PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कुवेतमा ज्यान गुमाएका राईका परिवारलाई एक करोड क्षतिपूर्ति



पहिलोपोस्ट

खोटाङ : कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ।
 
वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई ९८ लाख १० हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो। राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतककी आमा सुभद्रालाई उपलब्ध गराइएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए।

मृतकका परिवारले पाएको उक्त रकम जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जिप्रकाले जनाएको छ। कुवेतमा दुई वर्ष बसेर घर फर्केपछि पुनः कुवेत पुगेका चन्द्रबोलको तीन महिनापछि २०७१ साउन १३ गते गाडी दुर्घटनामा मृत्यु भएको उनका भाइ सन्तोषले बताए।
 
छुट्टीमा घर आएका समयमा विवाह गरेर कुवेत गएका राईको तीन महिनापछि नै मृत्यु भएपछि उनकी श्रीमती दोस्रो विवाह गरेर अन्यत्र गएकी छन्। श्रीमानको मृत्यु भएपछि कम्पनीले दिने क्षतिपूर्तिबापतको रकमका लागि कागजी प्रक्रिया मिलाइदिएर उनी अर्कैसँग विवाह गरेर गएको स्थानीयवासीले बताएका छन्।
 
राईकी श्रीमती अर्कैसँग विवाह गरेर गएपछि हकवालाका रुपमा उनकी आमा सुभद्रालाई चेकमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराइएको प्रशासनले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell