PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​नेपाली गल्फकी 'लेडी टाइगर'



गोविन्दराज नेपाल

​नेपाली गल्फकी 'लेडी टाइगर'

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्स (आरएनजिसी) मा चिपिङ कम्पिटिसनको दिन। होलमा १० वटा बल छिराउनुपर्ने। एकपछि अर्को खेलाडी आए र प्रयास गरे। कसैले पनि १० मा १० बल होलमा छिराउन सकेनन्। १२ वर्षीया प्रतिमा शेर्पाको पालो थियो अन्तिममा।

आफ्नो पालो आएपछि उनको हातमा रहेको स्टिक चलिरह्यो। एक-दुई-तीन गर्दै लगालग नौ वटा बल होलमा छिर्‍यो। बाँकी थियो अन्तिम बल।

उनीसँगै अन्य खेलाडी र दर्शकको समेत मुटु ढक्क फुल्यो।
के १० औं बल पनि होलमा छिर्ला?

***
धनी र सम्भ्रान्तहरुको खेलका रुपमा परिचित गल्फ खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्स (आरएनजिसी) मा तत्कालीन रोयल फेमिली, विदेशी विशिष्ट पाहुना र उद्योगी व्यापारीको ‘इलिट सर्कल’ चक्कर मारिरहन्थे।

त्यही गल्फकोर्सको होल नम्बर ३ नजिकैको छाप्रोमा त्यहीँ काम गर्ने एउटा परिवार बस्थ्यो। त्यही परिवारकी एक्ली छोरी थिइन् फुच्ची प्रतिमा। फलामे लट्ठीले सेतो बल हिर्काएर हरियो चौरमा बनाइएको प्वालमा पसाएको दृष्य उनी खुब नियाल्थिन्।
 

प्वालमा बल पस्दा खेलाडी जति रमाउँथे उनी पनि त्यत्तिकै खुसी हुन्थिन्। 'त्यस्तै गरी बल हान्न पाए..' उनलाई लागिरहन्थ्यो। तर न उनीसँग महंगो सेतो बल थियो न स्टिक।

चाहेपछि विकल्प नहुने कुरै भएन। टन्न सेतो बल बोकेर आउने दाइहरुसँग माग्दा २-४ वटा बल पाइहालिन्। कुरो थियो फलामे स्टिकको। त्यसका लागि नजिकै वन थियो नै। त्यही वनको रुखको एउटा हाँङ्गो उनका लागि स्टिक बन्यो। अनि दिनभरि चौरमा हुने गतिविधिको सिको गर्दै उनले दौंतरी भेला पारेर त्यही काठको लौरोले सापटीमा पाएको बल हान्दै होलमा छिराउने खेल सुरु गरिन्।

***
यो चिपिङ कम्पिटिसनमा उनको हातमा काठको साटो सक्कली स्टिक थियो। प्रतिमा १० औं बल होलमा छिराउने ध्याउन्मनमा थिइन्, एकाग्र।

उनले परको होल हेरिन् र बिस्तारै स्टिक उठाइन्। उनको मुटु ढक्क फुल्यो। उनको हातमा रहेको स्टिकले बललाई चुम्यो र उड्यो।

उनले १० औँ बल हान्दा उत्सुकतापूर्वक हेर्ने दर्शकमध्ये एक थिए नेपाल गल्फ एसोसिएसनका महासचिव टासी घले जसले उनलाई खेल्न निम्त्याएका थिए।

१० ‍औँ बल पनि होलभित्र प्रवेश गर्‍यो।

प्रतिमा दङ्ग हुने नै भइन्। उनीसँगै घले पनि दङ्ग परे।

१२ वर्षको उमेरमा जुनियर गल्फ प्रोग्रामका लागि छनोट भइन् प्रतिमा।
 

आरएनजिसी गल्फ कोर्समै लट्ठी र सापटीमा पाएको बलसँग खेलेर हुर्किएकी उनै किशोरी प्रतिमा अहिले नेपालमा मात्र होइन यति विदेशमा समेत चर्चामा छिन्।

सचिनप्रसाद भट्टराईले निरन्तर कोच गर्दै आएका उनी अहिले 'नेपालको पहिलो महिला प्रोफेसनल गल्फर' बन्ने अभियानमा छिन्। सोचेजस्तै प्रक्रिया सकारात्मक रुपमा अघि बढ्यो भने एक महिनाभित्र उनको यो सपना पूरा हुनेछ।

झन्डै छुटेन स्टिक र बल
प्रतिमा जुनियर प्रोग्रामअन्तर्गत हरेक गल्फ टुर्नामेन्टमा भाग लिन्थिन्। सन् २०१२ देखि सुरु भएको फाल्डो सिरिज सेलेक्सन राउण्डको पहिलो संस्करणमै उनले उपाधि जितिन्। त्यसयता कहिल्यै उनको हात रित्तो भएन।

चीनमा हुने फाल्डो सिरिजको इन्टरनेशनल टुर्नामेन्टका लागि छनोट भइन् तर खेल्ने अवसर पाइनन्।

कारण, उनीसँग पासपोर्ट नै थिएन।
 

सन् २०१५ मा पनि उनी फाल्डो सिरिजको लागि छनोट भइन्। तर जान पाइनन्। दोस्रो पटक तगारो बन्यो उनको बुबाको नागरिकता। बाबुको नागरिकता नहुँदा उनको नागरिकता बनेन। नागरिकता नभएपछि पासपोर्ट बन्ने कुरै भएन।

फाल्डो सिरिजमा छनौट भए पनि जान ६ महिना बाँकी थियो । तर यो बीचमा नागरिकता बन्ने पक्का थिएन। तनावमा उनलाई लाग्यो- गल्फ नै छोडिदिन्छु।

म्बर वन लेडी गल्फर
सिनियरहरुको साथले प्रतिमाको हातबाट स्टिक छुट्न पाएन जसको प्रतिफल उनी स्वदेशमा भन्दा विदेशमा बढी चर्चामा छिन्।
अहिलेसम्म हात पारेको उपलब्धिले नै पुष्टि गर्छ उनी नेपालको नम्बर वन लेडी गल्फर हुन्।

जुनियरदेखि सिनियरसम्म उनले करिब तीन दर्जन उपाधि जितिसकेकी छिन्। उनको गल्फ करियर आरएनजिसीबाटै सुरु भयो। त्यहाँ भएका लगभग सबै प्रतियोगिता उनले छुटाइनन्। आरएनजिसीमा मात्र नभएर गोकर्ण गल्फ फरेस्टमा गएर पनि प्रतिमाले आफ्नो कौशल देखाइन्।
 

जुनियरमा राम्रो गर्दै गएपछि आरएनजिसीले प्रतिमालाई गल्फ मेम्बर बनाइदिएको छ। २०१५ बाट उनले सिनियर टुर्नामेन्टहरु खेल्न थालिन्। 'सिनियरमा आएपछि आरएनजिसीमा हुने हरेक टुर्नामेन्ट खेल्न पाउँछु। अहिलेसम्म त्यहाँ भएका करिब ३० वटामध्ये २० वटा उपाधि जितिसकेँ,' उत्साही हुँदै आफ्नो प्रगतिबारे सुनाइन्।

प्रशिक्षक भट्टराईका अनुसार प्रतिमाको खेल अरुको भन्दा उत्कृष्ट छ। 'फाल्डो सिरिजको लागि प्रतिमासँगै अन्य खेलाडीले पनि प्रयास गरेका थिए तर प्रतिमाले उत्कृष्ट प्रदर्शन गरिन्,' उनले भने, 'अरुको भन्दा प्रतिमाको खेल्ने शैली उत्कृष्ट छ।'

नेपाली गल्फका लागि 'लेडी टाइगर' प्रतिमाको परिवार सोलुखुम्बुबाट काठमाडौं आएका हुन्।  तर प्रतिमा भने अहिलेसम्म सोलुखुम्बु पुगेकी छैनन्।

लक्ष्य : बाहिर गएर खेल्ने
प्रतिमाको चर्चा अहिले स्वदेशमा मात्र सीमित छैन। अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा चुलिएको छ। 

नेपालको नेक्स्ट प्रो

नेपालको पहिलो गल्फ स्टार

फ्रान्‍सेली मिडियामा प्रतिमा

चर्चाले देशको सिमा नाघेसँगै उनको सपनालेसमेत प्वाँख हाल्दैछ। विदेशको प्रतियोगितामा सामेल भएर अनुभव लिन आतुर छिन् उनी।
भन्छिन्, 'विदेशमा गएर खेलूँ र देशको नाम राखूँ भन्ने लागेको छ।'

प्रशिक्षक भट्टराईको विश्लेषणमा बाहिर खेल्नका लागि उनले अझै सुधार गर्नुपर्नेछ।

'नेपालमा खेल्न सजिलो छ। बाहिर उत्तिकै गाह्रो,' उनी सुझाउँछन्, ' उनलाई एड्भान्स गेम जरुरी भइसक्यो।'

अहिले प्रतिमा नयाँबजारस्थित प्राइम कलेजमा व्यवस्थापन संकायमा १२ कक्षामा पढ्छिन्।

'अहिले पढिरहेकी छिन्। १२ कक्षा सकिएसँगै हामीसँग ५/६ महिनाको टाइम हुन्छ। त्यसमा प्रतिमाले फिजिकल सुधार्नुपर्छ,' उनले भने, 'उनलाई योगा पनि चाहिन्छ। त्यसपछि मात्र प्रोफेसनल वा बाहिरको खेलका लागि फिट हुन्छिन्।'
 

टाइगर उड्स आदर्श
प्रतिमा नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने खबर राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा छाइरहेको छ। अन्तराष्ट्रिय मिडियाले उनलाई पछ्याउन छाडेको छैन।

उनको मनपर्ने खेलाडी हुन् टाइगर उड्स।

उनका बारे विश्व गल्फका हस्ती अमेरिकन गल्फर टाइगर उड्स समेत बेखवर छैनन्। यो बारे प्रतिमासमेत जानकार छिन्।

अझै हटेन तगारो
प्रतिमाले गल्फ खेल्न थालेको ६ वर्ष भइसक्यो। पासपोर्ट नहुँदा उनले दुई पटक फाल्डो अन्तर्राष्ट्रिय सिरिज खेल्ने मौका गुमाइन्। तर अझै उनको तगारो हटेको छैन।

विदेशमा खेल्न जान पासपोर्ट चाहिन्छ। अझै उनको पासपोर्ट बनेको छैन।

नेपालमा बुबाको नागरिकताबाट सन्तानको नागरिकता बन्थ्यो। नागरिकता बनाउन बाबुकै नागरिकता चाहिने । उनको बाबुकव नागरिकता नहुँदा उनी पनि नागरिकताविहिन भइन्।

अहिले आमाको नामबाट पनि नागरिकता बनाउन सकिने कानुनि ब्यवस्था छ । उनी अब आमाको नामबाट नागरिकता अनी पासपोर्ट पाउने आशमा छिन्।

'निकै लामो प्रक्रिया पार गरियो, अब एक महिनामा समस्या समाधान हुन्छ होला,' भट्टराईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell