग्छ नै,' असिम एक छिन गम्भीर बने र भने, 'अझ लभ रिलेसनशिप र विवाह जस्तो कुरामा समय लाग्ने रहेछ।' हतार नगरेकै कारण अहिलेसम्म प्रेम अझ कसिलो बन्दै गएको उनले अनुभव गरेका छन्।
 
***
 

गुहावटीमा भइरहेको साग गेम्सकै लागि सम्पूर्ण ध्यान केन्द्रित गरिरहेकी सोनिराले। फेसबुकमा असिमसँग कुरा त हुन्थ्यो तर त्यो बेला उनका लागि खेल बढी महत्त्वको थियो।
 
खेलमा व्यस्त हुँदै गर्दा एक्कासि असिमको प्रपोज सुनेर उनी त सुरुमा आश्चर्यचकित भइन्। 'फेसबुकमै प्रस्ताव आउँदा शक्ड भएको थिएँ। तर गेममा नै फोकस हुनुपर्ने भएकोले तत्कालै एक्सेप्ट गरिनँ,' उनी भन्छिन्।
 
हप्ता दिनपछि गुहावटीबाट फर्केपछि असिमसँग भेट भयो। त्यही बेला विवाहको कुरा पुन: चल्यो। अन्तत: असिमको प्रस्ताव उनले सहर्ष स्वीकारिन्।
 
'मलाई पनि सुरुदेखि नै राम्रो लागिरहेको थियो। नजिकबाट बुझ्दै आएकाले पनि मैले प्रस्ताव स्वीकारेको हुँ,' सोनिरा भन्छिन्।
 
असिमसँगको प्रेम सम्बन्धका बारेमा सोनिराले पहिल्यै आफ्नी आमालाई सुनाइसकेकी थिइन्। आमाबाट समेत ग्रिन सिग्नल पाएपछि प्रस्ताव आए स्वीकार्न गाह्रो भएन।
 

उस्तै बानी, उही रोजाइ
सोनिरा-असिमको रोजाइ लगभग उस्तै हुन्छ। खानेकुरादेखि क्याजुअल पहिरनसम्म उस्तै खालको लगाउन मन पराउँछन्।
 
'उसलाई मन पर्ने कुरा मलाई मन पर्छ। मलाई मन नपर्ने उसलाई पनि मन पर्दैन,' असिम भन्छन्। असिम हरेक कुरालाई सकारात्मक कोणबाट मात्र हेर्छन्। सोनिरा उनको यही स्वभावबाट प्रभावित छिन्।
 
परिवार-आफन्तको दु:ख-सुखबारे बुझ्ने र चाँडै घुलमिल हुने सोनिराको बानीको निकै प्रशंसा गर्छन्। 'घरमा मात्र होइन मामाघरमा पनि सबैले उसलाई एकदमै मन पराउनुहुन्छ। सबैले निकै राम्री बुहारी भित्र्यायौ भन्दा गर्वको बोध हुन्छ,' असिम भन्छन्।
 
प्रेमी-प्रेमिका हुँदा र अहिले श्रीमान्-श्रीमतीको भूमिकामा रहँदा धेरै कुरा परिवर्तन भएका छन्। व्यावहारिक जीवन सुरु भएको छ। भविष्यका योजना बनाउँदै दुवै मिलेर गर्नुपरेको छ। 'विवाह भइसकेपछि परिवारप्रतिको जिम्मेवारी र भूमिका बढ्दो रहेछ,' असिमले यो बुझिसकेका छन्।
 

भविष्यको योजना

फुटबल खेलेरै नाम कमाएका थिए असिमले। तर विवाहपछि उनले नयाँ योजना बनाए। फुटबलले मात्र भविष्य राम्रो नदेखेपछि गत वर्षदेखि व्यवसाय सुरु गरेका छन्।
 
कोचिङ करिअरलाई समेत अगाडि बढाउने योजनामा रहेका उनीसँग सी लाइसेन्स छ। अब अर्को वर्ष बी लाइसेन्स लिने तयारीमा छन्। हाल भने उनी भक्तपुरको एकेडेमीमा रहेका बच्चाहरुलाई ट्रेनिङ दिनमै व्यस्त छन्।
 
प्लस टु सकाएर बसेकी सोनिरा भने पौडी खेलबाट टाढिने पक्षमा छैनन्। खेलपछि कोचिङ करिअरमा लाग्ने योजना छ उनको। 'सक्ने टाइम पौडीकै लागि दिन्छु। त्यसपछि पनि कोचिङ गर्न सकिहालिन्छ नि,' उनले भनिन्।
 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell