PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जगजित जन्मजयन्ती : पारिवारिक वियोग खेपेका मखमली आवाजका जादूगर



पहिलोपोस्ट

जगजित जन्मजयन्ती : पारिवारिक वियोग खेपेका मखमली आवाजका जादूगर

  • दीपसागर पन्त/पहिलोपोस्ट
फेब्रुअरी ८, २०१३। नवावहरुको सहर भनेर चिनिने भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊ। जहाँ सुरमयी, मखमली आवाजका सम्मोहक र जादुगर जगजित सिंहको ७२ ‍औं जन्मजयन्तीमा गजलको एक त्रिदिवशीय भव्य महफिलको आयोजना गरिएको थियो। गजलका लागि निकै उर्वर मानिने यो भूमिमा प्राचीन समयदेखि नै गजलका महफिलहरु बारम्बार आयोजना भई नै रहन्छन्। त्यहाँका नवावहरु गजलका निकै सौखिन थिए। जसले भारतमा गजलको बलियो जग बसाए।
 
पश्चिम नेपालबाट एक हुल गजलकर्मीसहित हामी पनि यो महफिलमा मिसिन पुगेका थियौँ। सुदूर र मध्यपश्चिमबाट नजिक पर्ने भारतीय सहरहरुमा हुने साहित्यिक कार्यक्रममा त्यस क्षेत्रका साहित्यकर्मीहरुको ओहरदोहर पहिलेदेखि नै चलिरहन्थ्यो। त्यस बेला लखिमपुरकी नारी स्रष्टा डा. प्रतिभा शर्माको आमन्त्रण तथा नेतृत्वमा नेपाली गजलकारसमेत सम्मिलित टोली केही थान गजल बाेकेर लखनऊका लागि हिँडेको थियो। गजलको प्राचीन नगरी लखनऊमा आयोजित त्यस महफिलमा मुनब्बर राना, बाशीर बद्र, राहत इन्दोरीदेखि कुमार विश्वाससम्मका प्रसिद्ध सायर र अनुप जलोटा, सुरेश वाडकर, सतीश बब्बरसम्मका ख्यातिप्राप्त गायक, सङ्गीतकारहरुको पनि उपस्थिति थियो। त्यस महफिलमा देश-विदेशका लेखक, गायक, कलाकारदेखि भारतका ठूल्ठुला नेताहरु पनि सहभागी थिए।
 
त्यही महफिलमा पलेँटी कसेर बसेका थिए महाराष्ट्र, मुम्बई निवासी प्रबोध गोदिवाला। गोदिवाला एक सुप्रसिद्ध भारतीय फोटोग्राफर हुन्। उनी कुशल सङ्गीतज्ञ तथा गजल सङ्गीतका एक मर्मज्ञ पनि हुन्। उनी जगजित सिंहका अत्यन्तै नजिकका मित्र पनि रहेछन्। महफिलमा यिनले सिंहबारे विभिन्न रोचक तथा भावुक कुरा सुनाएका थिए। करिब ३५ वर्षदेखि जगजित सिंहलाई चिन्दै आएका यिनले पछिल्लो केही समय सिंहको अत्यन्तै घनिष्ट मित्रका रूपमा उनीसँग सङ्गत पनि गरेका रहेछन्। उनलाई धेरैले जगजित सिंहको 'शब्दकोश' पनि भन्दा रहेछन्। लामो समयदेखि सिंहका गजल महफिलहरूमा सहभागी हुँदै आएका यिनलाई त्यहाँ विशेष अतिथि बनाइएको थियो।
 
मलाई जगजित सिंहका बारेमा केही लेख्ने रहर उहिल्यैदेखि थियो। लखनऊ महफिलमा सरिक भएको करिब चार वर्षपछि मैले उनै जगजित सिंहका परम मित्र गोदिवालासित सम्पर्क गरी जगजितबारे कुराकानी गरेको थिएँ।
 
जगजितको जीवनलाई नजिकबाट अवलोकन गरेका गोदिवाला उनलाई अत्यन्तै सरल, मिलनसार र दानी व्यक्तित्वका रुपमा लिन्छन्। जगजितको स्वाभावबारे गोदिवालाले सुनाए, 'निजी जीवनमा दु:खी भए पनि उनको अनुहारमा यसको झलक देखिँदैनथ्यो। सधैँ चुट्किलाहरु सुनाएर रमाइलो गरिरहन्थे।'

उनको गायकीको विषयलाई लिएर उनले थपे, 'उनी गजललाई एकदमै सरल ढड्गले कम्पोज गर्दथे। आफ्ना गजल सबैले सुन्न र बुझ्न सकून् भन्ने उनको चाहना हुन्थ्यो। उनमा एउटै गजलको मुखडालाई अलग अलग चार–पाँच सुरमा गाउन सक्ने कला थियो। मेरो अनुरोधमा उनले पटक पटक यस्तो चमत्कार गरेर देखाएका छन्।'

गोदिवालाका अनुसार जगजित नेपालप्रति पनि रुचि राख्दथे। उनले नेपाली भाषाका गीत तथा गजल पनि गाएका छन्। उनले नाम सम्झिन नसके पनि जगजित सिंहलाई नेपाली सङ्गीतकर्मीले भेट गरेको र उनीसँग मिलेर गीत/गजल कम्पोज गरेको राम्रै सम्झना छ। त्यस बेला आफूले कम्पोज गरेको सङ्गीत सुनेर जगजित नेपाली भाषाका गीत/गजलमा पनि स्वर दिन तयार भएको अनुभव सङ्गीतकार आलोकश्री सुनाउँछन्। पछि जगजित सिंहको स्वर र आलोकश्रीको सङ्गीतमा ‘संयोग’ नामक एल्बम बजारमा आएको थियो। यसरी जगजित नेपाली स्रोतामाझ पनि उत्तिकै लोकप्रिय रहेका पाइन्छन्।

फिल्म उद्योगमा लामो समय फोटोग्राफरको रुपमा काम गरेका उनलाई जगजितसितका केही फोटो माग्दै मैले सोधेको थिएँ, 'जगजित सिंहको देहान्त भएपछि तपाईँलाई आफ्नो क्यामेराले कुनै क्षण कैद गर्न छुटाएजस्तो लागेको छ कि छैन?' 
उनले जवाफमा भने, 'यस्ता धेरै क्षण थिए। आफूसँग नजिक हुँदा कुनै पनि कुराको महत्त्व कम हुने रहेछ। हामीले सोचेकै थिएनौँ कि हाम्रा प्रिय मान्छे यति चाँडै हामीलाई छाडेर जानेछन्। उनको र हाम्रो परिवारका संयुक्त फोटो धेरै खिच्न पाइनँ। मलाई अहिलेसम्म पनि यो अभाव खड्किइरहन्छ।'
 
जगजितले उर्दू भाषाका महाकवि मिर्जा गालिबकै गजलमा किन बढी स्वर दिए त भन्ने प्रश्नमा उनी भन्छन्, 'गालिबका गजलमा उनले निकै संशोधन गरे र उनका गजललाई आम जनमानसमा ल्याउने भरमग्दुर प्रयास गरे। उनी जसको गजल गाउँथे त्यसैमा हराउँथे। गालिबलाई गाउँदा गाउँदै उनी झण्डै गालिबजस्तै बनेका थिए।' 

जगजितका अधूरा योजनाबारे उनले सुनाए- 'अन्तिम वर्षमा जगजितले भजनका धेरै सिडीहरु निकालेका थिए। अचनाक उनले यो संसार छाडेर जानु पर्यो। ती भजन स्रोतामाझ ल्याउने उनको सपना अधूरै रह्यो। यो कुरा आजसम्म कसैलाई पनि थाहा छैन। म त्यो बाहिर ल्याउने क्रममा छु।'
 

गजलका महानायक जगजित


सन् १९७० को दशकदेखि हिन्दी गजल गायनका क्षेत्रमा नयाँ लहर सुरु गरेर चार दशकसम्म गजल गायकीलाई नयाँ आयाम, नयाँ पहिचान दिएका जगजित गजलका एक महानायक हुन्। सन् १९४१ को फेब्रुअरी ८ मा राजस्थान, गङ्गानगरमा जन्मिएका उनको न्वारानको नाम ‘जगमोहन’ थियो। पछि पितामाताले ‘जगजित’ नाम राखिदिए। उनले गङ्गानगरको खालसा स्कुलबाट सुरूवातकालीन शिक्षा प्राप्त गरे। त्यसपछि डिएबी कलेजबाट स्नातक र कुरुक्षेत्र विश्वविद्यालयबाट पोस्ट ग्य्राजुएट डिग्री लिए। सङ्गीत कलाको तालिम र अनुकरणचाहिँ शिख मन्दिरमा गई पं. चगनलाल शर्मा र उस्ताद जमाल खानबाट प्राप्त गरे।
 
उनका बुवाको चाहना उनलाई इन्जिनियर बनाउने थियो। तर उनीभित्र त गायक प्रतिभा लुकेको थियो। एकदिन अचानक झिसमिसेमै घर छोडेर उनी चलचित्र नगरी मुम्बईतिर लागे। उनले घर छाडेको परिवारका कुनै पनि सदस्यले थाहा पाएनन्। मुम्बईमा नै उनले आफ्नो पगरी निकाले, दाह्री फाले र परम्परागत शिख जीवनशैली त्याग गरी नयाँ मार्गतिर लागे।
 

चित्रासँगको भेट

सपनाको सहर मानिने मुम्बईमा सङ्घर्षकै क्रममा उनको चित्रा सिंहसँग भेट भयो। सन् १९६९ मा उनी चित्रासँग प्रणयसूत्रमा बाँधिए। पहिलो छोरा विवेकको जन्मसँगै उनीहरूको युगल गायन–यात्रा अगाडि बढ्यो। गजल सङ्गीतमा पाकिस्तानी गायकहरूको वर्चस्व रहेको समयमा आएको ‘द अन्फोर्गटेबल’ एल्बमले यो जोडीलाई गजल गायनका सितारा नै बनाइदियो। संसारका प्रसिद्ध मिडियाहरूले उनको मुक्तकण्ठले प्रशंसा गरे। उनका लोकप्रिय गीत/गजलहरूमा ‘होठों से छुलो तुम’, ‘हजारों ख्वाहिशें ऐसी’, ये कागज की कश्ती’, ‘झुकी झुकी सी नजर’, ‘बात निक्लेगी तो आदि रहेका छन्।
 
जगजितलाई भारतका सर्वकालिक सफल गजल गायकका रूपमा पनि लिइन्छ। साथै उनी कुशल सङ्गीतकार, गीत/गजलकारका रूपमा पनि चिनिन्छन्। गजल सङ्गीत, शास्त्रीय सङ्गीत, भक्ति सङ्गीत तथा लोक सङ्गीतका क्षेत्रमा सिंहले उत्तिकै प्रसिद्धि कमाए। उनको विशिष्ट योगदानचाहिँ गजल गायनमै रहेको देखिन्छ। चार दशकको अवधिमा उनका असीभन्दा बढी गजल एल्बम बजारमा आएका छन्।
 
जगजित सुरमयी, मखमली आवाजका सम्मोहक र जादुगर थिए। उनी गजलजस्तो गायनमा जटिल विधालाई अत्यन्तै सरल ढङ्गले प्रस्तुत गर्ने अनौठा कलाकार थिए। सारा स्रोता उनको गायन कलाबाट मुग्ध भए। उनले सुप्रसिद्ध उर्दू महाकवि मिर्जा गालिबका धेरै गजल गाएका छन्। ती गजल उत्तिकै सुमधुर र चर्चित छन्। गालिबलगायत मीर, मजाज, फिराक र फैजजस्ता महान् गजलकारलाई गायनमार्फत सरलतम् ढङ्गले आम जनमानससम्म पुर्‍याउने श्रेय पनि उनैलाई जान्छ। आम जनजीवन र भावनासँग मेल खाने विशिष्ट सायरहरूका गजल/गीत छानेर भाव र लयमा विशेष जोड दिनु उनको वैशिष्ट्य हो। आफ्नो अद्भूत गायन–कलामार्फत आममानिसका मनलाई झङ्कृत पार्न सक्नु सिंहको खुबी थियो।
 
नयाँनयाँ प्रयोग गर्न रुचाउने सिंहले नै गजल सङ्गीतमा पहिलो पटक म्युजिकल इन्ट्रुमेन्टको प्रयोग गरे। पहिलो पटक जुगलबन्दीमा गजल गायन गर्ने कामको थालनी पनि उनैले गरेका थिए। जसमा उनकी धर्मपत्नी चित्रा सिंहको महत्त्वपूर्ण साथ रह्यो।
 

छोराको दुर्घटना, छोरीको आत्महत्या


यो जोडीको युगल सङगीत–यात्रा लामो समय कायम रह्यो। तर सन् १९९० मा आएर यस विशिष्ट जोडीको सहकार्यमा एकाएक बिराम लाग्यो। त्यतिबेला उनका छोराको सडक दुर्घटनामा मृत्यु भयो। चित्राले यसपछि गाउनै सकिनन्। सन् २००९ मा उनकी छोरीले आत्महत्या गरेपछि चित्रा मानसिक रुपमा विक्षिप्त बनिन्। उनी सहरबाट टाढा गाउँमा गएर बस्न थालिन्। तर जगजित भने गायनमै लागि नै रहे। पछि सिंहले ‘सजदा’ लगायतका एल्बमहरूमा प्रसिद्ध गायिका लता मङ्गेसकरसँग मिलेर पनि गीत/गजल गाए।
 

महानायकको महाप्रस्थान 

गजल सङ्गीतका पथप्रदर्शक मानिने यी प्रसिद्ध गजल गायकको सन् २०११ अक्टुबर १० मा मुम्बईमा देहावसान भयो। उनलाई ब्रेन हेमरेज भएपछि २३ सेप्टेम्बरमा मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो। ब्रेन हेमरेज भएपछि उनको सर्जरी गरियो र पछि स्वास्थ्यमा गम्भीर समस्या देखा पर्‍यो। त्यस बेलादेखि उनी आइसियुमै भर्ना थिए। ब्रेन हेमरेज भएको दिन उनी सुप्रसिद्ध गजलगायक गुलाम अलीसँग एउटा प्रस्तुति दिने तयारीमा थिए।

यी महान् गायकलाई योगदानको उच्च कदर गर्दै सन् २०१२ मा राजस्थानको राज्य सरकारले मरणोपरान्त सर्वोच्च नागरिक सभामा ‘राजस्थान रत्न’द्वारा विभूषित गर्‍यो। सन् २००३ मा उनलाई भारतको तेस्रो ठूलो नागरिक सम्मान ‘पद्मभूषण’ तथा १९९८ मा भारतीय अकादमी पुरस्कार दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell