PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौँ विमानस्थल 'अनिश्चित काल'का लागि बन्द, विमान ननिकाली उडान नहुने



काठमाडौँ विमानस्थल 'अनिश्चित काल'का लागि बन्द, विमान ननिकाली उडान नहुने

  • कञ्चन अधिकारी -
काठमाडौँ : टर्किस एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द रहेको काठमाडौँ विमानस्थल अनिश्चित कालका लागि बन्द भएको प्राविधिक स्रोतले जनाएको छ। औपचारिक रुपमा भने विमानस्थल प्रशासनले भोलि बिहीबार अपराह्न ४ बजेसम्मका लागि विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द हुने जनाउ एयरलाइन्सहरुलाई दिइसकेको छ। 

यसअघि बुधबार बिहान दुर्घटना भएपछि सुरुमा मध्याह्न १२ बजेसम्म र त्यसपछि साँझ ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गर्ने सूचना दिइएको थियो। 

'भोलि अपराह्न ४ बजेपछि पनि एयरपोर्ट खुल्ने संभावना छैन', विमानस्थलस्थित प्राविधिक स्रोतले पहिलोपोस्टलाई बतायो, 'दुर्घटनाग्रस्त विमानलाई रनवेबाट नहटाएसम्म उडान र अवतरण संभव छैन।'

यात्रु अलपत्र

विमानस्थल बन्द भएपछि बुधबारका ४० उडान रद्द भएका छन्। दिनभर विमानस्थलमा यात्रुहरु अलपत्र परेका थिए। काठमाडौँ आउन तयार भएका विमानहरु अन्यत्रै डाइभर्ट गरिएका थिए। भोलि पनि तीन दर्जन उडान रद्द हुने निश्चित छ।  

रद्द भएपछि नियम अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले यात्रुहरुलाई होटलमा राख्नुपर्ने हुन्छ। नेपाल एयरलाइन्सको आज बिहान हुन लागेको दिल्ली उडानका १ सय ३९ यात्रुहरु घर फर्किएका छन् भने दोहाका लागि टिकट काटेका १ सय ९० जना यात्रुहरुलाई सुन्धाराको होटल राजस्थानमा राखिएको छ। 

त्यस्तै अन्य एयरलाइन्सका यात्रुहरुलाई पनि काठमाडौँका विभिन्न होटलमा राखिएको छ। 




किन भयो बन्द विमानस्थल?

विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि उपयोग हुने रनवेमै दुर्घटनाग्रस्त विमान रहेको छ। अहिले विमान उडाउन खोज्दा पखेटाले रोक्ने स्थिति छ। 

विमानलाई सो स्थानबाट हटाउन आवश्यक क्रेन नेपालमा नै छैन। स्रोत भन्छ, 'यस्तो क्रेन एउटा मुम्बईमा छ, भारतीय एयरफोर्सको।'

त्यसलाई ल्याउने विमान अवतरण गराउन कम्तिमा ५ हजार मिटरको रनवे भएको विमानस्थल आवश्यक पर्छ। तर काठमाडौँ विमानस्थलको रनवे ३ हजार मिटरको हाराहारीमा मात्रै छ। 

अब पाइलटले ३ हजार मिटर रनवे भए पनि जोखिम मोलेर अवतरण गर्न राजी भएमात्रै क्रेनसहितको विमान अवतरण हुनसक्छ। 

पड्किएको टायरको ठाउँमा नयाँ हालेर तान्ने र नोज निकाल्ने विकल्प छन्।  



'फ्युल अटोमेटिक लक'

यसैगरी क्र्यास ल्यान्ड गरेको विमानको फ्युल अटोमेटिक लक भएको स्थितिमा रहेको प्राविधिक स्रोत बताउँछ। फ्युल ननिकाली सार्न नमिलेका कारण पनि अहिले गाह्रो भइरहेको हो। 

अहिलेसम्म विमानको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डेटा रेकर्डर निकाल्न सकिएको छैन। 'त्यो हेरेपछि मात्रै खास के भएको हो थाहा पाउन सकिन्छ', स्रोत बताउँछ।

टर्किस एयरलाइन्सले भोलि मात्रै इस्तानबुलबाट इन्जिनियर ल्याउने बताएको छ।   
 

ठूलो दुर्घटना टर्‍यो

टर्किस एयरलाइन्सका चालकले विमानलाई खाल्डोमा जानाजानी लगेका कारण ठूलो दुर्घटना टरेको प्राविधिक स्रोतको जिकिर छ। यदि विमान रनवेमा नै केही समय कुदेको भए आगो लाग्ने र झन् ठूलो क्षति हुनसक्ने स्थिति थियो। 

अलि अगाडि बढेको भए विमान नेपाल आयल निगमको हवाई इन्धन डिपो रहेको ठाउँमा पुग्न सक्थ्यो। त्यहाँ विमान पुगेको भए अकल्पनीय क्षति हुन सक्थ्यो।

प्राविधिक स्रोतका अनुसार द्रुत गतिमा रहेको विमान थोरै समयमात्रै रनवेमा कुदी त्यसपछि खाल्डोमा जाकिएको थियो। विमानको टायर पड्किएको  छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell