PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

टर्किस एयरलाइन्स उद्दारमा खटिएकाको अनुभव : गोर्खाली भएकाले मात्रै बाँचियो



टर्किस एयरलाइन्स उद्दारमा खटिएकाको अनुभव : गोर्खाली भएकाले मात्रै बाँचियो
फोटो : Peter Lubeck

  • प्रकाश घिमिरे -
बुधबार मेरो बिहान ड्युटी परेको थियो। म चार बजे उठेर विमानस्थलको चेकिङ काउन्टर जान तयार भइसकेको थिएँ। मसँगै अर्को साथी घनश्याम पनि थियो। कोटेश्वरमा नै बस्ने भएकोले प्राय ऊ र मसँगै अफिस जान्छौँ।

तीन दिनदेखि लगातार परेको पानीले उपत्यका केही चिसिएको थियो। हामी कस्तो चिसो भन्दै मोटरसाइकलमा बालकुमारी पुल निस्केर कोटेश्वर हुँदै त्रिभुवन विमानस्थलतिर जाँदै थियौँ। साँच्चै त्यो दिन बिहान निकै चिसो थियो।

बालकुमारी पुलबाट कोटेश्वरसम्म पुग्दा हुस्सु लागेको थिएन। तर हामी कोटेश्वरबाट तीनकुनेतिर अघि बढ्दै जाँदा हुस्सुको बाक्लोपना बढ्दै थियो। गैरीगाउँ पुगेपछि हुस्सुले डम्मै ढाकिएको थियो।

घनश्यामले हुस्सुकै कारण बाइकको स्पिड घटायो। ‘हैन आज कस्तो हुस्सु लागेको?,’ घनश्यामले भन्यो।

‘हो त, आज सबै फ्लाइट डिले हुने भयो,’ मैले भने।

‘त्यही त हाम्रो (नेपाल वायुसेवा निगमको) प्लेन त दिल्ली ढिला उड्ने भयो,’ उसले भन्यो।

यही हुस्सुको कुरा गर्दै हामी एयरपोर्ट भित्र छिर्‍यौँ। हामी एयरपोर्ट पुग्दा एयरपोर्ट खुलिसकेको थियो। सामान्यतया साढे पाँच बजे नै एयरपोर्ट खुलिसक्छ।

मान्छेहरुको भीड बाक्लिसकेको थियो। नेपाली र विदेशी यात्रुले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भरिभराउ भइसकेको थियो। जेटबाट दिल्ली जाने, टर्किसबाट इस्तानबुल, ड्रुकबाट भुटान जाने र नेपाल एयरलाइन्सबाट दिल्ली जाने यात्रुहरुको लाइन लामै भइसकेको थियो।

निर्धारित समय र निर्धारित काउन्‍टरमा हामी सबै व्यस्त भयौँ। बी १४ देखि बी १९ सम्म टर्किस एयरको काउन्टर थियो भने बी १ बी ४ सम्म जेटको। काउन्टर ए१ देखि ए४ सम्म नेपाल एयरलाइन्सको काउन्टर थियो।

साढे सात बजे नेपाल एयरलाइन्स, टर्किस र जेट एयरवेजको काउन्टर बन्द भयो। काउन्टर बन्द गरेर हामी बोर्डिङ गेटमा गयौँ। अघिपछि भन्दा चाँडै नै यात्रुहरुको बोर्डिङ भयो। नेपाल एयरलाइन्सको अनाउसन्मेन्ट भइसकेको थियो भने जेट एयरवेजको प्रि अनाउन्समेन्ट भइसकेको थियो। 

बोर्डिङ गेटमा गएर बस्दै गर्दा हामीलाई टर्किस एयरलाइन्सको जहाज ओभरसुट (अवतरणका लागि तल आइसके पनि फेरि उचाइ लिएर माथि जाने) गरेको थाहा भयो। दुईचोटी अवतरण प्रयास गरेपछि पाँचौँ गेटमा हामी  पुग्दा जहाज आकाशमा होल्डमा छ भन्ने सूचना आयो।

यात्रुहरुसँग हामी फ्लाइटको विषयमा कुरा गर्दै थियौँ एक्कासी ड्याऽऽऽम्म ठूलो आवाज  आयो। भएका सबै झसंग भए।

‘लौन के भयो। कता बम पड्कियो,’ सबै त्रसित भए। सबैले भने, के पड्क्यो। बम पड्क्यो।‘

हामी बसेको बिल्डिङ हल्लियो। जमिन थर्कियो। सबैको ध्यान त्यतातिर नै गयो। सबैलाई आतंकित बनायो। त्यहाँको वातावरण भयभित भयो।
हामी पनि के भयो, के भयो भन्दै कराउन थल्यौँ। हामी विमानस्थलको 'ट्याक्सी वे'तिर कुद्यौँ। ग्राउन्डमा हेर्दा सिम्रिक एयर रनवे नजिकै पुगिसकेको थियो। उसले इमरजेन्सी ब्रेक लगाइहाल्यो र रनवे नपुगी डाइभर्ट भयो। हामीलाई आशंका रनवेमा केही न केही भयो। वा जहाजनै खस्यो कि भन्ने भयो। हामी रनवेतिर दौडन थाल्यौँ।

बोर्डिङ गेटबाट हामी दौडिदै ट्याक्सी वेमा पुग्न पाँच मिनेटजति लाग्छ। मौसम यति खराब थियो कि हुस्सुले १० मिटर टाढाको वस्तु पनि देखिन्थेन।

रनवेमा कुददै गर्दा आवाज आएको ठाउँतिरबाट चैत, वैशाखमा हावाहुरी चलेजस्तै धुलैधुलो आयो।  अब हामी पक्का भयौँ कि जहाज दुर्घटना भयो।

साथीहरु पनि रनवेतिरै दौडेको देखियो। नेपाल वायुसेवा निगमका ड्युटीमा भएका सबै कर्मचारी उतै गयौँ। दुईदेखि पाँच मिनेटभित्र हामी जहाज नजिकै पुग्दा जहाजको बत्ती बालिराखेको थियो।

क्याप्टेनले झ्याल खोलेको अवस्था थियो। उनले रेस्क्युको लागि पहिले नै फायर ब्रिगेडलाई जानकारी गराइसकेका रहेछन्। उसले उद्दारका लागि टावरसँग मलाई फायर र एमरजेन्सी उपकरण मेडिकल टोली पठाउनु भनेको रहेछ। हामीभन्दा केही मिनेटअघि फायर ब्रिगेड पुगिसकेको थियो।
हामी अत्यन्तै डरायौँ।

नजिकै पुग्दा पनि केही नदेखिने। हुस्सुभित्र जहाज हराइरहेको थियो। हुस्सुले छेकेर जहाजको अगाडिबाट पछाडिको भाग देखिएको थिएन। जहाजको नोज जमिन धसेको अवस्थामा थियो।

तत्कालै फायर ब्रिगेडले जहाजमा फोम हाल्ने काम गरे। यसले आगोलाई निभाउने काम गर्छ।

फायर ब्रिगेडहरुले भर्‍याङ हाले। नेवानि ड्युटी अफिसर सुरेशविक्रम हमाल, स्टेसन म्यानेजर मुकेश प्रधान, मैदानका अफिसर कञ्चन तिमिल्सिना लगायतका टोली सञ्चार सेटमार्फत् बस र अरु उपकरणको लगि कल गर्दै हुनुहुन्थ्यो। उतिखेरै त्यहाँ इमरजेन्सी किट लिएर एक टोली पुग्यो। 

टर्किस एयरको एयरपोर्ट सुरपरभाइर रेसु सिंह त्यही आइपुग्नु भयो। अनि हामी भर्‍याङ हालेर यात्रु निकाल्दै थियौँ। सुरुमा इमरजेन्सी डोर खोलेको थिएन। इन्जिन नजिकै इमरजेन्सी डोर भएकोले नखोलिएको होला सायद। क्याप्टेनले बाहिरी वस्तुस्थिति नबुझिकन इमरजेन्सी ढोका सितिमिति खोल्‍दैनन्।

हामीले २/४ जना यात्रु निकाल्दै थियौँ। एक्कासी दुबै इन्जिनबाट धुँवा आयो। त्यसपछि झन् त्यहाँको वातावरण त्रसित भयभित भयो। कसैले भने, ’लौ जहाज पड्कन सक्छ,  कसैले जहाजमा आगो लाग्ने भो।‘ 

त्यहाँ एक्कासी भागदौड मच्चियो।

फेरि फायरले फोम फाल्यो र जहाजको धुँवा नियन्त्रणमा लियो। वातावरण अलिकति सहज बन्यो। यति हुँदा पनि यात्रु जहाजबाट ज्यान जोगाउन भागाभाग गरिरहेका थिए। तर हामीले संयमित भएर छरपस्ट यात्रुलाई बसमा चढाउने र आगमनमा पठाउने काम गर्‍यौँ 
बल्ल इमरजेन्सी एक्जिट खोलियो। इमरजेन्सी ढोका खोलेपछि को चाँडै झर्ने भन्दै यात्रुहरु हामफाल्न थाले। जसले भुँइमा झर्दा एकमाथि अर्को खप्टिएको देखिन्थे। अनि उनीहरु जुरुक्क उठेर कुदेका थिए। कति यात्रु भने अलि पर गएर घटनालाई क्यामरामा फोटो र भिडियोमा कैद गर्न व्यस्त थिए।

उनीहरु खुसी, कौतुहलता, त्रास, अन्यौलता र आतंकित अनुहार लिँदै निस्केका थिए।  खुशी यस अर्थमा कि बाँचिएकोमा, कौतुहलता अब के होला भन्नेमा, त्रास जहाज विस्फोट पो हुने हो कि भन्नेमा, आतंकित अझै मरिन्छ कि भन्नेमा।

इमरजेन्सी ढोकाबाट झर्के क्रममा दुईजना घाइते भए। त्यसमा एकजना हर्टको बिरामी रहेछन्। उनी त्यहीँ ढले। उनलाई हत्तपत्त अस्पताल पठाइयो।

नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी,  टर्किस इन्‍जिनियरहरु, नेपाली सेना र नेपाल वायुसेवा निगमका कर्मचारी सबै थियौँ। सबै जना मिलेर सामान, ह्यान्ड व्याग ट्रलीमा राखेर टर्मिनलतिर लग्यौँ।

सबैलाई उद्दार  गरिसकेपछि नेपाल प्रहरी र नेपाली सेनाले जहाजलाई घेरा हाले। त्यहाँबाट भीड हटाएर क्लियर गरे। यति गर्न कम्तीमा दश मिनेट लागेको थियो। १५ मिनेट भित्रमा सबै यात्रुलाई सकुशल उद्दार गरिसेका थियौँ हामीले।
 

गोर्खाली भएर बाँचियो

हामीले १० देखि १५ मिनेट पाँच मिनेटमा सबैलाई सकुशल राखिसकेका थियौँ। नेपालीहरुले धन्य भगवान बाँचियो भन्दै भागेका थिए भने विदेशीहरु यत्रो दुर्घटनामा बाँच्नु भनेको अचम्म भएको जनाउँदै थिए। मैले दुई जना विदेशीसँग कुरा गरेको थिएँ।

उनीहरुले यत्रो  ठूलो दुर्घटनामा मानवीय क्षति नहुनु गोर्खाली रेस्क्यु टोली भएकोले बताएका थिए। जहाज दुर्घटना भएपछि हुने सम्भावित दुर्घटनाको ख्यालै नगरी अन दि स्पटमा गएर उद्दारमा लाग्नुले नै सबै यात्रु सकुशल रहेका उनीहरुको प्रतिक्रिया थियो।

एक इन्डियनले भनेका थिए, ‘ जहाजमा आगोको लप्का सम्भावना देखेर पनि नेपालीहरु जहाज दुर्घटना भएको ठाउँमा जोखिम मोलेर जाँदा अरु क्षति हुन पाएन।‘

हुन पनि उद्दारको लागि जो पुगेको थियो उनीहरु जोखिम मोलेरै त्यहाँ पुगेका थिए। दुर्घटना भएको जहाजमा आगो लाग्न पनि सक्थ्यो* वा ब्लास्ट हुन पनि सक्थ्यो वा अरु जे पनि हुन सक्थ्यो। तर हामी सबै यसको परवाह नगरी उद्दारमा खटिरह्यौँ। हामीले पछाडि हुने सम्भावनालाई बेवास्ता गरेर सबैभन्दा पहिला उद्दारमा गयौँ।

 त्यसो त हामी उद्दारसँगै दिमागमा जहाज हेर्ने कौतुहलताले पनि जहाज नजिक पुगेका थियौँ। धेरै विदेशीले नेपालीहरुको मानवीय हस्पिटालिटीले बाँचिएको प्रतिक्रिया दिए। त्यतिबेला हामीलाई नेपाली हुनमा गर्व लागेको थियो।

जब जहाज काठमाडौं छियरेको थियो त्यतिबेला क्याप्टेनले कविमानस्थलको मौसम खराब भएको जानकारी दिएका जहाजबाट झरेका यात्रुले बताएका थिए। यात्रुले भन्दै थिए, ‘एकैचोटी जहाज पछारिएपछि पो थाहा भयो  मौसम साँच्चै खराब रहेछ। अचम्म भएर धन्न बाँचियो।’
 

नेपाल वायुसेवा निगमका कार्यरत घिमिरेसँगको कुराकानीमा आधारित  

(*सच्याइएको)

जहाज चार दिनपछि तान्दै गर्दाको दृश्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell