PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रुस्लान कप : नेपाली राइनोजलाई हराउँदै न्यु होराइजन सेमिफाइनलमा, एसपिएले केसीटीसीलाई हरायो



पहिलोपोस्ट

रुस्लान कप : नेपाली राइनोजलाई हराउँदै न्यु होराइजन सेमिफाइनलमा, एसपिएले केसीटीसीलाई हरायो

काठमाडौं : बुटवलको न्यु होराइजन र धनगढीको एसपिए राजधानीमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

न्यु होराइजनले नेपाली राइनोजलाई ८ रनले पराजित गर्दा एसपिएले आयोजक केसीटीसीलाई ४६ रनले हरायो। पहिलो खेलमा पारस खड्काको एपीएफलाई पराजित गरेको नेपाली राइनोज न्यु होराइजनसँग साँघुरो रन अन्तरले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो।

यससँगै सेमिफाइनल समिकरण पनि पुरा भएको छ। न्यु होराइजनले पहिलो सेमिफाइनलमा नेपाल पुलिस र एसपिएले नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

कीर्तिपुरस्थित कीर्तिपुर मैदानमा भएको आइतबारको पहिलो खेलमा नेपाली राइनोजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्यु होराइजनले १९.१ ओभरमा अलआउट हुँदै १०४ रनको सामान्य स्कोर बनाएको थियो। न्यु होराइजनका लागि निर्मल थापाले सर्बाधिक ३० तथा विक्रम भुसालले २७ रन बनाए। यस्तै सुशन भारी र गणेस गौडेलले समान १० रनको योगदान गरे। 

बलिङतर्फ राइनोजका कप्तान शरद भेषावकर र सुशिल कँडेलले समान ३ विकेट लिए पनि ब्याटिङमा चल्न नसकदा राइनोज पराजित हुन पुग्यो। १०५ रनको लक्ष्य पछ्याएको राइनोजले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो। 

राइनोजका लागि नवौं स्थानमा ब्याटिङ गरेका सोन तामाङले सर्बाधिक २७ रन बनाएपनि जिताउन सकेनन्। यस्तै शिव ठाकुर १९ रनमा नटआउट रहे भने पवन सराफले १४ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। राइनोजलाई जितबाट रोक्न कृष्ण कार्कीले ३ तथा शहाव आलम र गणेश गौडेलले समान २ विकेट लिए। 

यस्तै त्रिविमै भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एसपिएले कप्तान राजविर सिंहको अर्धशतकको मद्वतमा निर्धारित २० ओभरमा  ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो। राजविरले ६२ रन बनाए भने सन्दीप धामीले ३३ तथा दीपेन्द्र थापाले २१ रन बनाए। बलिङमा केसीटीसीका सुमित झा र सूर्य लामाले समान २ विकेट लिए। 

जवाफमा १६१ रनको लक्ष्य पछ्याएको आयोजक केसीटीसीको टीमले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो। उसका लागि सुमित महर्जले ४१ रन बनाउनु बाहेक अनय खेलाडीले राम्रो प्रदर्शंन गर्न सकेनन्। बलिङतर्फ एसपिएका विनोद लामाले ३ तथा महेश अधिकारी अमित पौडेलले समान २ विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell