PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेसबुकमा 'छक्कापञ्जा' अपलोड गर्ने झुण्डिएको अवस्थामा भेटिए, आत्महत्या हो कि हैन अनुसन्धान हुँदै



पहिलोपोस्ट

फेसबुकमा 'छक्कापञ्जा' अपलोड गर्ने झुण्डिएको अवस्थामा भेटिए, आत्महत्या हो कि हैन अनुसन्धान हुँदै

काठमाडौं : बिहीबार 'छक्कापञ्जा' फिल्मका निर्माता दीपकराज गिरीले फेसबुकमा स्टाटस पोस्ट गरेको भरमा छक्कापञ्जा पाइरेसीबारे गसिपहरु बनाइए। फिल्म बिहीबार फेसबुक मार्फत आउट भनेर लेखिएको थियो। तर दीपकले एक साताअघि नै फिल्म पाइरेसीविरुद्ध उजुरी दिएका थिए।
 
महानगरीय अपराध महाशाखामा दीपकले फिल्म पाइरेसीविरुद्ध दिएको उजुरीपछि अनुसन्धानका क्रममा प्रहरीले नवलपरासीका २३ वर्षीय कृष्ण सुवेदी सहित चार जनालाई नियन्त्रणमा लियो। सुवेदीले आफूहरु फिल्म पाइरेसीमा संलग्न रहेको स्विकार गरेका थिए।
 
घटना साम्य हुने मोडमा थियो। किनकि फिल्म निर्माण पक्ष र पाइरेसी गर्ने पक्षबीच महानगरीय अपराध महाशाखामै सो विषयमा सहमति भएको थियो।
 
'उजुरीकर्ता र पाइरेसी गर्नेहरुबीच सहमति भएपछि हामीले छोडिदियौं। त्यसपछि उहाँहरुबीच के भयो थाहा छैन', महानगरीय अपराध महाशाखाका डिएसपी पशुपति रायले बताए। उनले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार कागजी सहमति गरेपछि केस बन्द भएको थियो।
 
तर बिहीबार युरोप भ्रमणमा रहेका दीपकले 'केही व्यक्ति प्रहरीको फन्दामा रहेको' जानकारी सहित फेसबुकमा लेखे। उनले स्टाटसमा पाइरेसी गर्नेविरुद्ध सशक्त ढङ्गबाट लागिपर्ने जनाएका छन्।
 
यदि पाइरेसी गर्नेहरुसँग कागजी मिलापत्र भएको थियो भने किन लेखे दीपकले सो स्टाटस?

हाल देशबाहिर रहेकाले उनीसँग भने सम्पर्क हुन सकेन।
 
विभिन्न देशमा प्रदर्शन बाँकी रहेको फिल्म पाइरेसी भएको चर्चा थिएन। दीपकले फिल्म चाँडै हाइलाइट्स नेपालले अफिसियल च्यानलमा अपलोड गर्ने जनाएलगत्तै पाइरेसीको चर्चा बढ्यो।
 
हाइलाइट्स नेपालले बिहीबार फिल्‍म अपलोड गर्‍यो। फिल्‍मको लिङ्क समाचार बनेर आउँदा फिल्म युट्युबमा कुरेर बस्नेहरुका लागि खुसीको खबर बन्यो। तर फिल्म सार्वजनिक भएको पाँच घन्टा पनि नबित्दै छक्कापञ्जा पाइरेसी काण्ड जोडिएर अर्को खबर आयो- 'छक्कापञ्जा पाइरेसी गर्ने युवाले गरे आत्महत्या।'
 
खबर आज सार्वजनिक भयो तर काठमाडौंको भीमसेनगोलास्थित विजय चोक बस्ने सुवेदीले बिहीबार साँझ नै आफ्नो कोठामा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृत्तका डिएसपी नवराज कार्कीले बताए। 'कृष्ण आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् तर परिवारले शरीर नचलाउन भनेपछि हामीले हिजो लास चलाएनौं,' पहिलोपोस्टसँग उनले भने।
 
आज उनको शरीर परिवारले बुझेसँगै पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ। कृष्णको आत्महत्या हो या होइन भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले बतायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell