PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

छोरीको बिहेबारे 'अतिरन्जित टीकाटिप्पणी' भयो : लोकमान



छोरीको बिहेबारे 'अतिरन्जित टीकाटिप्पणी' भयो : लोकमान

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसि‌ह कार्कीले छोरीको वैवाहिक कार्यक्रमबारे भएका टीकाटिप्पणीले आश्चर्यचकित बनाएको बताएका छन्। 

आफ्नो व्यक्तिगत वेबसाइटमा राखिएको विज्ञप्तिमा कार्कीले सामाजिक व्यवहार सुधार ऐन-२०३३ को सिमा र परिधिभित्रै रहेर विवाह सम्पन्न गरेको बताएका छन्। 

सादगीपूर्ण ढंगले विवाह सम्पन्न गर्दा समेत नकारात्मक टिप्पणीहरू संप्रेषित हुनुलाई उनले विडम्वनापूर्ण भनेका छन्। 'आयोगबाटै वैवाहिक कार्यक्रम सम्पन्न गरिएको कारणबाट आयोगको काम कारवाहीहरू प्रभावित भएको, आयोगका कर्मचारीहरूले दुःख हैरानी पाएको' भन्नुलाई उनले 'लाञ्छनायुक्त टिप्पणी' भन्दै 'काल्पनिक र मनोगत निष्कर्षमा आधारित' भएको आरोप लगाएका छन्।  

सामाजिक व्यवहार सुधार ऐन पालना गर्ने क्रममा निवासबाटै छोरीको वैवाहिक कार्यक्रम गरिएको उनले बताएका छन्।

हेर्नुस् कार्कीको विज्ञप्तिको पूर्ण विवरण-
 

१४ फागुनमा सम्पन्न मेरी छोरी डा. आध्याश्री कार्कीको वैबाहिक कार्यक्रमलाई लिएर केही संचार माध्यम लगायत पहिचानहिन कतिपय कोणबाट भएका अतिरञ्जनापूर्ण टीका टीप्पणीले मलाई आश्चर्यचकित बनाएको छ । बस्तुत एउटा सचेत नागरिक र राज्यले दिएको जिम्मेवारीलाई मध्यनजर गर्दै मैले सामाजिक व्यवहार सुधार ऐन-२०३३ को सिमा र परिधिभित्रै रहेर आफ्नी छोरीको विवाह सम्पन्न गरेको हुँ।

मेरो पहिचान, सम्बन्ध, सम्पर्क, सदभाव र वृहद पारिवारिक संरचनाका वावजुद अत्यन्त सिमित संख्यामा परिवारजन एवं शुभचिन्तकहरूलाई आमन्त्रण गरेर सादगीपूर्ण ढंगले विवाह सम्पन्न गर्दा समेत केही नकारात्मक टिप्पणीहरू संप्रेषित हुनु आफैमा विडम्वनापूर्ण छ । आयोगबाटै वैवाहिक कार्यक्रम सम्पन्न गरिएको जसका कारणबाट आयोगको काम कारवाहीहरू प्रभावित भएको, आयोगका कर्मचारीहरूले दुःख हैरानी पाएको भन्ने जस्ता लाञ्छनायुक्त टिप्पणीहरू काल्पनिक र मनोगत निष्कर्षमा आधारित छन्।

म आफू आयोगको प्रमुख आयुक्तको रुपमा पद वहाल गरे देखिनै  पदिय जिम्मेवारीको संवेदनशिलताका कारण समेतले राज्यले उपलव्ध गराएको आयोग परिसरभित्रै रहेको सरकारी निवासमा स-परिवार वस्दै आएको छु । सामाजिक व्यवहार सुधार ऐन पालना गर्ने क्रममा सोही निवासबाटै छोरीको वैवाहिक कार्यक्रम सम्पन्न हुनु स्वभाविक नै हो र उक्त कार्यक्रमबाट आयोगको नियमित कुनै पनि कार्य प्रभावित नभएको तथा कुनै पनि कर्मचारी एवं सेवाग्राहीले दुःख हैरानी व्यहोर्नु नपरेको तथ्य स्पष्ट पार्न चाहन्छु।

सामाजिक व्यवहार सुधार ऐन-२०३३ को पूर्ण परिपालनाका साथ सामान्य ढंगबाट छोरीको विवाह सम्पन्न गर्न पाएकोमा सन्तुष्ट छु। सामाजिक अनुशासन कायम गर्नका लागि प्रचलित ऐन कानूनको सीमा र सादगीपनलाई आत्मसात गर्न म सबैमा अपिल समेत गर्दछु।

यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell