PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कविता : लेख्न बाँकी यौटा अध्याय



कविता : लेख्न बाँकी यौटा अध्याय

 

भावना शर्मा

छोरी - आमा, मान्छेले केके खान्छ?
 
आमा- दाल, भात, तरकारी खान्छ
 
छोरी- अनि…
 
आमा- ढिँडोरोटो, आँटोपिठो खान्छ
 
छोरी- अरू…
 
आमा-  माछामासु, फलफूल, दूध खान्छ
 
छोरी- अरू…
 
आमा-  मःम, चाउमिन, चाउचाउ खान्छ
 
छोरी- यत्ति मात्रै?
 
आमा- होइन होइन खान त अरू धेरै कुरा खान्छ
 
छोरी- भन्नुस् न त
 
आमा-  देख्दै, पढ्दै बिस्तारै सिकिन्छ लाटी!
उत्तरहरू किताबमा नै हुन्छन्
 
छोरी- अनि किताबमा नभएका?
 
आमा- जीवनले सिकाउँछ नि!
तिमीले बुझ्नुपर्नेछ,
यहाँ नजानिँदो गरी 'मान्छेले मान्छे नै खान्छ'
चिथोरेर अनुहार, कोपरेर आँखाहरू
अन्धो, लाटो, बहिरो बनाइदिन्छ
अनि सुस्तरी सुस्तरी लुछीलुछी
मान्छेलाई यहाँ मान्छेले नै खान्छ!!
 
छोरी- हामी भागौं आमा मान्छेको बस्तीबाट!
 
आमा- भाग्नुहुन्न छोरी !
तर्साउने मान्छेहरूसँग
हामी नतर्सिएरै बाँच्नुपर्छ!
उल्ट्याएर 'चक्रव्यूह' समयको
लेख्नुपर्छ बिलकुलै नयाँ किताब
मान्छे नखाने मान्छेहरू जन्माएर
'मान्छे'कै परिभाषा बदल्नुपर्छ...



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell