PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्ववियु निर्वाचनमा उमेर हद विवाद औचित्यहीन



स्ववियु निर्वाचनमा उमेर हद विवाद औचित्यहीन

  • कृष्ण भट्टराई 
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकले फागुन १४ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय क्याम्पससहित सम्पूर्ण क्याम्पसहरुमा स्ववियु निर्वाचनको मिति तय गरेसँगै अहिले विद्यार्थीहरुबीच आसन्न स्ववियु निर्वाचनको विषयमा चर्चा चलेको छ। त्यसमध्ये पहिलो पटक त्रिविले लगाएको उमेर हदका कारण कतिपय विद्यार्थी संगठनहरुले त्यसको विरोध गरिरहेका छन् भने कतिपय समर्थनमा देखिन्छन्। यो आलेखमा उठाउन खोजिएको विषय पनि उमेर हदसँगै सम्बन्धित छ।

पहिलो कुरा त झण्डै आठ वर्षपछि स्ववियु निर्वाचनको मिति तय हुनु आफैमा सुखद् पक्ष हो, विद्यार्थी राजनीति गर्नेहरुका लागि। तर अहिले आम विद्यार्थीहरु उमेर हद विवादका कारणले कतै यसअघि जस्तै अन्तिम घडीमा निर्वाचन नै स्थगित हुने त होइन भन्ने संशय उत्पन्न गराएको छ।

अहिलेको सन्दर्भमा हेर्दा नियमित विद्यार्थीहरुका लागि निर्वाचन महत्त्वपूर्ण विषय हो। तर उमेर हदलाई कारण देखाउँदै विद्यार्थी राजनीति, त्यसमा पनि स्ववियुजस्तो निकायलाई पेण्डुलम बनाइएमा हाम्रा शैक्षिक एजेण्डाहरु कमजोर बन्दैजाने निश्चित छ। त्यसैले पनि विद्यार्थी आन्दोलनको हित चाहने जोकोही पनि निर्वाचनको पक्षमा उभिन जरुरी छ।

दोश्रो, सिकाइको कुनै उमेर हद हुँदैन भन्दै नेपाल बिद्यार्थी संघको तर्कलाई सम्मान गर्दै निर्वाचनका सन्दर्भमा उम्मेदवार बन्न पाउने उमेर हदका विषयमा केही बुझ्न जरुरी छ। सामान्यतया एउटा नियमित विद्यार्थीका लागि २८ वर्ष काफी समय हो। तर जीवनभर विद्यार्थी राजनीतिलाई पेशा बनाउँदै पचास वर्षसम्म पनि क्याम्पसको गेट कुर्नेहरुको रवैया कम गर्न उमेर हद स्वभाविक कार्य हो।

२८ वर्षभन्दा माथिका विद्यार्थी मतदाता बन्न पाउने तर उम्मेदवार बन्न नपाउने व्यवस्थाले   उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुलाई कुनै रोकावट गरेको देखिँदैन। यसले त खाली क्याम्पसहरुमा हुने चर्को राजनीति, त्यसको आडमा गरिने गलत क्रियाकलापहरुलाई मात्र रोक्न खोजेको देखिन्छ। त्यसैले उम्मेदवार बन्ने योग्यता भएमात्र मतदाता वा विद्यार्थी भइन्छ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ।

हाम्रो देशमा मतदाता बन्न १८ बर्ष उमेर पुगे हुन्छ भने उम्मेदवार बन्न २५ वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान छ। यसले पनि स्पष्ट बनाउँछ कि, सबै मतदाताहरुमा उम्मेदवार बन्ने योग्यता हुनुपर्छ भन्ने बाध्यकारी व्यवस्था कतै पनि छैन। उदारहणका लागि एकजना मतदाता सांसदको उम्मेदवार बन्न २५ वर्ष उमेर पुरा गरेकै हुनुपर्छ तर मतदाताको हकमा भने १८ वर्ष पुरा भएपछि उसले मतदान गर्ने पूर्ण अधिकार प्राप्त गर्दछ। त्यसैले २८ वर्षभन्दा मुनिका विद्यार्थीहरुलाई मात्र मतदाता मान्नुपर्छ भन्ने तर्क न्यायसंगत मान्न सकिन्न।

राजनीति केवल राजनीतिका लागि मात्र कि राजनीति जीवन परिवर्तनका लागि? यो प्रश्न अहिले बडो जोडतोडका साथ उठिरहेको छ। अहिले विद्यार्थी राजनीतिमा रहेकाहरुले यो कुरा नबुझेसम्म हाम्रो शैक्षिक आन्दोलन पनि सशक्त बन्न सक्दैन। जीवनभर विद्यार्थी राजनीति गर्ने तर पेशा नभएकाहरुले कसरी जीविकोपार्जन गरिरहेका छन्? उनीहरुको आम्दानीको स्रोत के हो भन्ने कुरा सार्वजनिक हुनु जरुरी छ। शिक्षा भनेको जीवन परिवर्तनको मुख्य आधार हो।

त्यसैले सधैँ क्याम्पसको विद्यार्थी भएर मात्र वा विद्यार्थी राजनीति गरेर पाउने फाइदा के हो? उमेर हद नलगाएको खण्डमा विद्यार्थी नेताहरुको जीवन त चौपट हुन्छ नै, स्ववियुमा उसले निर्वाचन जितेमा उसको जीविका धान्ने आधारसमेत त्यही संस्था बन्न जान्छ। यसले शैक्षिक संस्थाहरुमा थप आर्थिक अराजकता निम्त्याउने खतरा सधैँ रहिरहन्छ।

विगत ८ वर्षदेखि त्रिविमा निर्वाचन हुन नसक्नुका विभिन्न कारणहरु छन्। तर त्यही आठ वर्ष निर्वाचन नभएको विषयलाई आधार बनाएर झण्डै चार दशक उमेर पुरा गर्दै गरेका नेताहरु फेरि पनि वियद्यार्थी राजनीतिमा आउनुपर्छ भन्ने कुरा गलत छ। हिसाब गर्दा यो आठ वर्षको अवधिमा क्याम्पसहरुबाट करिब तीन ब्याचले बिदा लिइसके। २०६५ सालमा प्रवेशिका पास गरेको विद्यार्थी पनि स्नातकोत्तर पास गर्ने अन्तिम विन्दुमा छ।

अझ स्ववियु निर्वाचनको २ वर्षपछि मात्र क्याम्पस तहको अध्ययन प्रारम्भ गरेका विद्यार्थिहरुले समेत आफ्नो अध्ययन सकिसकेका छन्। यसको ज्वलन्त उदाहरण म स्वयम् नै हुँ। मैले २०६७ सालमा मात्र उच्चमाध्यामिक तह पास गरेको हुँ। २०६७ सालमा नै स्नातक तहमा भर्ना भएँ र  हाल म स्नातकोत्तरको अन्तिम सेमेस्टरमा अध्ययनरत छु। यस्तो अवस्थामा मैले राजनीति गर्नका लागि मात्र क्याम्पसमा बसिरहन मिल्छ?

विद्यार्थी राजनीतिसमा लामो समयदेखि अनवरत रुपले सहभागी भई विद्यार्थीहरुको हकहितका लागि लडिरहनु भएका सबै विद्यार्थी नेताहरुप्रति मेरो उच्च सम्मान छ। तर अब समय तपाईँहरुले विद्यार्थी राजनीतिलाई थप एक कदम अगाडि बढाउन आफ्नो व्यत्तिगत स्वार्थ र सांगठनिक स्वार्थबाट माथि उठेर सोच्नुपर्ने समय आएको छ।

अब नयाँ पुस्ताको काँधमा विद्यार्थी राजनीतिलाई हस्तान्तरण गर्ने समय आएको छ। मलाई आशा एवम् विश्वास के छ भने स्ववियु निर्वाचनविना विद्यार्थी राजनीतिको कुनै अर्थ रहँदैन भन्ने कुरा तपाईँ हामी सबैले बुझ्नै पर्दछ। त्यसकारण विद्यार्थी राजनीतिको अस्तित्व बचाउन र स्ववियु निर्वाचनलार्ई सफल बनाउन सबै विद्यार्थी संगठनका नेताहरुले आफ्नो व्यत्तिगत एवम् सांगठनिक स्वार्थलाई त्यागी समग्र विद्यार्थीहरुको हक र हितका पक्षमा लाग्न आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell