PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अहिलेको मुख्य समस्या एमाले नै हो : उपप्रम विमलेन्द्र निधिसँग किशोर नेपालको अन्तर्वार्ता



पहिलोपोस्ट

अहिलेको मुख्य समस्या एमाले नै हो : उपप्रम विमलेन्द्र निधिसँग किशोर नेपालको अन्तर्वार्ता

​कांग्रेस र माओवादीबीच सत्ता समीकरणका निर्मातामध्येका विमलेन्द्र निधि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। कांग्रेसका जुझारु नेता भनेर चिनिने निधि अहिलेको पुस्ताका नेताहरुमा प्रमुख हुन्। यतिबेला उनी चर्चा र विवादमा छन्। प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन प्रस्तावमा संसद अवरुद्ध गरेपछि उनी आक्रामक भएका छन्। २०३६ सालमा वीपी कोइरालासहित कांग्रेसका नेताहरुले मधेश र पहाड मिलाउने प्रतीकका रुपमा विमलेन्द्र निधिलाई नेपाल विद्यार्थी संघको अध्यक्ष बनाएका थिए। त्यसको ३० वर्षपछि विमलेन्द्र सत्ताको केन्द्रमा छन्। यो केन्द्र धरापमा छ कि सुरक्षित छ? किशोर नेपालले पहिलोपोस्टका लागि लिएको अन्तर्वार्ता।

  • राष्ट्रघाती शब्द उनीहरुले बडो सस्तो तरिकाले प्रयोग गरे। एउटा जिम्मेवार नेताले राष्ट्रघाती जस्तो शब्दलाई सस्तो रुपमा प्रयोग गर्नुहुँदैन। एमालेका अध्यक्ष, जो प्रतिपक्षी दलको नेता हुनुहुन्छ, यो संशोधनको प्रस्तावलाई राष्ट्रघाती बताउनुभएको छ। 

  • राष्ट्रियताको बारेमा, राष्ट्रवादका बारेमा कम्युनिष्टहरुले मलाई सिकाउनु पर्दैन। एमालेले पनि मलाई सिकाउनु पर्दैन। बीपीले वैचारिक रुपमा प्रशिक्षित गरेको नेपाली कांग्रेसको पुस्तालाई राष्ट्रियता र देशभक्ति सिकाउनु पर्दैन । लोकतन्त्र त झन् सिकाउनै पर्दैन । 

  • उनीहरुले गणतन्त्रमाथि आक्रमण गरिरहेका छन्। संघीयतामाथि आक्रमण गरिरहेका छन्। संघीयता भयो भने देश टुक्रिन्छ भनेर कराइरहेका छन्। संघीयताले संसारमा कुन देश टुक्रिएको छ आजसम्म ? 

  • एमालेका कतिपय नेताहरु, कसैको म नाम लिन चाहन्न, हामी २०६२ को आन्दोलन हामी गरिराखेका बेला आन्दोलनको खिलाफमा थिए। राजासँग सम्झौता गर्नुपर्छ भनिराखेका थिए। मैले के देखिरहेको छु भने उनीहरु गणतन्त्रको खिलाफमा, संघीयताको खिलाफमा र हुँदाहुँदा संघीय संरचनाको र संसदीय लोकतन्त्रको खिलाफमा प्रस्तुत भैरहेका छन्।

  • केपी ओली आफैँ प्रधानमन्त्री भएको बेलामा चार वटा विषयमा संशोधन गर्न हामी तयार छौँ, गर्न सक्छौँ भनेर देशभित्र र बाहिर कहाँ कहाँ आफैँले भन्नु भएकै हो। आज सरकारमा नहुँदैमा त्यही विषयमा संविधान संशोधनको औचित्य छैन भनेर भन्न पाइन्छ? त्यो राजनीतिक नैतिकता हो? इमान्दारी हो? बेइमानी होइन? 

  • आफू प्रधानमन्त्री भएको बेलामा संविधानमा संशोधन गर्न तयार छु भनेर भन्ने। अनि त्यही विषयमा अहिले सरकारले संशोधन गर्न खोज्दा दिन्न भन्ने? संशोधनको थलो नै अवरुद्ध गर्ने, ढोका नै थुन्ने। यो रिङ भित्र छिर्न दिन्न भन्नु क्राइसिस क्रियट गर्नु हो। 

  • मधेसी पनि नेपाली  हो। अझ उनीहरु भन्दा बढी नेपाली हो। म दावाका साथ भन्छु। मैले कसैलाई होच्याउन यो बोलेको हैन। म यो कुरा स्वाभिमानका साथ भनिरहेको छु। त्यसकारण उनीहरुलाई लाग्यो होला कि विमलेन्द्र निधिले हामीलाई सिकायो। मैले त हिमाल,पहाड र मधेस जोड्न खोजेको हुँ। 

  • संविधान संशोधनको प्रस्ताव हामीले दर्ता गराएका छौँ। यो फिर्ता हुँदैन। थाँती पनि बस्दैन। एमालेले संसदीय प्रणालीलाई साच्चिकै मान्दछन् भने, एमालेमा अहिले जारी भएको संविधानप्रति साँच्चिकै प्रतिवद्धता छ भने संसदलाई आफूले अवलम्बन गरेको प्रकृया अगाडि बढाउन दिनुपर्योा नि त । यो संशोधन प्रस्ताव उनीहरुलाई चित्त बुझ्दैन भने संसदमा त्यसको विपक्षमा मतदान गरे भइहाल्यो । तर संसद चल्नै दिन्न,संशोधन प्रस्ताव राख्नै दिन्न भन्ने अधिकार कहाँबाट आयो उनीहरुमा? 

  •  जुन काम संविधान जारी गर्ने बेलामा मधेशी गठबन्धनले गर्दै थियो, त्यही काम अहिले एमालेले गर्दैछ। 

  • मलाई के लागिरहेको छ भने यो अहिले गणतन्त्र र संघीयताको खिलाफमा प्रतिगमनकारीहरु र विध्वंशकारीहरुको कतै न कतै मेल छ। सबै कुरा अहिले भन्न पनि मिल्दैन। अहिले अखबारमा के आएको छ भने पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ सैनिक पदाधिकारीसँग  भेटे। सिंगापुरमा पनि भेटे। भारतमा पनि भेटे। 

  • चीनको चासो के हो? दलाई लामा त्यहाँको विस्थापित शक्ति हो। चीनको विस्थापित शक्ति दलाई लामासँग कसैले भेट्छ भने चीन सरकारको सरोकार हुनु जायज हो। नेपालको विस्थापित शक्तिसँग चीन र भारतका नेता वा कुनै पनि मुलुकको नेताले भेट्दा नेपाललाई किन सरोकार नहुने? सोध्नुपर्यो भनेर राम्रो कुरा गर्नुभयो केपी ओलीले। 

  • विप्लव र सिके राउतको इलिमेन्ट सक्रिय छ। गृह मन्त्रालयकै रिपोर्ट सोध्नुहुन्छ भने विप्लव र सिके राउतको एक्टिभिटीमाथि हामीले सरकारको तर्फबाट धेरै नजर राखिराखेका छौं। स्वभाविक पनि हो  र कता कता उनीहरुसँग पनि भेटघाट भएको भन्ने कुरा सुनिन्छ। कसैकसैले भेटघाट गराइदिएको छ रे भन्ने सुनिन्छ। यो त गम्भीर कुरा हो। 

  • सुरक्षाको समस्या पहाडमा छ। मधेसमा पनि छ, अन्यत्र पनि छ। तर बढी पहाडी क्षेत्रमा छ। मधेस भूभाग कहिले पनि आन्तरिक सुरक्षाको अथवा विखन्डनको आधारभूमि भएन। उसले जहिले पनि देशको सुरक्षा गरेको छ।



माओवादी केन्द्र र नेपाली कांग्रेसको अलायन्स छ कहाँ पुगेको छ ?
अलायन्स अहिले ठीकै छ। यो अलायन्स नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भएको ७ बुँदे सम्झौता, त्यसको आधारमा भएको मधेसी मोर्चा, थारु र जनजातिसँग भएको तीन बुँदे सम्झौतासमेत तीनवटा सम्झौता भएको छ। त्यसको विषयवस्तु ‘कमन’ छ। तीनवटै सम्झौताको पहिलो बुँदा के हो भने तराई–मधेसमा आन्दोलनरत दलहरुको, थरुहटको, जनजातिको माग सम्बोधन गर्न संविधानमा संशोधन गर्ने र राजनीतिक सहमतिको वातावरण बनाएर संविधान कार्यान्वयनको सन्दर्भमा तीनवटा चुनाव गराउने। अलायन्सको मूल विषय यही हो।

तर अहिले सरकार संविधान संशोधनको कुरामा अड्क्यो नि?
यसलाई अड्किएको भन्न मिल्दैन। अहिलेको समीकरण संविधान संशोधन र निर्वाचनका लागि बनेको हो। अरु कुरा यसका सहयोगी विषय हुन्। जस्तो आन्दोलनरत दलहरुविरुद्ध लागेका मुद्दा फिर्ता गर्नु, स्वास्थ्य उपचार खर्च दिनु आदि इत्यादि छन् यो पोलिटिकल इन्भायरोमेन्ट...

क्रिएट गर्ने ?
अँ, एउटा पोलिटिकल इन्भाइरोमेन्ट क्रिएट गर्ने प्रयास हो। बाँकी रेगुलर वर्कहरु हुन्। यो सरकारको पोलिटिकल एजेन्डा भनेको संविधान संशोधन र निर्वाचन नै हो। समीकरण बनाउनुको औचित्य पनि यही हो र यसको दायित्व र पहिलो कर्तव्य पनि यही हो। संविधान संशोधनको विषयवस्तुमा सबैलाई सहमतिमा ल्याउन हामीलाई अलिकति टाइम लाग्यो। किनभने आन्दोलनरत दलहरुले माग गरेका संविधान संशोधनमा विषयवस्तुहरु धेरै थियो।

हामीले भनिरहेका थियौं, ‘तपाइँहरुले उठाउनु भएको सबै विषय अहिले एकै पटक संशोधनमा संलग्न गर्न सकिँदैन।‘ चार वटा विषयमा सहमति गर्न नै हामीलाई समय लाग्यो। हामीले संसदमा एमालेलाई पनि साथ लिन खोज्यौं। यसमा पनि समय लाग्यो। संशोधनका ४ वटा विषय छन्। भाषा, नागरिकता, राष्ट्रिय सभाको गठनमा जनसंख्याको अनुपात, त्यस्तै पाँच नम्बर प्रदेशको सीमाङ्कन।

अहिले संविधान संशोधनको प्रस्ताव न यता छ, न उता छ। प्रतिपक्षले यसलाई फिर्ता लिन भनेको छ। सरकारका लागि यो प्रेस्टिजको विषय भयो। तपाई नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने नेता हुनुहुन्छ। तपाईँ एमाले प्रति बढी आक्रामक पनि हुनुहुन्छ। तपाईँको विचार उनीहरुप्रति लक्षित देखिन्छ।
म आक्रामक हैन, धेरै माइल्ड छु। उनीहरु बढी आक्रामक छन्। उनीहरुले यो संशोधनलाई राष्ट्रघाती भने। राष्ट्रघाती शब्द उनीहरुले बडो सस्तो तरिकाले प्रयोग गरे। एउटा जिम्मेवार नेताले राष्ट्रघाती जस्तो शब्दलाई सस्तो रुपमा प्रयोग गर्नुहुँदैन। एमालेका अध्यक्ष, जो प्रतिपक्षी दलको नेता हुनुहुन्छ, यो संशोधनको प्रस्तावलाई राष्ट्रघाती बताउनुभएको छ। यसलाई बाहिरको एजेन्डा हो भन्नु आक्रामक प्रस्तुति हो कि यो संशोधनको प्रस्ताव पहिलादेखि नै पहिचान गरेको विषय हो? यो त एमाले र कांग्रेसले संविधान सभामा, राजनीतिक संवाद समितिमा लिखित रुपमा प्रस्तुत गरेकै विषय हो। त्यसैले यो प्रस्तावलाई राष्ट्रघाती प्रस्ताव भन्नु हुँदैन। यस्तोमा संसद अवरुद्ध गर्नु भनेको संसदीय प्रणाली नमान्नु हो। लोकतान्त्रिक प्रणालीलाई अवरुद्ध गर्नु पो राष्ट्रघात हुन्छ। यो त साह्रै माइल्ड कुरा हो। मैले त वस्तुगत टिप्पणी र विश्लेषण गर्ने बेलामा मात्र आलोचना गरेको छु।



उनीहरुको आक्रमणको तारो पनि तपाई नै हुनुहुन्छ ?
त्यो मलाई थाहा छैन।

मलाई राष्ट्रवाद सिकाउने हैन, म बीपी कोइरालाको स्कुलिङबाट आएको ब्यक्ति हुँ भनेर तपाईँले बारम्बार जवाफ दिनुभएको छ।
हो त । म यो विषयमा दुई वटा कुरा भन्छु । राष्ट्रियताको बारेमा, राष्ट्रवादका बारेमा कम्युनिष्टहरुले मलाई सिकाउनु पर्दैन। एमालेले पनि मलाई सिकाउनु पर्दैन। तपाईँले ठीक भन्नुभएको छ। बीपी कोइराला राष्ट्रको लागि लड्नु भयो। नेपाली युवालाई, नेपाली जनतालाई नेतृत्व प्रदान गर्नुभयो । राष्ट्रवादबारेमा, लोकतन्त्रकोबारेमा र समाजवादको बारेमा वैचारिक नेतृत्व पनि दिनुभयो । राष्ट्रियता र राष्ट्रको केन्द्रीय विषय भनेको जनता हो। जनतालाई हेर्ने हो भने नेपालमा हिमाल, पहाड र मधेस तीनै किसिमका भूभागमा बसेकाहरु नै नेपालको जनता हो। राष्ट्रियतालाई परिभाषित गर्ने सन्दर्भमा विविधता भएको तीनै किसिमको भूभागमा बस्ने जुन जनता छन्, उनीहरुलाई नै बुझेर हामीले राष्ट्रियताको परिभाषा र स्वरुप बुझ्नु पर्छ।

बीपीले अझ के भन्नुभएको छ, तपाईँलाई त झन् याद होला किशोरजी, बीपी भन्नुहुन्थ्यो राष्ट्रवादको चुरो पहाडमा भन्दा मधेसमा बढी छ। मैले यो कुरा भन्दा अन्यथा अर्थ लाग्छ। पहाडका बसाई सराई गरेर जहाँ जान्छन्, त्यही बसोबास गर्छन्, त्यही कमाउँछन्। मधेसका जनता कमाएर फर्कँदा आफ्नै थलोमा गएर घर बनाउँछन्, खेती गर्छन्। यो मेरो विश्लेषण हैन, बीपीको हो ।

यसकारण बीपीले के भन्नुभयो भने आफ्नो थलो, आफ्ना् जग्गा, आफ्नो माटोको सबैभन्दा बढी लगाव राख्ने त मधेसका जनता हुन्। त्यही सन्दर्भमा बीपीले भन्नुभएको थियो राष्ट्रका बारे जब तपाईँमा कुनै किसिमको दुविधा हुन्छ मनमा, एक मुठी माटो लिएर त्यो माटोले जे भन्छ, मनले त्यही गर्नू। मैले भन्न खोजेको, बीपीले वैचारिक रुपमा प्रशिक्षित गरेको नेपाली कांग्रेसको पुस्तालाई राष्ट्रियता र देशभक्ति सिकाउनु पर्दैन। लोकतन्त्र त झन् सिकाउनै पर्दैन । किनभने कम्युनिष्टहरु …

मान्दै मान्दैनन् ?
(हाँस्दै) पछि आएका हुन्। त्यसैले मलाई आक्रमण गरेको पाउँदिन म। मैले के देखिरहेको छु भने उनीहरुले गणतन्त्रमाथि आक्रमण गरिरहेका छन्। संघीयतामाथि आक्रमण गरिरहेका छन्। संघीयता भयो भने देश टुक्रिन्छ भनेर कराइरहेका छन्। संघीयताले संसारमा कुन देश टुक्रिएको छ आजसम्म ? रुस टुक्रियो। तर त्यो संघीय प्रणाली असफल भएर टुक्रिएको थिएन। त्यो त कम्युनिष्टको एकीकृत, केन्द्रिकृत शासन प्रणाली भएको मुलुक थियो। त्यसैले विभाजित भयो। संघीय प्रणाली भनेको शक्तिको पृथकीकरण, शक्तिको विकेन्द्रीकरणमा विश्वास गर्ने लोकतान्त्रिक प्रणाली हो। उनीहरुलाई संघीयता मन परेको छैन।


​तपाईले हेरिरहनुभएको छ केपी ओलीजीको वक्तब्य आइसक्यो । अब त वामदेव गौतमजीले पनि ज्वाइन गर्न थालिसक्नुभयो कि संघीयता हामीले मागेकै थिएनौं। बल्ल बल्ल उहाँले....त्यो धुरीबाट पाप कराउँछ भन्छन् नि (हाँस्दै...) हो अब बल्ल उनीहरुले भन्न थाल्नुभएको छ संघीयता मान्दिन। उहाँहरु संघीयतावादी हैन।

र एमालेका कतिपय नेताहरु, कसैको म नाम लिन चाहन्न, हामी २०६२ को आन्दोलन हामी गरिराखेका बेला आन्दोलनको खिलाफमा थिए। राजासँग सम्झौता गर्नुपर्छ भनिराखेका थिए। उनीहरुले आफैँले आफ्नो दस्तावेज खोजे हुन्छ। अनि फेरि त्यो बेलाका पत्रपत्रिकामा प्रकाशित लेख र समाचारको पानाहरु सुरक्षित होलान्। तपाँइहरुले पनि खोजे हुन्छ।

मैले के देखिरहेको छु भने उनीहरु गणतन्त्रको खिलाफमा, संघीयताको खिलाफमा र हुँदाहुँदा संघीय संरचनाको र संसदीय लोकतन्त्रको खिलाफमा प्रस्तुत भैरहेका छन्।

उनीहरुले यस्तो तागत कसरी पाए त ?
म यसलाई तागत भन्दिनँ। राजनीतिक रुपमा मैले भन्ने हो भने यसलाई अंग्रेजीमा छ नि शब्द डिरेल, हो त्यही भन्छु। अर्थात् उनीहरु लिकबाट हटेको अर्थात् बाटो बिराएका छन्। यो तागत होइन।


अहिले पाँच वटा जिल्ला बन्द नै छ। त्यहाँ तपाँइहरुले सीमाङ्कन मिलाउन खोज्नुभएको छ। जनताले त्यो मिलाउन दिएनन्। संविधान संशोधनको प्रस्ताव अड्किराखेको छ। यो साँच्चिकै क्राइसिस होइन?
यो क्राइसिस कसले क्रियट गर्‍यो? क्राइसिस सरकारले क्रियट गर्‍यो? क्राइसिस क्रियटेड बाइ हुम? त्यो हेर्नुपर्‍यो नि। क्राइसिस बुझ्ने त तपाँइ हुनुहुन्छ नि। हामीले त समाधान दियौँ। किनभने संविधान एउटा गतिशील दस्तावेज हो हामीले भनिराखेका छौँ।

केपी ओली आफै प्रधानमन्त्री भएका बेलामा मधेसी नेताहरुसँग, विजय गच्छदारको त्यसमा सही पनि होला, उहाँले संशोधन गर्न तयारै छौँ भन्नुभएको छ। केपी ओली आफैँ प्रधानमन्त्री भएको बेलामा चार वटा विषयमा संशोधन गर्न हामी तयार छौँ, गर्न सक्छौँ भनेर देशभित्र र बाहिर कहाँ कहाँ आफैँले भन्नु भएकै हो। आज सरकारमा नहुँदैमा त्यही विषयमा संविधान संशोधनको औचित्य छैन भनेर भन्न पाइन्छ? त्यो राजनीतिक नैतिकता हो? इमान्दारी हो? बेइमानी होइन?

आफू प्रधानमन्त्री भएको बेलामा संविधानमा संशोधन गर्न तयार छु भनेर भन्ने। अनि त्यही विषयमा अहिले सरकारले संशोधन गर्न खोज्दा दिन्न भन्ने? संशोधनको थलो नै अवरुद्ध गर्ने, ढोका नै थुन्ने। यो रिङ भित्र छिर्न दिन्न भन्नु क्राइसिस क्रियट गर्नु हो। समस्यालाई सम्बोधन गरेर संशोधन गरेर निर्वाचनको वातावरण बनाएर ऐतिहासिक परिवर्तनलाइ व्यवस्थित गर्न जारी भएको संविधान अगाडि बढाउनु गलत हो?

यो कुरामा तपाँइलाइ टार्गेट गर्नुको के कारण छ?
यो गलत कुरा हो। मैले मलाई टार्गेट गरेको मानेकै छैन। तपाईँहरुलाइ पनि भनौँ है यो। टार्गेट संघीयता र गणतन्त्रलाई छ।

पुष्पकमल दाहालको समर्थनमा जसरी एमाले सरकार टिकिराखेको थियो, त्यसलाई त्यहाँबाट बिथोलेर तपाईँले आफ्नो कोर्टमा ल्याउनुभयो। त्यहाँ देखि त हो खटपट भएको।
अब (हाँस्दै ) उहाँको नेतृत्वले सम्बोधन गर्न सकेन। त्यसकारण हामीले राष्ट्रिय दायित्वलाई बुझेर अहिले संविधान संशोधन गर्न आवश्यक छ। अहिले संविधान संशोधनको औचित्य छ। स्वयम् केपी ओलीकै लिखित दस्तावेज छ। अनि हामीले अब यो काम नेपाली कांग्रेसले गर्नुपर्दछ भनेर सरकार बनाएका हौँ। नेपाली कांग्रेस एक्लैले गर्न सक्दैन। संसदमा जुन संख्या छ, त्यसको हिसाबले नेपाली कांग्रेसले नयाँ समिकरण निर्माण गर्नुपर्छ भन्ने महसुस गर्‍यौँ र प्रचण्डजीसँग र माओवादी केन्द्रसँग छलफल गर्‍यौँ। पार्टीले मलाई माओवादी केन्द्रसँग र मधेसी मोर्चासँग संवाद र सहमति गरेर समिकरण बनाउने काममा लगायो। धेरै साथीहरु मध्ये एउटा जिम्मेवारी बोकेको मान्छे हो म। त्यस अनुसार मैले काम अगाडि बढाएँ। उहाँलाई लाग्यो होला त्यो। मलाई साँच्चै टार्गेट बनाएको हो भने त्यो उनीहरुको लघुताभाष हो।

मधेसको इस्युमा उनीहरुको वक्तव्य हेर्दा उनीहरुको आक्रामकता तपाईँमाथि नै बढी छ जस्तो लाग्दैन?
मधेसमा हेर्ने हो भने, उनीहरुको वक्तव्य हेर्ने हो भने, उनीहरुको आशय मधेस नेपालको भूभाग नै होइन। मधेसी जनता नेपाली नै होइनन्। झापाका जनता, सुनसरी र मोरङका जनता, सप्तरी ,सर्लाही अनि धनुषा र महोत्तरीका जनता, रौतहट र पर्साका जनता र नवलपरासीका जनता। झापादेखि कञ्नपुरसम्मको मधेसी भूभाग। यहाँका जनता के भारतीय जनता हुन् ? के विदेशी जनता हुन्? ती नेपाली होइनन् ? नेपालका जनताले आफ्नो अधिकारका लागि अहिलेकै यही संविधानमा समाधान खोज्दा त्यसलाइ अर्काको जनता हो भन्ने? मैले त्यही कुरा उनीहरुलाइ भनिराखेको छु। मधेसी पनि नेपाली हो। अझ उनीहरु भन्दा बढी नेपाली हो। म दावाका साथ भन्छु।

पुस्ताकै खोजी गर्ने हो भनेदेखि, कुण्डली र वंशावली नै खोज्ने हो भने पनि, मधेसको भूभागमा मधेसी जनता आएको धेरै पहिलेदेखि हो। मैले कसैलाई होच्याउन यो बोलेको हैन। म यो कुरा स्वभिमानका साथ भनिरहेको छु। त्यसकारण उनीहरुलाई लाग्यो होला कि विमलेन्द्र निधिले हामीलाई सिकायो। मैले त हिमाल,पहाड र मधेस जोड्न खोजेको हुँ। मेरो सम्पूर्ण राजनीतिक जीवन हिमाल, पहाड र मधेसलाई एउटा नेपाल मान्नेमा बितेको छ। भविष्यमा पनि त्यही रहनेछ। उनीहरुलाई लागेको होला नेपाल भनेको हिमाल र पहाड मात्रै हो। मैले त्यो कुराको प्रतिवाद गरिरहेको छु। नेपाल भनेको हिमाल,पहाड, मधेस सबै हो। बीपी कोइरालाले सिकाएको पाठ पनि यही हो। मैले गरेको भूमिका, सक्रियता र समर्पण पनि त्यही हो । यो कुरा अरुभन्दा ठोस रुपमा भन्छु म । सायद त्यसैले पनि हुनसक्छ ।

अब यो संविधान संशोधनको प्रस्ताव कसरी अगाडि बढ्छ ?
संविधान संशोधनको प्रस्ताव हामीले दर्ता गराएका छौँ। यो फिर्ता हुँदैन। थाँती पनि बस्दैन। एमालेले संसदीय प्रणालीलाई साच्चिकै मान्दछन् भने, एमालेमा अहिले जारी भएको संविधानप्रति साँच्चिकै प्रतिवद्धता छ भने संसदलाई आफूले अवलम्बन गरेको प्रकृया अगाडि बढाउन दिनुपर्योा नि त । यो संशोधन प्रस्ताव उनीहरुलाई चित्त बुझ्दैन भने संसदमा त्यसको विपक्षमा मतदान गरे भइहाल्यो । तर संसद चल्नै दिन्न,संशोधन प्रस्ताव राख्नै दिन्न भन्ने अधिकार कहाँबाट आयो उनीहरुमा? त्यो संवैधानिक प्रकृया विपरित हो नि। संसदकै विरोधको प्रकृया हो नि यो त। संसदको कार्य सम्पादन नियमावली विरुद्ध हो नि त। अस्ति पनि दुई वटा संशोधन प्रस्ताव दर्ता भएर पारित भएकै छ। पहिला पहिला त उनीहरु भन्नुहुन्थ्यो कि औचित्य चाहियो भनेर। तर जब हामीले औचित्य पुष्टि गर्‍यौँ तब उनीहरुलाई लाग्यो कि अब त यो पारित हुन्छ। त्यसैले यो पारितै हुन नदिनका लागि उनीहरु लागे।

सरकारको नेतृत्ववाट हट्नु परेको ह्याङओभर जस्तो छैन एमालेको अहिलेको अवस्था?
त्यो पनि हो, धेरै ह्याङओभर छ। सरकारमा रहँदा उनीहरुले संशोधन गर्छौँ , निर्वाचन गराउँछौँ भनेको कुराहरु उनीहरुले गर्न सकेनन्। उनीहरुले गर्न नसकेको काम हामी गर्छौ भनेर हामीले सरकार बनायौँ। सरकारबाट हटेको ह्याङओभर छ नि त । त्यसैले यो हठात् आवेग र आक्रोशको अभिव्यक्ति मात्रै हो।

तपाईँ मधेसी नेताहरुको सम्पर्कमा पक्कै हुनुहुन्छ। यसमा उनीहरुको भनाई के छ त?
उनीहरु संशोधनको पक्षमा छन्। शुरुमा कस्तो लाग्यो भने उनीहरुको धेरै मागहरु छन्। सबै मागहरु अहिले नै पूरा हुने अवस्था छैन।

उनीहरुको सबै मागहरु हेर्ने हो भने त त्यो कहिल्यै पुरा हुँदैन । हैन?
त्यही त। माग उनीहरुको मात्रै हैन। कांग्रेस,एमालेकै नेताहरुको पनि, माओवादी नेताहरुकै मागहरु पनि,अरु नेताहरुको मागहरु पनि धेरै छन्। अहिलेको संरचना, जो हामीले निर्माण गरेका छौ त्यो त सम्झौता हो नि। सबैको सबै माग पूरा हुन सक्दैन। अहिलेको मितिमा कस्तो संरचना निर्माण हुन्छ, कति माग पूरा गर्न सकिन्छ त्यसका लागि संविधान संशोधन गरौँ। संविधान पनि सम्झौताको दस्तावेज हो। संविधानवाद मान्ने विद्वानहरुले नै के भन्छन् भने संविधान भनेको एउटा सम्झौताको दस्तावेज हो। हामीले पढेको यही हो। त्यो त नेताहरुले बुझेकै हुनुपर्छ, बुद्धिजीवीले त बुझेकै हुनुपर्छ। सबै कुरा एकै पटक पूरा हुन सक्दैन।

संविधान गतिशील हुनुको अर्थ के भने आवश्यकता अनुसार संविधानमा संशोधन र परिमार्जन हुँदै जान्छ। फेरि कुरा त त्यही अल्झियो। प्रतिपक्षले संशोधन प्रस्ताव टेबलै गर्न नदिने, त्यसमाथि छलफल नै हुन नदिने।

प्रस्ताव संसदमा प्रवेशै त तपाईँहरुले गराउनु भयो। अब तपाईँहरु र उनीहरुबीच वार्ता हुने कि नहुने?
वार्ता किन नहुने ? वार्ता भइरहेको छ। तर वार्ता परिणामूलक भइरहेको छैन। कुनै कुनै बेला मिले मिलेको जस्तो पनि लाग्छ। हो, प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीबीच लगातार कुरा भइरहेको छ। कहिलेकाहीँ मधेशी मोर्चासित पनि कुरा भइरहेको छ। अहिलेको मुख्य समस्या मधेशी मोर्चा होइन। अहिलेको मुख्य समस्या एमाले नै हो।

संविधान जारी गर्ने बेलामा मधेशी मोर्चा रिङ बाहिर थियो। त्यो बेला उनीहरुलाई हामी के भन्थ्यौँ, तपाईँहरुको संविधानबारे समस्या छ भने नाकामा बसेर संविधान संशोधन हुँदैन, आन्दोलन गरेर, सडकमा बसेर हुँदैन। त्यसैले संविधान बारे केही भन्नु छ भने त्यसको थलो त संसद हो। संसदमा आउनुहोस्। संसदीय प्रकृयामा आफ्नो तयारी गर्नुहोस्। हामी संशोधन गर्न तयार छौँ। मधेशी मोर्चा सडक छोडेर संसदीय प्रकृयामा आउन तयार छ, सरकार समीकरणमा हामीलाई साथ दिएको छ। अहिले रिङभन्दा बाहिर को गयो त, एमाले देखिँदैछ।

जुन काम संविधान जारी गर्ने बेलामा मधेशी गठबन्धनले गर्दै थियो, त्यही काम अहिले एमालेले गर्दैछ।

हिजो मधेश वन्द थियो आज पहाड बन्द छ।
सबै पहाड बन्द छैन। म पर्वत, गुल्मी घुमेर आएँ। पहिलो कुरा आन्दोलनलाई हाम्रा केही नेताहरुको पनि समर्थन छ। केही नेतालाई राजनीति र भोटको लोभ छ। कतिलाई के लागेको छ भने भोलि चुनाव भयो भने, यी कुरा भनिनँ भने भोट पाउँदिन। त्यसैले एमाले, कांग्रेस, माओवादीका केही नेता लागेका छन्। नाम लिन्नँ म। सवै पार्टीका नेताहरुको त्यही हो। विष्णु पौडेल, टोपबहादुर पनि त्यही हो।

जनता भनेको ५ जिल्ला र ५ नम्बरको मात्र होइन नि त। ५ नम्बर क्षेत्रका जनता खिलाफमा छन् भन्ने तर्कसँग म असहमत छु। ५ नम्बरको कुरा गर्ने भए रुपन्देहीदेखि नवलपरासीसम्मका जनता पनि जनता हो नि त। पहाडका केही जिल्लाहरुमा आन्दोलन छ। यो एमाले प्रायोजित आन्दोलन हो।

संशोधनको प्रस्ताव भाषाको बारेमा छ । भाषालाई नेपाली देवनागरी लिपिमा सरकारी काम कामकाजको भाषा हो भनेको छ। त्यसलाई हामीले संशोधन नै गरेको छैनौँ। संविधानको आसय अनुसार नै अर्को सरकारी कामकाजको भाषा पनि हुन सक्नेछ भनिएको छ । तर कसले तयारी गर्ने? भाषा आयोगले सिफारिस गर्ने। भाषा आयोग गठन गर्ने संविधानमा नै छ। त्यो भाषा आयोगले सिफारिस गरेपछि नेपाल सरकारले निर्णय गरेर अर्को सहायक तथा सरकारी कामकाजको भाषा प्रदेशमा वा केन्द्रमा हुन्छ।

अर्को संशोधनमा नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रिय भाषा हुने छन् भन्ने संविधानमा नै छ। धारा ६ मा। अब कुन कुन हो त मातृभाषाहरु भन्नेमा संकलन गरेर सुचि तयार गरेर अनुसूचिमा थपिने छ। यो दुईटा संशोधन प्रस्ताव भाषा सम्वन्धी छन्। भाषा आयोग गठन भइसकेको छ।

दोस्रो कुरा नागरिकताको बारेमा के के ल्याउन लाग्यो भन्ने छ। हामीले केही ल्याएका छैनौँ। अङ्गीकृतले सर्वोच्च पद पाउने सम्बन्धी कुनै संशोधन नै छैन। वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने विषयमा संशोधन हो। त्यो पनि के संशोधन हो भने २०४७ को संविधानमा जुन शव्दावली थियो- नेपाली नागरिकसँग विदेशी महिलाले वैवाहिक सम्वन्ध कायम गरेपछि पहिलेको नागरिकता त्याग्ने कारबाही चलाएपछि नागरिकता पाउने। हो, यही शब्द राखिएको छ। संघीय कानुन बमोजिम पनि लेखिएकै छ। पूर्व नागरिकता त्याग्ने कारबाही चलाएपछि भन्ने शब्द थपिएको हो। त्यो शव्द २०४७ सालमा पहिलेदेखि नै रहेको छ। अहिले पनि छ। नेपालको २०४७ सालको संविधान कसले बनाएको ? विश्वनाथ उपाध्याय त्यस आयोगको अध्यक्ष हुनुहुन्थ्यो, माधव नेपाल सदस्य हुनुहुन्थ्यो, दमननाथ ढुङगाना सदस्य हुनुहुन्थ्यो। कृष्णप्रसाद भट्टराईको पालामा जारी भएको त्यो शब्द राख्नु राष्ट्रघाती काम हो ? उहाँले राष्ट्रघात गर्नुभयो?

सीमाङकन सम्बन्धमा अहिले कै रुपान्तरित संसदको दोस्रो संविधान सभाको स्वरुपमा काम भएको थियो। त्यसमा बाबुराम भट्टराई अध्यक्ष रहेको संवाद समितिमा मागेको धारणा अनुसार सुशील कोइराला, केपी ओली, सुर्यबहादुर थापाले सही गरेर दिएको दस्तावेज छ। अहिले हामीले संशोधन गरेका ५ नम्बर प्रदेशमा रहेका जिल्लाहरु त्यही छ त। नवलपरासीको दाउन्नेदेखिको पश्चिम भाग, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया र बाँकेसम्म। गुल्मी, अर्घाखाँची पहाडका जिल्लाहरु पहाडमा नै राखिएको छ। रोल्पा र प्युठान पनि पहाडी प्रदेशमा नै राखिएको छ। त्यो कसरी राष्ट्रघाती भो?

राष्ट्रिय सभाको गठनमा अहिले निर्वाचन क्षेत्रको निर्धारण नै जनसङ्ख्या र भूगोलको आधारमा गर्ने हामीले संविधानमा लेखिसकेका छौँ। निर्वाचन क्षेत्र निर्धारणको पहिलो आधार जनसङ्ख्या र दोस्रो भुगोल हुने भन्ने छ। हामीले त्यसै आधारमा राष्ट्रिय सभाको गठन मिलाएका छौँ। राष्ट्रिय सभामा प्रदेशको, जनसङ्ख्याको अनुपातमा प्रतिनिधि हुनेछ भनेको छ।

यी चार वटा विषय मात्र संशोधनको विषय हो। कसरी राष्ट्रघाती भो? प्रतिपक्षी दलको नेता भन्नुहुन्छ बुँदा बुँदा राष्ट्रघाति हो। म चुनौति नै दिन्छु, बुँदा बुँदा राष्ट्रघाती हो भने उहाँले पढेर छापेर भन्दिनुपर्‍यो अखबारमा । बुँदा नम्वर १ यो-यो संशोधन राष्ट्रघाति हो भन्ने छापेर संसदमा बाँडे भैहाल्यो नि। उहाँले भनिरहनु भएको कुरा गलत हो। अहिले संशोधन राष्ट्र हितमा छ। कुनै पार्टीले संसदमा संसदीय प्रक्रियालाई अवरोध गर्यो् भने त्यसलाई के भन्ने ? यदि कुनै पार्टीले लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्यो भने के भन्ने? यदि कुनै पार्टीले संवैधानिक प्रक्रियालाई अवरुद्ध गर्यो भने के भन्ने?

एमाले एकसाथ अहिले यो तीन वटै प्रक्रियालाई अवरोध गरिरहेको छ। एकैसाथ यो तीनवटै प्रक्रियालाई अवरोध गर्ने राष्ट्रिय हितको विपरीत हो कि?

तपाईँको कुरा सुन्दा के लाग्छ भने नेपाली कांग्रेस र एमालेबीचमा धेरै ठूलो मतभेद उत्पन्न भइसकेको छ।
तपाईले ठीक भन्नुभयो, यो साँचो कुरा हो। फन्डामेन्टल मतभेद भयो। संसदीय प्रक्रियालाई अवरोध गर्नु फन्डामेन्टल डिफरेन्स त हो नि। त्यतिमात्र होइन, गणतन्त्र र संघीयतामाथि नै उनीहरुको प्रहार छ। चित्रबहादुर केसीले म संघीयताको खिलाफ हुँ भन्नु उहाँको अधिकार हो। तर त्यसको टुंगो लगाउने प्रक्रियामा चित्रबहादुर केसी सामेल हुनुहुन्छ नि त। संघीय प्रणालीलाई नमान्दा नमान्दै पनि संघीय संविधानलाई मान्नु हुन्छ।

त्यसकारण म के भन्छु भने एमालेले यो प्रक्रियालाई अवरोध गर्नुहुँदैन। ५ नम्बर प्रदेशका जनता आन्दोलनमा छ भनेर म भन्दिनँ। ५ नम्वरको जनता भनेको गुल्मी र पाल्पाको मात्र होइन। ५ नम्वरको जनता भनेको रुपन्देही, नवलपरासी, कपिवलवस्तु, बाँके, बर्दिया र दाङ पनि हो नि त। यो एउटा अखबारले पनि, नेताले पनि भाषण गर्दा के भन्दिएको छ भने, ल ५ नम्वरको जनता आन्दोलनमा छ, आन्दोलनमा छ, आन्दोलनमा छ। गुल्मीको मात्र ५ नम्बर हो? अर्घाखाँची मात्र ५ नम्बर हो? पाल्पा मात्र ५ नम्वर हो? ५ नम्वर रुपन्देही होइन ? ५ नम्बर कपिलवस्तु होइन? ५ नम्बर बाँके, बर्दिया होइन?

रोल्पा र पाल्पामा भर्खरै न्युज आएको छ। मगर समुदाय संघले हामी अहिलेकै संशोधनलाई र स्वागत गर्छौँ भनेको छ। त्यो पनि पाल्पाको जनता हो।

एक मिनेट, म भन्छु,कांग्रेस र एमालेको बीचमा खटपट भयो। एमाले र माओवादी बीचको समीकरणलाई तोड्ने तपाईँ नै हो। यसबीचमा संसद बन्द भएको बेलामा पूर्व राजाले पनि व्यक्तव्य दिए चित्रबहादुरको कुरा छाडिदिनुस्। राजाको पनि हैसियत चित्रबहादुरको भन्दा बढी छैन। अहिले यी सबै खेलकुद भइरहेका छन् यसलाई तपाईले कसरी विश्लेषण गर्नुभएको छ गृहमन्त्रीको हैसियतमा?

म गृहमन्त्रीका रुपमा होइन, राजनीतिकका रुपमा विश्लेषण गर्छु। गृहमन्त्रीको हैसियतले मसँग सबै रिपोर्ट छ। अहिले म त्यो भन्न चाहन्न।

अलि अलि त भन्दिनु न?
(हाँस्दै) अलि अलि भन्दा पनि.. मलाई के लागिरहेको छ भने यो अहिले गणतन्त्र र संघीयताको खिलाफमा प्रतिगमनकारीहरु र विध्वंशकारीहरुको कतै न कतै मेल छ। अहिले धेरै ठाउँमा धेरै अखबारहरुमा आइरहेको विषय हो यो। राजा पनि चीनमा गएका छन् रे, भारतमा पनि गएका छन् रे। यहाँ त्यो कुरा उठेको छ। म तपाईँलाई भन्न चाहन्छु। तपाईलाई विशेष रुपमा। किनभने तपाईँ एनालिस्ट पनि हो एउटा राइटर पनि हो।

अस्ति ओली, देउवा र प्रचण्ड बीच छलफल हुँदा त्यो बेलामा भर्खर कुनै अखबारमा निस्केको थियो- पूर्व राजा ज्ञानेन्द्रको भारत भ्रमण, चीन भ्रमण, सिंगापुर भ्रमण… मैले अहिले त्यसको सम्पूर्ण तथ्य संकलन गरिसकेको छैन। सबै कुरा अहिले भन्न पनि मिल्दैन। तर त्यहाँ चर्चा हुँदा ओलीजीले भन्नु भयो, हामी चीनमा जाँदा खेरी राजनीतिक तहको नेतृत्वसँग मात्र भेटघाट हुन्छ। अहिले अखबारमा आको कुरा है यो। अहिले अखबारमा के आएको छ भने पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ सैनिक पदाधिकारीसँग भेटे। सिंगापुरमा पनि भेटे। भारतमा पनि भेटे। त्यो बेलामा शेरबहादुरजीको गोवा भ्रमण चर्चाको विषय थियो। अखबारमा आयो, चाइनिज अधिकारीहरुले खण्डन गरे। अखबारमा आयो चाइनिज अधिकारीहरुले सोधपुछ गरे (तिब्बती नेतासित) भेटघाट भएको हो कि होइन?

चीनको चासो के हो? दलाई लामा त्यहाँको विस्थापित शक्ति हो। चीनको विस्थापित शक्ति दलाई लामासँग कसैले भेट्छ भने चीन सरकारको सरोकार हुनु जायज हो। नेपालको विस्थापित शक्तिसँग चीन र भारतका नेता वा कुनै पनि मुलुकको नेताले भेट्दा नेपाललाई किन सरोकार नहुने? सोध्नुपर्यो भनेर राम्रो कुरा गर्नुभयो केपी ओलीले।


वितन्डाकारीलाई सहयोग हुने गरी एमालेले संसद बन्द त गरेको छ नि?
म त्यही भन्दैछु। यी विषयहरु आइराखेका छन्। यसमा राजाको वक्तव्य आयो। अब पूर्व राजाको वक्तव्यलाई अहिले हामीले त्यति धेरै महत्व दिनुहुन्न भन्ने एउटा पक्ष पनि छ। तर पूर्व राजा ज्ञानेन्द्र अहिले जसरी एकातिर गणतन्त्रको खिलाफमा आउने, अर्कोतिर संघीयताको खिलाफमा आउनु, संसद अवरुद्ध हुनु, संविधान कार्यान्वयन र निर्वाचनको वातावरण बन्न नदिनु। र सँगसँगै विप्लव र सिके राउतको इलिमेन्ट सक्रिय छ।

गृह मन्त्रालयकै रिपोर्ट सोध्नुहुन्छ भने विप्लव र सिके राउतको एक्टिभिटीमाथि हामीले सरकारको तर्फबाट धेरै नजर राखिराखेका छौं। स्वभाविक पनि हो र कता कता उनीहरुसँग पनि भेटघाट भएको भन्ने कुरा सुनिन्छ.. 

राजासँग?
..
कसैकसैले भेटघाट गराइदिएको छ रे भन्ने सुनिन्छ। यो त गम्भीर कुरा हो। त्यसकारण अहिले एमालेका नेताहरुले जेसुकै भनून्, एमाले पार्टीले निरकुंश राजतन्त्र विरुद्ध त लडेकै हो नि त उनीहरुको असन्तोष। एउटा समीकरण काम गरिरहेको थियो। त्यसले देश र जनताको समस्या, समयको माग र चाहना अनुसार एड्रेस गर्न सकेको थिएन।

नयाँ समिकरण बनायो भन्छु म त। अब त्यसकारणले उनीहरुमा आक्रोस होला। आक्रोसको पनि समय हुन्छ। त्यो आक्रोश अब ठण्डा गरे हुन्छ भन्ने मेरो आग्रह छ। अब राष्ट्रिय दायित्व पुरा गर्नको लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र मधेशी मोर्चा म चारवटा पक्ष भन्छु है, लेखहरु पढ्दै गर्छु म हाम्रै पार्टीका नेताहरु बोल्नुहुन्छ। तीन वटा दल मिल्नुपर्यो भन्छन्। म त्यसमा सन्तुष्ट छैन। तीनटा दल मिलेर मात्र हुँदैन। चारवटा पक्ष भन्नुपर्यो अब। सुरु देखि भन्दैछु म। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र मधेशी मोर्चा र गठवन्धनमा रहेको थारु जनजातीको जती पार्टीहरु छन् यी चारवटा फ्याक्टर हो ।

नेपालको राजनीतिक शक्ति, 'पोलिटिकल फोर्स'लाई हामीले आइडेन्टीफाइ गर्ने हो भने वि ह्याभ नाउ फोर पोलिटिकल फोर्सेज वर्किङ इन नेपाल। यसरी विश्लेषण गर्नुपर्छ। हामी जहिलेपनि एउटा फोर्सलाई बिर्सिदिन्छौं। समस्या त्यही हो।


अब एउटा कुरा बताइदिनुस न तपाई । यो चाँही गृहमन्त्री भएर नै बताइदिनुस् । देशको आन्तरिक सुरक्षाको स्थिति कस्तो ? अहिले जति पनि विध्वंशकारी वितन्डाकारी लागेका छन्, राजनीतिक गतिविधि अथवा राजनीतिक गतिविधिको नाममा छद्म गतिविधिहरु भएका छन्। यसले आन्तरिक रुपमा शान्ति व्यवस्थालाई कति खलबल्याउन सक्छ? अहिले अखबारहरुमा कोलाहल मच्चिरहेछ। बाहिरको पनि थ्रेट छ। भारतले आफ्नो अम्ब्रेलाभित्र राखेर शान्ति सेना चलाउन थाल्यो भन्ने चर्चा छ। के हो यो?

यो झुटो कुरा हो। नेपाली सेनाले पनि खण्डन गरिसक्यो। आन्तरिक सुरक्षाको चुनौती चाहीँ छ। आन्तरिक सुरक्षाको चुनौति के छ भने फेरि समानान्तर सत्ता निर्माण गर्ने , केन्द्रीय सत्ता कब्जा गर्ने, समानान्तर सत्ता निर्माण गर्दै त्यसको लागि संघर्ष गर्ने। त्यसको लागि सैन्य बलको निर्माण गर्ने भन्ने योजना र कार्यक्रम लिएर नेपालको पहिले माओवादी संघर्षमा रहेका र अहिले पृथक भएकाहरु नै अहिले भूमिगत अर्धभूमिगत एक्टिभिटीहरु गरिरहेका छन्। हामी छुट्टै मधेश लिन सक्छौं भन्ने एक्टिभिटीहरु भइरहेको छ। हो, यी नै हुन आन्तरिक सुरक्षाको चुनौतिहरु। र, आन्तरिक सुरक्षाको चुनौतिहरुलाई सरकारले बडो गम्भिरतापूर्वक निगरानी गरिरहेको छ।

यो चुनौति पहाडमा बढी छ कि मधेसमा बढी छ ?
यो पहाडी क्षेत्रमै बढी छ ।

सुरक्षाको समस्या ?
हो, सुरक्षाको समस्या पहाडमा छ। मधेसमा पनि छ, अन्यत्र पनि छ। तर बढी पहाडी क्षेत्रमा छ। पहिले प्रचण्डजीहरुले गर्नु भएको, बाबुरामजीहरुले गर्नुभएको छ नि....

हिंसाको लिगेसी......
हो हिंसाको लिगेसी। आधार इलाका निर्माण पहाडमा हो नि पहिला भएको त। मधेस भूभाग कहिले पनि आन्तरिक सुरक्षाको अथवा विखन्डनको आधारभूमि भएन। उसले जहिले पनि देशको सुरक्षा गरेको छ।

दक्षिणी सीमाको सुरक्षा ?
जहिले पनि गरेको छ र गरिरहन्छ पनि । जति पनि गतिविधि भएको छ अवाञ्छित, अराजक, हिंसात्मक संगठित गतिविधिहरु त्यसको तथ्यांक हेरेर विश्लेषण गर्नुस् न। तपाईँ जिल्ला जिल्ला घुमेर विश्लेषण गर्नुहुन्छ। यो मैले भन्दा बढी तपाईँले भन्न सक्नुहुन्छ। मैले नभनेकै राम्रो हुन्छ।

प्रधानमन्त्री नाचीनाची हिँडिरहनुभएको छ। कहिले कहाँ पुग्नुहुन्छ कहिले कहाँ पुग्नुहुन्छ। सभामुख कतै जान पाउनु भएको छैन। यस्तो अवस्थामा कसरी समीकरण मिलाएर समस्याको समाधान निकाल्नुहुन्छ?
प्रधानमन्त्री नाच्दै हुनुहुन्छ भन्नु अन्याय हुन्छ। जसरी एमालेले राष्ट्रघाती काम भयो भनेर देशव्यापी रुपमा कुप्रचार गरिरहेको छ, भ्रम फैलाइरहेको छ, त्यो भ्रम त चिर्नुपर्यो नि प्रधानमन्त्रीले।

नाच्दै हुनुहुन्छ भन्ने शब्द मैले झलनाथ खनालबाट सापटी लिएको।
बुझेँ। त्यो सापटी त लिनसक्नुहुन्छ। तर त्यस्तो औचित्यहिन र अनावश्यक शब्द किन सापटी लिनुहुन्छ? अलि राम्रो शब्द सापटी लिनुस् न। तपाईसँग आफ्नै राम्रा शब्दावली छ।

प्रतिपक्षले त्यसो भनेपछि.....
प्रतिपक्षले त जे पनि भन्छ। कुरा के छ भने संशोधनको प्रस्ताव दर्ता गराएको छ सरकारले। प्रचण्ड सरकारको प्रधानमन्त्री हुनुहुन्छ। त्यो सरकारको एउटा सदस्य म छु । सरकारको प्रधानमन्त्री र मन्त्रीहरुले त देशका जनताको बीचमा गएर हामीले दर्ता गरेको संशोधन प्रस्तावको औचित्य यो हो है भनेर प्रष्ट पार्नु त हाम्रो कर्तव्य हो नि। जनताप्रति जवाफदेही हुनु हो। तथ्य के हो, कसले वितण्डा मच्याइरहेको छ, कसले अवरुद्ध गरिरहेको छ, कसले संकट सृजना गरिरहेको छ भनेर भन्न जानु र संशोधन प्रस्तावको विषयवस्तु के हो भनेर बुझाउन जानु हाम्रो कर्तव्य हो । प्रधानमन्त्री र सरकारको मन्त्रीहरुले त्यही काम गरिरहेको हो।

संसद कहिलेदेखि खुल्ला त अब ?
बेलाबखत कुराकानी हुँदा छिटो खुल्छ जस्तो लाग्छ । तर एउटा कुरा के छ भने हामी अहिले पनि चाहन्छौं एमाले जिम्मेवारी पार्टी बनोस्। एमालेका नेताहरुसँग कुरा हुँदा छिटो समस्या समाधान होस् भन्ने गरेका छौं । संशोधन प्रस्ताव फिर्ता हुँदैन।

त्यो चैँ प्रष्टै छ ?
प्रष्ट छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell