PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरोजगोपाल रहेनन् : नेपाली संगीतलाई 'पर्नु पीर पर्‍यो'



सरोजगोपाल रहेनन् : नेपाली संगीतलाई 'पर्नु पीर पर्‍यो'

काठमाडौं : प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यको निधन भएको छ। ६४ वर्षीय गायक बज्राचार्यको बिहीबार बिहान पोखरा-१, बागबजारस्थित आफ्नै निवासमा निधन भएको कवि तीर्थ श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार अघिल्लो दिनसम्म पनि कुनै स्वास्थ्य समस्या नभएका बज्राचार्य राति अचेत भेटिएका थिए। ‘हिजोसम्म उहाँ सकुशल हुनुहुन्थ्यो’, श्रेष्ठले भने, ‘चिकित्सकका अनुसार करिब ३ बजेतिर निधन भएको अनुमान छ।‘

बज्राचार्य बुधवार टोलसुधार समितिको बैठकमा सहभागी भएर राति ९ बजे घर फर्किएका थिए।

बज्राचार्यकी श्रीमती बाबा राणा पनि गायिका हुन्। उनका एक छोरा र एक छोरी छन्।

सरुभक्त भन्छन् - ​‘मेरो प्रिय साथी’

​प्रसिद्ध साहित्यकार सरुभक्तले आफ्नो प्रिय साथी सरोज गोपालको असामयिक निधनले आफू गहिरो पीडामा रहेको बताए। ‘उसको असामयिक निधन मेरा लागि अकल्पनीय रह्यो। यति चाँडै उसले छोडेर जाला भनेर सोचेको पनि थिइनँ’, सरुभक्तले पहिलोपोस्टसँग भने, ‘३० देखि ४० को दशकका धेरै युवाका लागि ऊ प्रेरणाको श्रोत थियो। बहुमुखी प्रतिभा थियो। असल व्यक्ति थियो।‘
 
३४ सालमा बज्राचार्यको अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवार स्थापना हुँदा साहित्यकार सरुभक्त यसका सचिव थिए।  ‘यो ऐतिहासिक र हालसम्म पनि उत्तिकै सक्रिय संस्था स्थापना गर्न उनको मुख्य भूमिका थियो’, सरुभक्तले भने, ‘ऊ सज्जन प्रकृतिको मान्छे थियो।‘ 

नेपाली लोकगायनकको क्षेत्रका प्रतिभाशाली गायक तथा संगीतकार बज्राचार्यले परम्परागत लोकसंगीतलाई आधुनिकीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको सरुभक्तले बताए। ‘गाउँका ठेट गीतलाई ऊ समयअनुसार आधुनिकतासँग फ्युजन गर्थ्यो, सरुभक्तले भने। 

‘राजा वीरेन्द्रका प्यारा’
राजा वीरेन्द्रको सवारीमा गायक बज्राचार्यले ‘देउराली उकालो चढेर….’, बोलको गीत गाउँदा राजाले अत्यन्त मन पराएको सरुभक्त सम्झन्छन्। ‘उ मलाई यो कुरा पटकपटक सुनाउँथ्यो। राजाले खुब रुचाएका थिए रे’, सरुभक्तले भने।

पोखराकै लागि समर्पित
बज्राचार्यले २८ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए। २००७ साल जेठ २० गते पोखरामा जन्मेका बज्राचार्यले आफ्नो अधिकांश जीवन पोखरामा नै बिताए। 'उहाँ डेढ वर्षजति काठमाडौं बसेको सम्झना छ। नत्र उहाँ पोखराकै लागि समर्पित हुनुभयो', श्रेष्ठले भने।

सांगीतिक परिवारमा हुर्किएका बज्राचार्यका पिता चन्द्रमान बज्राचार्य र माता लक्ष्मीकुमारी बज्राचार्य हुन्। गायक बज्राचार्यका १० गीत रेकर्ड भएका छन्। गायक र संगीतकारबाहेक उनी लोकसंगीतको अध्ययन अनुसन्धानमा सक्रिए थिए।

उनका चर्चित गीतका शब्दहरुमा पनि पोखरा आसपासका स्थान उल्लेख छन्। 'देउराली उकाली चढेर..' मा विजयपुर खोला तरेको उल्लेख छ।

त्यस्तै 'नक्कलीलाई भगाई लग्यो झिल्केले' मा 'विन्ध्यवासिनी थानैमा औंठी चिनो दियो रे' छ।

दिउँसो १ बजेबाट पोखरा क्षेत्रमा शव यात्रापछि पोखराकै गाइघाटमा अन्त्येष्टि गरिएको कवि श्रेष्ठले बताए।

नवोदित गायकलाई स्थापित बनाए
कवि श्रेष्ठका अनुसार बाल्यकालदेखि गीतसंगीत क्षेत्रमा होमिएका बज्राचार्यले आफूलेमात्र गीत गाएनन्, गीत गाउन चाहने नवोदित गायकलाई स्थापित बनाए। ‘उहाँलाई पोखराले यहाँको कलासाहित्यलाई देशभर चिनाउने संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संस्थापक अध्यक्षका रुपमा सँधै सम्झिरहने छ’, उनले भने।

बज्राचार्य पोखराको माछापुच्छ्रे एफएम ९१ मेगाहर्जका संस्थापक स्टेशन म्यानेजर थिए।  

करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल
राष्ट्रिय भावनाले ओतप्रोत भएका सदाबहार गीतहरुको सूचीमा शीर्ष स्थानमा पर्ने एउटा गीत छ- करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल। यो गीतको संगीत संयोजन उनले गरेका हुन्। यसमा उनी र उनकी धर्मपत्नी बाबाको पनि स्वर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell