PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​के गर्दैछ भारतीय सैनिकसहितको टोली काठमाडौँमा? कसरी हटाइँदैछ विमान?



​के गर्दैछ भारतीय सैनिकसहितको टोली काठमाडौँमा? कसरी हटाइँदैछ विमान?

  • कञ्चन अधिकारी -
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थलको रनवे नै छेकेर बसेको टर्किस एयरलाइन्सको विमान हटाउन १३ भारतीय सैनिकसहित २५ जनाको टोलीले काम गरिरहेको छ। उनीहरुलाई नेपाल सेना, नेपाल पुलिस, प्राधिकरण, नेपाल एयरलाइन्स तथा टर्किस एयरको प्राविधिक टोलीले घटनास्थलमा सघाइरहेको छ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लालसुमनका अनुसार विमानस्थल विस्तारमा रहेको कम्पनी स्यान्स जोसेफको सामाग्री तथा कर्मचारी पनि सहयोगको लागि तयारी अवस्थामा राखिएका छन् ।
 
यो रिकभरी टिमले काम सुरु गरेपछि नसकुन्जेल अनवरत काम गर्ने उनले बताए।
 
नेपाल सरकारको विशेष अनुरोधमा बिहीबार दिउँसो दिल्लीबाट भारतीय एयरफोर्सको हर्कुलस जहाजमा एयरक्राफ्ट रिमुभल किट ल्याएर टर्किस जहाज हटाउने काम भने सुरु भएको हो।
 
उनले भने, ‘यो जहाज हटाउनको लागि यति नै समय लाग्छ भन्न गाह्रो छ। जबसम्म धस्सिएको विमान लेभलमा आउँदैन, त्यतिबेलासम्म केही भन्न सकिन्न । लगातार काम भए चारघण्टा पनि लाग्न सक्छ, २४ घण्टा पनि लाग्न सक्छ। ’
 
जहाज हटाउँदा आवश्यक पर्ने सहयोगी औजारहरु भने प्राधिकरणले जुटाइदिएको छ । यी औजार प्राधिकरणले हिजैदेखि जुटाउन थालेको हो। दुर्घटनास्थलमा सम्भावित खतरालाई मध्यनजर गर्दै दमकल पनि तयारी अवस्थामा राखिएको छ।

कसरी हटाइन्छ विमान ?

टर्किस एयरलाइन्सको एयरबस अहिले दुई वटा रनवेको बीच भागको घाँसे मैदानमा जोतिएको अवस्थामा छ। यसलाई उठाउन ब्लाडर (रबरको ट्युब)को प्रयोग गरिँदैछ।
  
सुमनका अनुसार रिकभरी टोलीले कसरी यसलाई हटाउँछ भन्ने कुरा ब्लाडर हालेर जहाज उठाएपछि मात्रै भन्न सकिन्छ।  उनले भने, ‘नोज ल्यान्डिङ गियर पनि छैन र मेन ह्वील पनि ड्यामेज छ। अब जहाजलाई उठाएपछि मात्रै अगाडि फरवार्ड गर्ने कि व्याकवार्ड गर्ने भन्ने थाहा हुन्छ।’
 
जहाज उठाउनको लागि रिकभरी टिमले ब्लाडर ल्याएको छ।  त्यो ब्लाडर जहाकोज तल खनेर बनाइएको भागमा राखिन्छ र  हावा भरिन्छ । हावा भरिँदै गएपछि विस्तारै जहाज पनि उठ्दै जान्छ र लेभलमा आउँछ। त्यसपछि जहाजको  ल्यान्डिङ ह्वील राख्ने वा नराख्ने तय गरिन्छ।
 
हावा हालेर जहाज सन्तुलनमा आइसकेपछि चारतिर जग राखिन्छ।  जहाजको बिग्रिएका सबै टायर फेर्ने प्रयास गरिने छ। जहाजमा टायर फेर्न सफल भएमा विस्तारै तानेर पाखा लगाइन्छ।

 कहिलेसम्म विमानस्थल बन्द ?

 नागरिक उड्डयन प्राधिकरणले बिहीबार पाँच बजे विमानस्थल खुलाउने भने पनि शुक्रबार बिहान १० बजेसम्मको लागि औपचारिक रुपमा बन्द गराएको छ। तर विमानस्थल सम्वद्ध उच्‍च स्रोतका अनुसार शुक्रबार दिउँसो २ बजेभन्दाअघि विमानस्थल खुल्ने संभावना निकै कम छ।
 
स्रोत भन्छ, ‘रातैभरी  काम गर्ने भने पनि कामदारहरुले गर्दैनन्। उनीहरुलाई पनि  आरामको खाँचो पर्छ। त्यसैले जहाज हटाउने काम बिहीबारै सकिन्न। शुक्रबार बिहानभरी काम गरे भने दिउँसोतिर खुल्न सक्छ।’
 
 यदि जहाजमा टायर राखेर गुडाउन नसकिने अवस्था नरहेमा प्राविधिकले ट्रोइङ बार मार्फत जहाज उचालेर धावन मार्गबाट हटाउने छन् ।
 
ट्रोइङ बार नामक मेसिनबाट जहाजलाई उचाल्ने तथा दायाँबायाँ सार्न सकिन्छ । यसबाट जहाजलाई भने क्षति नहुने बताइएको छ।
 
खाली अवस्थामा एकसय २६ टन रहेको यो जहाज कार्गो र इन्धनसहित जहाजको तौल १५० टनभन्दा बढी छ जसले दुघर्टनाग्रस्त विमानलाई सहजै धावन मार्गबाट हटाउन सकिने अवस्था नरहेको विमानस्थल प्राविधिकको भनाइ छ।

सुन्नुस् महानिर्देशक सुमनको के भन्छन्-
 






एयरक्राफ्ट रिमुभल किट लिएर आएको भारतीय एयरफोर्सको विमान बिहीबार साँझ भारत फर्कँदै। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell