PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उद्योगमन्त्रीको स्टन्ट : विभागमा साताको तीन दिन पुग्ने घोषणा, तर दौडिए रिबन काट्न



उमेश पौडेल

उद्योगमन्त्रीको स्टन्ट : विभागमा साताको तीन दिन पुग्ने घोषणा, तर दौडिए रिबन काट्न

काठमाडौं : उद्योगमन्त्री नवीन्द्रराज जोशीले मंसिर २९ गते घोषणा गरे, 'म र मेरा राज्यमन्त्री कञ्चनचन्द्र वादे पालो मिलाएर साताको तीन पटक एक घन्टा उद्योग विभागमा बस्छौं।'
 
विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि विभागको निरीक्षणको क्रममा उनले यो घोषणा गरेका थिए। मन्त्री जोशी घोषणापछि भोलिपल्टै मंसिर ३० गते विभाग पुगे।
 

विभाग पुगेका जोशीले तीन दिनअघि मन्त्रालयका कर्मचारी खटाएर गरिएको 'स्टिङ अपरेशन'मा उद्योग दर्ता गर्न विभागका कर्मचारीहरुले २५ हजार रुपैयाँ घुस मागेको भन्दै विभागमा जाने क्रमलार्इ तीव्रता दिने प्रतिबद्धता पनि जनाए।
 
तर उनी आफैँले गरेको घोषणा कार्यान्वयन गर्न भने चुके। महिना दिन पुग्न लाग्दा जोशी दुर्इ पटक मात्रै विभाग पुगेका छन्। अझ राज्यमन्त्री वादे एक पटक मात्रै विभाग पुगे।
 
जोशीले विभागमा बस्ने गरेको घोषणा चर्चाका लागि गरेको स्टन्ट मात्रै रहेको साबित भएको छ। चर्चाका लागि विभागमा बस्ने घोषणा गरेका जोशीले कतैबाट  प्रमुख अतिथि बन्ने निम्तो आएपछि रिवन काट्न दौडिइहाले। स्टिङ अपरेशनमै २५ हजारको घुस मागेको पाइएको बताएका जोशीले ती कर्मचारीमाथि गहिरो अध्ययन पनि गरेनन् र कर्मचारीलार्इ कारबाही पनि गर्न सकेनन्। विभागका कर्मचारी स्वयं समेत उद्योगमन्त्री जोशीलार्इ आलोचना गर्न चुकेनन्।
 
'महिनाभरि नै आउने कुरा थियो, अहिलेसम्म तीन पटक मन्त्रीहरु आउनुभएको छ,' उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भने, 'हप्ताको तीन पटक आउने भन्नुभएको थियो तर महिना दिन बित्यो उहाँहरु देखिनुभएन।'
 
जनताका गुनासा धेरै भएपछि मन्त्री आफैँ विभाग गएका थिए। उनले घोषणा नै गरेर विभागमा अनिवार्य उपस्थित हुने बताएका थिए। तर मन्त्री जोशी जिल्लामा भएको महोत्सव र विभिन्न कार्यक्रममा जानुपरेकोले विभाग जान नपाएको बताए। 'मेरो अनुपस्थितीमा राज्यमन्त्रीलाई जान भनेको थिए तर उहाँ जानुभएनछ' उनले भने 'कार्यव्यस्तता कम भएपछि फेरि जान्छु।'
 
मन्त्री जोशीले पहिलेभन्दा अहिले विभागमा काम गर्ने ढाँचा परिवर्तन भएको र सेवाग्राहीले सहजै सेवा पाएको बताए। उनले उद्योग विभागको महानिर्देशकसम्म पुग्नै नपर्नेगरी सेवा दिने प्रणालीको विकास गरेको दाबी गरे। तर अहिलेसम्म विभागमा गएका सेवाग्राहीले सेवामा कुनै परिवर्तन नपाएको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell