PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिसोको सकसमा रहेका भूकम्पपीडित भन्छन्- 'एकमुष्ट रकम नपाउँदा टहरोकै बास'



पहिलोपोस्ट

  • आदित्य दाहाल
मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविसमा चिसो बढेसँगै जनजीवनका साथै चिसोका कारण भूकम्पपीडित मारमा परेका छन्।
 
जिल्लाभरका हिमाली भेगमा हिउँ तथा बेँसी भेगमा आइतबारदेखिको सिमसिम वर्षाका कारण चिसो बढ्नुका साथसाथै बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ।
 
२०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको छानाको भरमा जीवन बिताउन बाध्य छन्।
 
वर्षा र हिमपातका कारण चिसो बढेकाले अब कसरी दिन बिताउने भन्ने अन्योलमा भूकम्पपीडित छन् । विशेषगरी जिल्लाको हिमाली ग्रामीण भेगका बासिन्दालाई जाडोले सताएको छ।
 
भूकम्पले गाउँनै तहसनहस बनाएपछि शेर्माथाङमा सानो टहरा बनाएर आश्रय लिएर बसिरहेका कर्मतोक्पे लामाले आफूलाई टहरामा चिसोले निकै सताउने गरेको बताए।
 
लामा भन्छन्, 'टहरामा डेढ वर्ष अर्थात दुईवटा चिसो कट्यो, अझै सकसमा बाँच्नुपर्ने स्थिति रहेको छ। पुनःनिर्माणका लागि सरकारले समेत एकमुष्ट रकम नदिँदा यस्तो समस्या भएको हो।'
 
लामा जस्तै जिल्लाभरका अधिकांश पीडितले पोख्ने गुनासो एउटै हो। चिसो मौसम मध्य भइसक्दा समेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनःनिर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको पीडित बताउँछन्।
 
घाम लागेको दिन केही सहज भएता पनि साँझ ढल्कँदै गएपछि रात कसरी कटाउने भन्ने कुराले पिरोल्ने गरेको मेलम्ची नगरपालिका– १२ का विष्णु गजुरेल बताउँछन्।
 
भोताङ क्षेत्रका २०० भन्दा बढी परिवारको अवस्था पनि उस्तै कष्टकर छ। कतिपय जाडोबाट बच्न राजधानी पसेका छन् भने केही परिवार आफ्नै थलो फर्केका र केही जाडो छल्न बेँसी सर्ने गरेका छन्।
 
आहिले हेलम्बु, भोताङ, बासखर्क, गोल्चे, गुम्बा, स्याउले र सेलाङलगायत धेरै स्थानबाट विस्थापित भएर बासखर्कमा शिविर नै बनाएका छन्।
 
मध्यपहाडी भेगको तुलनामा हिमालीलाई धेरै समस्या हुने देखिएको छ भने तातोपानीदेखि हेलम्बुसम्म लेकाली भेगका विस्थापित बासिन्दा जाडोको चपेटामा परेका छन्।
 
भूकम्प गएको डेढ वर्ष भन्दा बढी बितिसक्दा पनि सरकारको पुनःस्थापनाको आशमा बसिरहेका विस्थापित पालमा नै जीवन गुजारिरहेका छन्।
 
स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले विस्थापितले घर बनाउँछौँ भनेर पहिलो किस्ता रु ५० हजार लिइसकेकाले वास्तविक विस्थापित छुट्याउनुपर्ने र विवरण तयार गर्नुपर्ने देखिएको जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell