काठमाडौँ : मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बिक्री गर्दा नेपालको कानुन अनुसार तिर्नुपर्ने अर्बौँ रुपैयाँ कर नतिरेको विषय स्वीडेनका मिडियामा उठेको छ। एनसेल बिक्री गर्ने स्वीडेन सरकारकोसमेत स्वामित्व भएको कम्पनी टेलियाको व्यवहारमाथि त्यहाँकै मिडियाले प्रश्न उठाएका छन्।
स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीको अनुसन्धानमूलक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) ले हिजो राति यही विषयमा कार्यक्रम प्रस्तुत गरेको थियो। कार्यक्रममा नेपालका पत्रकार, कर कार्यालयका अधिकारी, मन्त्री र सर्वसाधारणका प्रतिक्रिया पनि लिइएको छ।
कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलको बिक्रीमा कर तिर्नुपर्ने स्पष्ट बताएका छन्। त्यसैगरी एनसेललाई कर तिराउनु पर्ने अभियानमा समेत रहेका वर्तमान स्वास्थ्य मन्त्री गगन थापाले कर नतिरेकोमा ग्राहकका रुपमा आफूलाई टेलियाले धोका दिएको महसूस भइरहेको बताएका छन्।
टेलियाका सिइओ जोन डेल्लेलिन्डले नेपालबाट आफू जिम्मेवारपूर्ण रुपमा बाहिरिएको बताए पनि कार्यक्रममा समीक्षा गरिएको छ- के त्यो जिम्मेवारी पूर्ण थियो। कार्यक्रममा कर कार्यालयले एनसेल बिक्रीको विषयमा स्पष्ट पार्न आऊ भनी टेलिया नियुक्त एनसेलका तत्कालीन सिइओलाई उपस्थित हुन पत्र काट्दा हाजिर हुनुको साटो देश छाडेर भागेको प्रसंग पनि उठाइएको छ।
“त्यतिबेला दबाब थियो। उनीहरु (कर कार्यालय) ले उनलाई (एनसेल सिइओलाई) समातेर भित्र राखेको भए स्थिति झन् गाह्रो हुन्थ्यो। झन् बढी दबाब हुन्थ्यो। हामी यस्तो स्थिति आओस् भन्ने चाहँदैन थियौँ। त्यसैले उनले देश छाडे”, टेलिया सिइओ जोनले कार्यक्रममा भनेका छन्।
कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले भनेका छन्, “हामी प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्छौँ। हामी अरु कम्पनी नेपालमा आओस् भन्ने चाहन्छौँ। हामी त्यसका लागि वातावरण बनाउन चाहन्छौँ। तर उनीहरुले हाम्रो अधिकार खोस्न पाउँदैनन्।“
उनले एनसेलप्रति रहेको विश्वास गुम्दै गएको पनि बताएका छन्।
नेपालको कर कानुन बनाउँदा विभागको प्रमुख रहेका पूर्व अर्थ सचिव विद्याधर मल्लिकले टेलियाले नेपालमा लगानी गरेको हुनाले नेपालमा कर तिर्नुपर्ने बताएका छन्। त्यसैगरी पूर्व अर्थ सचिव रामेश्वर खनालले कम्पनी जहाँसुकै दर्ता भएको भए पनि नेपालमा नाफा कमाएको हुनाले र सम्पति नेपालमा रहेको हुनाले नेपालको कानुन र कर लाग्ने बताएका छन्।
टेलियाले विभिन्न कम्पनीको तहतहको जालो बनाई स्वामित्व कायम गरेको सम्बन्धमा प्रश्न राख्दा पूर्व मुख्य सचिव विमल कोइरालाले भने, “प्रश्न हो उनीहरुले कहाँ बिजनेस गरे? उनीहरुले यहाँ नेपालमा गरे। त्यसैले यहाँ कर तिर्नुपर्दैन भन्ने कुरामा कुनै दम छैन।“
तर टेलिया सिइओ भने यो कानुनबारे बताउँदा हामीले जोसँग सल्लाह गरेका थियौँ उनीहरुले नर्वेमा भएको कम्पनी बेच्दा कर तिर्न नपर्ने बताएका छन् भन्ने जवाफ दिए। अझ टेलियाले नेपालमा मोबाइल नेटवर्क जडान र लाइसेन्स लिँदा अर्बौँको खर्च गर्नुपरेको र त्यसलाई घटाउँदा एनसेल बिक्री गर्दा कुनै नाफा नभएको बतायो।
टेलिया सिइओको अनुसार पूँजिगत लाभ कर नेपालमा तिर्नुपर्दैन, नर्वेमा तिर्नुपर्ने हो। तर नर्वेमा पूँजिगत लाभ कर तिर्नुपर्ने व्यवस्था छैन।
कोइराला सोध्छन्, यदि नाफा गरेको छैन भन्ने हो भने आफ्नो खाता स्पष्ट रुपमा देखाओस् न त। उनीहरुको कारोबार पादर्शी छैन। टेलियासोनेरा जस्तो कम्पनीबाट मैले यस्तो आशा गरेको थिइनँ। यदि उनीहरुले नाफा गरेका छैनन् भने सार्वजनिक रुपमा हेर्नुस् यो हाम्रो ब्यालेन्स सिट भनी देखाउनु पर्थ्यो। टेलियाले नेपालमा आफ्नो विश्वसनीयता गुमाएको छ।
ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले यो विषय अहिले अनुसन्धानको चरणमा रहेको बताएका छन्।
एनसेल खरिद गर्ने मलेसियाको एक्जियटा कम्पनीले कर टेलियाले तिर्नुपर्ने बताउँदै नेपालको मिडियामा छापिएको समाचार बारे टेलिया सिइओले कार्यक्रममा भने, ‘हामीले पनि यो देख्ने बित्तिकै सीधै एक्जियटासँग स्पष्टीकरण सोधेका थियौँ। उनीहरुले दिए। उनीहरुले यो हैन भने।‘
तपाईँले तपाईँ ठीक हो भन्नुहुन्छ, एनसेलका हालका सिइओले उनी ठीक छन् भन्छन् भनी रिपोर्टरले सोधेको प्रश्नमा टेलिया सिइओ भन्छन्- ‘उनले के सोच्छन् भन्ने कुरा महत्वको विषय होइन। उनी एनसेलका सिइओ हुन्। एक्जियटाले के भन्छ त्यो महत्वपूर्ण हो। उनीहरुले भनेका छन् यो गलत हो। टेलियासोनेरासित कुनै क्लेम छैन।‘
कार्यक्रम एसभिटीको वेबसाइटमा अनलाइन हेर्न सकिन्छ।
