PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोलकाता बन्दरगाहको यार्ड र गोदाम प्रयोगविहीन, सरकारी अकर्मण्यताका कारण करौडौं शुल्कको भार



पहिलोपोस्ट

कोलकाता बन्दरगाहको यार्ड र गोदाम प्रयोगविहीन, सरकारी अकर्मण्यताका कारण करौडौं शुल्कको भार

  • अनन्तराज न्यौपाने 
विराटगर : कोलकाता बन्दरगाहमा भएको नेपालको आफ्नै यार्ड र गोदाम प्रयोगमा नआउँदा यहाँका व्यवसायीले भारतीय स्वामित्वको यार्ड र गोदाम प्रयोग गर्नुपरिरहेको छ।
 
यसबाट नेपालको व्यवसायमा प्रक्रियागत झन्झट र अतिरिक्त शुल्कको समस्या थपिएको छ। नेपालसँग भएको आफ्नै यार्ड समेत प्रयोग गर्न नसक्नु सरकारको अकर्मण्डयता भएको व्यवसायीले आरोप लगाएका छन्।
 
कोलकाता बन्दरगाहमा नेपालको आफ्नै यार्ड त छ तर समुद्रको पानी कम भएका कारण उक्त यार्डसम्म कार्गो बोकेका ठूला जहाज आउन सक्दैनन्।
 
मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य श्रवण अग्रवालका अनुसार यार्डलाई मर्मत सुधार गरेर ठूला जहाज आउने बनाउन सकिन्छ। नेपालको मालसामान लोड गरिएका पानी जहाज भारतीय स्वामित्वकै यार्डमा रोकेर अन्य साना जहाजमार्फत नेपालको यार्डसम्म कन्टेनर ल्याउन सकिन्छ।
 
'नेपालको कार्गो मासिक सरदर पाँच हजार कन्टेनर हुन्छ। सबै कन्टेनर आफ्नो यार्डबाट ल्याउन पनि सकिन्छ,' उनी भन्छन्, 'आफ्नै यार्ड प्रयोग गर्न सके सरकारको अधीनमा रहेको नेपाल पारवहन कम्पनीको गोदाममा नेपालका कन्टेनरहरू राख्न सकिन्छ।'

बन्दरगाहमा भारतीय यार्ड प्रयोग गरेर कन्टेनर भित्र्याउँदा १० दिनभित्र ती कन्टेनर कोलकाता भन्सारबाट जाँचपास गराइसक्नुपर्छ। १० दिनभित्र जाँचपास नभए ती कन्टेनरलाई बन्दरगाह प्रशासनले भारतीय स्वामित्वको सिएफस भन्ने गोदाममा पठाइदिन्छ। सिएफएसमा कन्टेनर गएपछि निकाल्न धेरै प्रक्रियागत झन्झट ब्यहोर्दै थुप्रै शुल्क तिर्नुपर्छ।
 
‘यसको सट्टा नेपालको यार्ड र नेपालकै गोदाम प्रयोग गर्न पाउने हो भने यस्तो झन्झट पर्दैन’, व्यवसायी अग्रवालले भने, ‘सरकारी सुस्तता र अकर्मण्यताले गर्दा यो यार्ड र यहाँको गोदाम प्रयोग हुन नसकेको हो। तर सरकारको दृष्टि पुगेको छैन।’
 
नेपाली व्यवसायीले आफ्नै मुलुकको स्वामित्वमा रहेको यार्ड र गोदाम प्रयोगमा ल्याउन कोलकोतास्थित महावाणिज्यदूतावासलाई सक्रिय बनाउनुपर्ने उनले सुझाव दिए। ‘व्यापार सहजीकरणका लागि महावाणिज्यदूतावास गम्भीर र सक्रिय हुने हो भने धेरै सुविधा हामी प्राप्त गर्न सक्छौँ’, अग्रवालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell