PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​सात दशकअघि पनि नेपालमा सिआइएको जासुसी : भारतीय प्रमको पर्चा खसालिएकोदेखि युएफओसम्म



उमेश श्रेष्ठ

​सात दशकअघि पनि नेपालमा सिआइएको जासुसी : भारतीय प्रमको पर्चा खसालिएकोदेखि युएफओसम्म

काठमाडौँ : अमेरिकी सरकारको जासुसी एजेन्सी सिआइए ७० वर्षभन्दा अघिदेखि नै नेपालमा सक्रिय रहेको र यहाँका सानाठूला घट्नाक्रमसमेत अमेरिकी हेडक्वार्टरमा रिपोर्ट हुने गरेको देखिएको छ।

अमेरिकाको फ्रिडम अफ इन्फरमेसन कानुन अनुसार पुराना केही फाइलहरु सर्वसाधारणको पहुँचमा हुने गरी सार्वजनिक गरिएको छ, जसमा नेपालसम्बन्धी रोचक रिपोर्टहरु पनि समावेश छ। 

भारतीय प्रमको अपील नेपालका १२ सहरमा जहाजबाट खसालियो

नेपालमा भारतीय हस्तक्षेपको विषय अहिले पनि चर्चामा छ। विक्रम संवत् २००७ साल पुस २९ गतेको घटना भने अहिलेको हस्तक्षेपभन्दा बेग्लै छ। सिआइएको रिपोर्ट अनुसार शनिबारको यो दिन नेपालका १२ जिल्लामा झण्डै साढे ६ सय किलोग्राम नेपाली र अङ्ग्रेजीमा छापिएको पर्चा खसालिएको थियो। पर्चा खसाल्न निजी चार्टर विमान उपयोग गरिएको थियो, सिआइए रिपोर्टमा उल्लेख छ। 

रिपोर्टमा पर्चा खसालिएको सहरका नाम मात्र हैन, अक्षांश र देशान्तर पनि उल्लेख छन्। पर्चा खसालिएका सहरहरुमा नेपालगन्ज, इलाम, विराटनगर, धनकुटा, भोजपुर, ओखलढुंगा, वीरगञ्ज, गोरखा, प्युठान, डडेलधुरा र वैतडी छन्।   

त्यतिबेला नेपाली कांग्रेसले जनमुक्ति सेना गठन गरी राणा शासनविरुद्ध सशस्त्र संघर्ष गरिरहेको थियो भने राजा त्रिभुवन भारतीय दूतावास हुँदै दिल्लीमा शरण लिएको दुई महिना भइसकेको थियो। 

भारतीय प्रमले नेपाली जनतालाई गरेको अपीलमा हिंसात्मक गतिविधि बन्द हुने आशा गरिएको थियो। 

यस्तो थियो भारतीय प्रम नेहरुको अपीलको अङ्ग्रेजी अनुवाद

पोखरा नजिकै उडनतस्तरी देखियो

सन् १९६८ को सिआइएको एउटा अर्को गोप्य रिपोर्टमा भारत, भुटान र चीनसँगै नेपालमा देखिएको युएफओ (उडनतस्तरी) बारे उल्लेख छ। 
चैत १२, २०२४ मा नेपालको कास्की क्षेत्रमा उत्तरबाट दक्षिणतर्फ एउटा अचम्मको उडन् वस्तु आवाज निकाल्दै उडेको देखिएको सिआइए रिपोर्टमा उल्लेख छ। रिपोर्ट अनुसार पोखराबाट पाँच माइल टाढा रहेको बाल्टिचौरमा ठूलो धातुजस्तो देखिने डिस्क आकारको वस्तु भेटिएको थियो जसको छ फिट चौडाइ र चार फिट उचाइ थियो। तालाकोट र टुरेपसलमा पनि यस्तै वस्तुका अंश भेटिएको रिपोर्टमा उल्लेख छ। 

नेपाली कांग्रेसले हतियार किन्दैछ

सन् १९५१ को सिआइए रिपोर्टको शीर्षक छ – नेपाली कांग्रेसद्वारा भारतको गोवा र पन्डिचेरीमा हतियार किन्ने प्रयास। 
विवरणमा उल्लेख छ – नेपाली कांग्रेस समूहले गोवा र पन्डिचेरीबाट हतियार लिने प्रयास गरिरहेको छ। खरिद पन्डिचेरी सरकारबाट नभई स्थानीय बजारबाट गरिँदैछ जहाँ भारतमा भन्दा हतियार किन्न सजिलो हुन्छ। 

नेपाली कांग्रेसलाई भारतको सहयोग

७ जुलाई १९५० मा सिआइएले एउटा रिपोर्ट पठाएको छ जसमा नेपाली कांग्रेसलाई भारतको सहयोग रहेको र कांग्रेसको आगामी योजनाबारे उल्लेख छ। 

२००७ सालमा नेपाली कांग्रेसले सशस्त्र संघर्ष थाल्नुअघि नै सिआइएले त्यसको सुइँको पाएर अमेरिकी सरकारलाई जनाउ दिइसकेको थियो। दुई बुँदे रिपोर्टको पहिलो बुँदामा भनिएको छ- भारतले नेपाली कांग्रेसलाई अप्रत्यक्ष सहयोग गरिरहेको छ। दोस्रो बुँदामा भनिएको छ- नेपाली कांग्रेसले नेपालमा सन् १९५० को अगस्त वा सेप्टेम्बर महिनामा थप हिंसात्मक सरकारविरोधी गतिविधि गर्ने योजना बनाइरहेको छ। 

महेन्द्रको ज्ञान सीमित

राजा महेन्द्रले कू गरिसकेपछि नेपालमा शाही कू शीर्षकमा एउटा लामै रिपोर्ट २५ जनवरी १९६१ मा पठाएको थियो जसमा राजा महेन्द्रबारे उल्लेख छ। रिपोर्टमा भनिएको छ -  महेन्द्रले पाकिस्तानको अयुब शासनको पक्षमा विचार राख्ने गर्थे र त्यहीँको जस्तो अनुकरण गर्ने प्रयास गर्न सक्थे। दुर्भाग्यवश महेन्द्र अयुब हैनन्। रिपोर्टमा महेन्द्र अप्रभावकारी नेता र प्रशासक रहेको भन्दै राजनीतिक र आर्थिक विषयमा उनको ज्ञान सीमित रहेको बताइएको छ। 

अमेरिकी राजदूतलाई खतरा

२५ अप्रिल १९७९ मा भएको स्टाफ मिटिङको माइन्युट भन्दै सिआइएले सार्वजनिक गरेको रिपोर्टमा म्याकमोहनले नेपालमा अप्ठेरो भएको रिपोर्ट गरेको बताइएको छ। उनले राजदूत हेकलाई खतरा रहेको र निकट भविष्यमा केही घटना हुनसक्ने समेत बताएका थिए। 

के हो सिआइए?

राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना संकलन,विश्लेषण र कार्यान्वयन गर्ने अमेरिकी खुफिया एजेन्सी हो सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)। स्वतन्त्र केन्द्रीय निकायको रुपमा रहेको यसले विश्वभर छरिएर रहेका आफ्ना संगठनका जासुसहरुमार्फत् सुरक्षासँग सम्बन्धित सूचना संकलन गरी नीति निर्माणमा संलग्न सरकारी तहका अधिकारीलाई उपलब्ध गराउँछ।

शत्रु देशमा हुने गतिविधिको सूचना संकलन गरी रणनीति बनाउन दोस्रो विश्वयुद्धताका अमेरिकाले खुफिया एजेन्सी बनाएको थियो। सन् १९४७ मा राष्ट्रिय सुरक्षा समबन्धी कानुन बनाएर सिआइए कानुनी रुपमा अस्तित्वमा आयो। यो अहिले स्वतन्त्र संघीय संगठनको रुपमा रहेको छ।
मुख्यतः अमेरिकाविरुद्ध हुनसक्ने सुरक्षा खतरामा केन्द्रीय रहेर सूचना संकलनमा सक्रिय यो संगठनले अवस्था अनुसार सुरक्षा चुनौतीको विश्लेषणसँगै यसको सामना गर्ने रणनीति निर्माण र कार्यान्वयन समेत गर्ने गरेके छ। यस्ता अप्रेशनहरु अधिकांश गोप्य (कोभर्ट) हुने गर्छन्।

सिआइएले अमेरिकी राष्ट्रपतिको मातहतमा काम गर्दै आएको छ। यसको निर्देशक राष्ट्रपतिबाट नियुक्त हुन्छन् तर अमेरिकी सिनेटहरुले अनुमोदन गर्नुपर्छ।

सुरक्षासँग सम्बन्धित सूचना संकलन,विश्लेशण र रणनीति निर्माणको जिम्मेवारी भनिए पनि सिआइए भारतिय खुफिया एजेन्सी रिसर्च एण्ड एनलाइसि विङ्स झैँ राजनीतिक मिसनमा समेत संलग्न हुने गरेको छ। आफु अनुकूलको सरकार नभए अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने,कुप्रचार गराई सत्ता पलट गराउन यो संगठन माहिर मानिन्छ।

इराकी तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले रासायनिक हतियार बनाइरहेको र यसले विश्वलाई नै सुरक्षा खतरा बढाएको भन्दै इराकमा भएको अमेरिकी आक्रमणमा सिआइएको मुख्य भूमिका रहेको र सिआइए एजेन्टले गलत सूचना प्रभाव गरेको पुष्टि भएपछि संगठनको आलोचित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell