PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुमार्गीको ९ अर्बबारे राष्ट्र बैंकले थप अनुसन्धान गर्दै



सुमार्गीको ९ अर्बबारे राष्ट्र बैंकले थप अनुसन्धान गर्दै

  • सुदर्शन सापकोटा-
काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशबाट आएको रकमको थप अनुसन्धान गर्न केही दिनभित्रै  नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा अनुगमन टोली पठाउन लागेको छ।

मुक्ति श्री समूहका प्रमुख अजेयराज पराजुली (सुमार्गी)को नाममा विभिन्न चरणमा आएको नौ अर्ब १० करोड रुपैयाँका बारेमा थप अनुसन्धान गर्न राष्ट्र बैंक अघि सरेको हो। राष्ट्र बैंक उच्च स्रोतका अनुसार, सन् २०१३ देखि नै नेपाल आउन थालेको यो रकमबारे बैंकको प्रत्येक स्विफ्ट एकाउन्ट र कारोबारमाथि अनुसन्धान गरिने छ।

‘हामीले प्रारम्भिक अनुगमन मात्र गरेका थियौं, त्यो पैसा केही रेमिटेन्स र केही ऋणका रुपमा आएको खुलेको थियो,’ उच्च स्रोतले भन्यो, ‘यो रकमबारे धेरैतिरबाट दबाब आउन थालेकाले थप अनुसन्धान विस्तृत रुपमै गरिने छ, यसका लागि केही दिनमै हाम्रो टोली दुवै बैंकमा जाने छ।’

दोस्रो पटक ऋणका रुपमा सुमार्गीको नाममा धेरै रकम आएपछि बैंकले केन्द्रीय बैंकलाई ‘सस्पेक्टेड ट्रान्जेक्सन रिपोर्ट’ (एसटिआर) गरेका थिए। त्यसपछि राष्ट्र बैंकले सुमार्गीको रकम रोकेर नेपाल इन्भेष्टमेन्ट बैंकमा ‘इन्साइड इन्स्पेक्सन’ पठाएको थियो।

कहाँ कति रकम?

राष्ट्र बैंकको प्रारम्भिक अनुगमनमा सुमार्गीको कम्पनीको नाममा कुल ९ अर्ब १० करोड रुपैयाँ नेपाल भित्रिएको छ। कुल रकममध्ये ३० करोड नेपाली रुपैयाँ नबिल बैंकको खातामा आएको थियो भने सात करोड ५० लाख अमेरिकी डलर (साढे सात अर्ब) र एक अर्ब ३० करोड नेपाली रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा आएको थियो। नेपाली र विदेशी दुवै गरेर नेपाल इन्भेष्टमेन्ट बैंकमा आठ अर्ब ८० करोड रुपैयाँ आएको थियो। 

सुमार्गीले नेपाल लगानी बाेर्डबाट सिमेन्टमा लगानी गर्नका लागि स्वीकृति लिएर नै ऋण भित्र्याएको मौखिक जवाफ नियमन निकाय राष्ट्र बैंकलाई दिइसकेका छन्। राष्ट्र बैंकले पनि ऋण दिने संस्था कस्तो हो? त्यसका सञ्चालक को को हुन्, ब्याज दर कति हो? कहिलेसम्म भुक्तानी गर्नु पर्ने हो? लगायतका स्पष्टीकरण सुमार्गीसँग मागेको छ। तर सुमार्गीले ती कुनै प्रश्नको जवाफ दिन सकेका छैनन्।

‘ऋण रकम भित्र्याउँदा राष्ट्र बैंकसँग स्वीकृति लिनु पर्ने स्पष्ट कानुन व्यवस्था हुँदा हुँदै त्यसलाई लत्याएर पैसा ल्याइन्छ भने त्यो हाम्रो चासोको विषय बन्छ,’ उच्च स्रोतले भन्यो, ‘ऋण रकम भन्ने वित्तिकै त्यो साँवा र व्याजसहित फिर्ता गर्नु पर्ने हुन्छ। त्यसमा हाम्रो बढी कन्सर्न हो।’

रेमिटेन्स भन्दै १ अर्ब ७५ करोड सुमार्गीको हातमा

नेपाल आएको कूल रकममध्ये एक अर्ब ७५ करोड रुपैयाँ सुमार्गीले रेमिटेन्सको रुपमा भित्राएको भन्दै भुक्तानी लगिसकेका छन्।

‘रेमिटेन्सका रुपमा आएको रकम भुक्तानी दिन बैंकहरुले पूर्वस्वीकृति लिन नपर्ने भएकाले केही रकम बैंकबाट गइसकेको छ,’ उच्च स्रोतले भन्यो, ‘बाँकी रकम भने सञ्चालकहरु नखुलाइएको कम्पनीबाट ऋणका रुपमा भित्रिएकाले रिलिज गर्न नसकिएको हो।’

राष्ट्र बैंकका अधिकारी र सुमार्गीको भेट

सुमार्गीले डेपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी र गोपाल काफ्लेलाई भेटेरै नेपालमा लगानी गरेर अर्थतन्त्रमा फाइदा पुर्‍याउन नै ऋण ल्याइएको बताउने गरेका छन्। उनले अधिकारीसँग, तपाईका कारणले रकम रोकिएको हो, लगानी प्रवर्ध्दनमा सहयोग गर्नुस् भनेर आग्रह नै गरिसकेका छन्। अधिकारीले भने राष्ट्र बैंकका केही शंकाहरु समाधान गरिए रकम रिलिज गर्न कुनै समस्या नभएको बताएका थिए।

यता अर्का डेपुटी गभर्नर काफ्ले भने रकम रिलिज गर्न केही नरम देखिएका छन्। उनी अन्तर्गत रहेको विदेशी विनिमय विभागले रोकिराखेको रकमलाई सामान्य केही प्रकृया पुरा गरेर रिलिज गरिदिनु पर्नेमा काफ्ले छन्। 

राष्ट्र बैंकले रेमिटेन्सका रुपमा भुक्तानी गरिएको भनिएको रकम पनि ऋण नै हुन सक्ने आशंका गरेको छ। त्यो रकम रेमिटेन्सको रुपमा आए पनि त्यत्रो रकम कुन स्रोतबाट कमाइ भयो भनेर अनुसन्धान थालिने केन्द्रीय बैंकले जानकारी दिएको छ। भुक्तानीमा कैफियत देखिए बैंकहरु पनि कारवाहीमा पर्ने स्रोतले जानकारी दियो।

सुमार्गीको पैसा कसरी आयो राष्ट्र बैंकको ‘नेट’मा ?

​१० लाख रुपैयाँभन्दा बढीको कारोबारमा बैंकहरुले केन्द्रीय बैंकलाई जानकारी दिनुपर्दछ। रेमिट्यान्सका रुपमा पैसा आए त्यसलाई बैंकहरुले ‘थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट’ (टिटिआर)का रुपमा केन्द्रीय बैंकलाई रिर्पोटिङ गर्छन्। 

इन्भेष्टमेन्ट बैंकमा आएको सुमार्गीको पहिलो किस्ताको रकमलाई बैंकले ‘टिटिआर’ गरेर केन्द्रीय बैंक पठाएका थिए। केन्द्रीय बैंकबाट ग्रिन सिग्नल पाएपछि इन्भेष्टमेन्टले त्यो रकम सुमार्गीको नबिल बैंकको खातामा पठाइदिएको थियो।

दोस्रो पटक ऋणका रुपमा सुमार्गीको नाममा धेरै रकम आएपछि बैंकले केन्द्रीय बैंकलाई ‘सस्पेक्टेड ट्रान्जेक्सन रिपोर्ट’ (एसटिआर) गरेका थिए। त्यसपछि केन्द्रीय बैंकले सुमार्गीको रकम रोकेको थियो। केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकमा ‘इन्साइड इन्स्पेक्सन’ पठाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell