PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाबुरामको 'स्मार्ट मुभ' : नयाँ शक्ति अब संसदमा



पहिलोपोस्ट

बाबुरामको 'स्मार्ट मुभ' : नयाँ शक्ति अब संसदमा

काठमाडौँ : डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि अब संसदमा पुग्ने भएको छ। यद्पि भट्टराई संसदीय दलको नेता भने हुने छैनन्।
 
थरुहट तराई पार्टी लोकतान्त्रिक र नयाँ शक्ति नेपालबीच एकीकरण भएपछि नयाँ शक्ति नेपाल संसदमा पुग्नेछ। सोमबार एकीकरणको घोषणा गर्ने तयारी दुवै दलले गरेका छन्। त्यसपछि पार्टीको नाम 'नयाँ शक्ति नेपाल' रहनेछ। थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद गंगा चौधरी नयाँ शक्तिको संसदीय दलको नेता बन्नेछिन्।
 
चौधरीले पहिलोपोस्टसित भनिन्, ' छलफल चलिराखेको थियो। अब भोलि मैले पहिला पार्टीका साथीहरुसँग बैठक राखेको छु। त्यसपछि नयाँ शक्तिसँग बैठक छ।'
 
नयाँ शक्ति नेपालका खिमलाल देवकोटाले पनि पार्टी एकीकरण हुन लागेको बताए। 'भोलि हाम्रो दुवै कार्यसमितिको संयुक्त बैठक छ। त्यसपछि हामी घोषणा गर्छौँ। भोलि वा पर्सी निर्वाचन आयोगलाई एकीकरण भएको जानकारी गराउँछौँ,'  देवकोटाले भने, 'नयाँ शक्तिको संसदीय दल बनाउने काम त दोस्रो चरणमा हुन्छ नै।'
 
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले पार्टी एकीकरण गरेपछि नाम र चिह्न राख्ने विषय दलको हुने बताए। 'एकीकरण कसरी हुन्छ र के नाम राखिन्छ उहाँहरुको कुरा हो, तर संसद पद जाँदैन,' यादवले भने।
 

के फाइदा बाबुरामको पार्टीलाई?

स्थानीय तह निर्वाचन सम्बन्धी ऐनले आउँदो निर्वाचनमा भाग लिँदा अहिले समानुपातिकमा रहेको दललाई त्यही अनुसारको वरीयतामा चुनाव चिह्न प्रदान गर्नेछ।
 
भट्टराईको पार्टी नयाँ शक्ति संसदमा नरहँदा निर्वाचन चिह्न समेत पुछारमा पर्न सक्ने अवस्था रहन्थ्यो। एकीकरण र संसदमा उपस्थितिले ३० वटा निर्वाचन चिह्नभित्र आफ्नो स्थान सुरक्षित गर्नेछ। जुन भट्टराईको स्मार्ट मुभ देखिन्छ।
 
त्यसो त संसदमा भएको दल सरकारमा जाने सम्भावना रहन्छ नै। तर भट्टराईको नयाँ मुभले संसदीय राजनीति र सत्ता राजनीतिमा समेत उनको दाउपेच र भूमिका बढाउनेछ।
 
एक सिट भएका राजनीतिक दलहरु समेत सरकारमा गएको बेला चौधरीको प्रवेशले भट्टराईको पार्टी सरकारमा समेत पुग्न बाटो बन्नेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell